
काठमाडौं । अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ। एमसीसी परियोजना आजबाट कार्यान्वयनमा जाँदै गर्दा पार्टीले विरोध जनाएको हो।
अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट संचालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स-ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेका हुन्।
सिंहदरबारमा सरकार र एमसीसीबीच विधिवत् रुपमा सम्झौता कार्यान्वयन हुने सहमति पत्र आदानप्रदान भइरहँदा माइतीघरमा नेकपाले भने विरोध प्रदर्शन गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त रुपमा एमसीसी खारेज हुनुपर्ने भन्दै प्रदर्शन गरेको हो।

राजधानीमा भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुको उपस्थिति थियो। बानेश्वर पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो।

नेकपा महासचिव विप्लवले एमसीसीलाई साम्राज्यवादी परियोजना भन्दै त्यसको कार्यान्वयनको विरोधमा प्रदर्शन गरिएको बताए।





