
काठमाडौं । बाणिज्य बैंकको सम्भावित पुँजी वृद्धि योजनाप्रति स्ट्याण्डर्ड चार्टड बैंकले असहमति जनाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी पाँच अर्ब पुर्याउन लगाउने योजना अहिले चर्चामा छ । योजना लागू भए नेपाल छाड्ने चेतावनी समेत चार्टड बैंकले दिएको छ । दुई अर्ब रुपैयाँ पुँजी पुर्याएका बैंकहरुलाई तत्कालै पुँजी वढाउन अर्को सीमा तोकिए यसलाई पालना गर्न नसकिने स्ट्याण्डर्ड चार्टड बैंक नेपाल प्रमुख जोसेफ सिल्भानुसले गभर्नर डा. युवराज खतिवडालाई बताएका छन् । सिल्भानुसले गभर्नर खतिवडासँग दुई साता अघि भेट गरेका थिए ।
उनले अहिलेको अवस्थामा पुँजी वृद्धि गर्न नसकिने भन्दै बैंकका लागि नेपाल सानो बजार भएको बताएका थिए, गभर्नरसँगको छलफल उनले नेपाल बैंकर्स संघको बैठकमा सहकर्मीलाई सुनाएका थिए । स्ट्यान्डर्ड चार्टर्डले नेपालको मौद्रिक नीति निर्माणमा प्रभावकारी भूमिका खेल्दै आएको छ । वैदेशिक व्यापार कारोबारमा स्ट्यान्डर्ड चार्टर्डको निकै ठूलो हिस्सा छ । नेपाली बैंकहरुलाई वैदेशिक व्यापारमा जमानत दिने स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी रुपमा सञ्जाल छ । राष्ट्र बैंकको नीति निर्देशनभन्दा पनि कडा नियममा वाँधिएर कारोबार गर्दै आएको स्ट्यान्डर्ड कार्य सम्पादन र वित्तीय रुपमा एक नंम्बर बैंक हो । कम जोखिम लिएर वढी नाफा आर्जन गर्ने बैंकका रुपमा स्ट्यान्डर्ड चार्टर्डले नेपालमा छवी बनाएको छ ।