काठमाडौं। मैतिदेवी बस्ने पुनम राई बिहीबार साँझ भान्साको आवश्यक सामान किन्न नजिकैको किराना पुगिन्। सबै सामान किनिसकेपछि दुईवटा अण्डा पनि किनिन्। पसलेले पुनमसँग दुईवटा अण्डाको ४० रुपैयाँ लिए। उनलाई अचम्म लाग्यो र पसलेलाई सोधिन, ‘१५ रुपैयाँ गोटाले होइन र अण्डा ?’
‘अहिले सबै सामानको जस्तो अण्डाको मूल्य पनि बढेर आको छ। हामीले महँगोमा नै झारेको हो‚’ पसलेले पुनमलाई भने।
‘एक क्रेट अण्डा ५५० पर्दो रहेछ। हामी दिनकै गोटाका हिसाबले बच्चाका लागि अण्डा किन्छौं। अहिले त सबै सामानको मूल्य बढेको छ। अण्डाको पनि बढेछ‚’ पुनमले भनिन्।
अहिले पुनम मात्र होइन उनीजस्ता धेरै उपभोक्ताको हालत उस्तै छ। बजारमा अण्डा वितरक डिलरहरु बिचौलियाको प्रमुख भूमिका निभाइरहेका छन्। बिचौलियाबाट खरिदमा महँगो परेपछि सामान्य मार्जिन राखेर उपभोक्तालाई अण्डा बिक्री गरिरहेको किराना पसलेहरुको दाबी हुने गरेको छ।
थापाथलीका किराना पसले कमल कार्कीले एक महिनाअघि १५ रुपैयाँ गोटाले बेचेको मिडियम साइजको अण्डा अहिले प्रति गोटाका २० रुपैयाँमा बेचिरहेका छन्। यसअनुसार पछिल्लो एक महिनामा अण्डाको मूल्य प्रति गोटा ३३.३३ प्रतिशतले बढेको हो।
एक क्रेटमा ३० वटा अण्डा हुन्छ। तसर्थ २० रुपैयाँका दरले बिक्री गर्दा प्रति क्रेटको ६०० रुपैयाँ पर्न जान्छ। तर उनले क्रेटका हिसाबले भने ५५० रुपैयाँमा बिक्री गरिरहेका छन्।
‘करिब एक डेढ महिनाअघि यहि अण्डा नै १५ रुपेयाँमा बेचेका हौं। अहिले हामीले यो अण्डा नै डिलरबाट प्रति पेटी (एक पेटीमा ७ क्रेट अण्डा हुन्छ) ३ हजार ६०० रुपैयाँमा किन्नु पर्छ। हामीलाई नै प्रतिक्रेटको ५१५ रुपैयाँ पर्छ। महँगो भएर आएरै महँगोमा बेचिएको हो‚’ उनले भने।
त्यस्तै, थापाथलीकै अर्का एक व्यापारी शिवप्रसाद रिमालले प्रतिक्रेट ४७० रुपैयाँमा मिडियम साइजको अण्डा बिक्री गरिरहेका छन्। यसरी व्यापारीअनुसार अण्डाको मूल्य फरक-फरक रहेको पाइएको छ।
सरकारले अनुगमन नगर्दा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन्।
‘हामीले फार्म मूल्य र बजार मूल्य तोकिदिएका छौं। बिचौलियाले बढी मूल्य लिइरहेका छन्। सरकारले यस्ता कुरालाई वास्तै गर्दैन। जसले जति मार्जिन राखे पनि हुने भएकाले उपभोक्तासम्म अण्डा पुग्दा महँगो भएको हो‚’ उनले भने।
पछिल्लो केही महिनायता अण्डाको मूल्य औपचािरक रुपमा नबढेको उनको भनाइ छ।

संघले तोकेको मूल्य कस्तो छ ?
नेपाल अण्डा उत्पादक संघले बेला बेलामा अण्डाको फार्म मूल्य र बिक्री मूल्य निर्धारण गर्दै आएको छ। संघले पछिल्लो साढे २ महिनायता अण्डको मूल्यमा कुनै हेरफेर नगरेको देखिएको छ।
संघको तथ्यांकअनुसार गत असार १४ गते अण्डाको मूल्य बढाएको थियो। त्यसपछि गत भदौ २ गते बसेको संघको केन्द्रीय समितिको बैठले पुन: असारकै मूल्यलाई निरन्तरता दिएको हो।
त्यसयता भने संघको केन्द्रीय समितिको बैठकले कुनै पनि नयाँ मूल्य तोकेको छैन।
‘अहिले केही समययता संघले अण्डाको मूल्य बढेको छैन। अनुगमन कसैले नगर्दा डिलर र व्यापारीहरुले मनोमानी गरेर मूल्य बढाएको हो‚’ संघका अध्यक्ष केसीले भने।

उत्पादन घट्यो
संघका अध्यक्ष केसी अहिले नेपालमा अण्डा उत्पादन नै घटेको बताउँछन्। बिजमाण्डूसँग कुरा गर्दै उनले अहिले बजार माग स्वदेशी उत्पादनले नै माग पुरा गर्न सक्ने भए पनि पहिलाको तुलनामा अण्डा उत्पादन निकै घटेको बताए।
‘व्यावसायिक हिसाबले पहिला दैनिक ४५ लाखसम्म अण्डा उत्पादन हुन्थ्यो। अहिले त्यसको परिमाण घटेको छ। अहिले दैनिक अहिले ३१-३२ लाख मात्र अण्डा उत्पादन हुन्छ। ३० प्रतिशत व्यवसायीहरु पलायन हुँदा उत्पादन घटेको हो‚’ अध्यक्ष केसीले भने।
उनका अनुसार यस व्यवसायमा करिब ४ हजार किसान आबद्ध छन् भने पोल्ट्री क्षेत्रमा करिब डेढ खर्ब लगानी भएको छ।
चितवनमा सबैभन्दा धेरै अण्डा उत्पादन हुने गरेको छ। त्यसका साथै झापा, दाङ तथा काभ्रे, सर्लाही, महोत्तरी, हेटौँडा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा पनि अण्डाको व्यावसायिक उत्पादन गरिन्छ।











