फोन गरेर पुटिनले मोदीलाई भने : जी २० सम्मलेनका लागि भारत आउँदिन

बिजमाण्डू
२०८० भदौ १२ गते १६:३३ | Aug 29, 2023
फोन गरेर पुटिनले मोदीलाई भने : जी २० सम्मलेनका लागि भारत आउँदिन
Photo : Reuters

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन जी २० सम्मेलनमा सहभागी हुन भारत नआउने भएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर पुटिनले आफू अनुपस्थित हुने जानकारी दिएका हुन्।

Tata
GBIME

भारतको राजधानी दिल्लीमा यही सेप्टेम्बर ९ र १० मा जी २० सम्मेलन हुँदैछ। सो सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्र जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत धनी राष्ट्रका सरकार प्रमुखहरु भेला हुँदैछन्। हाल जी २० को अध्यक्षता भारतले गर्दैछ।

युक्रेनसँग युद्धमा रहेका रसियाका राष्ट्रपति पुटिन भने जी २० बैठकमा आउनेछैनन्। उनको स्थानमा विदेशमन्त्री सर्जी लाभरोभ सहभागी हुने छन्। यही महिना दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलनमा पनि पुटिन सहभागी भएका थिएनन्। पुटिनले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए। उनको स्थानमा लाभरोभ दक्षिण अफ्रिका पुगेका थिए।

फोन वार्ताका क्रममा मोदी र पुटिनबीच क्षेत्रिय र विश्वका विभिन्न मुद्दाहरुमा छलफल भएको जनाइएको छ। जी २० सम्मेलनमा युक्रेन र रसिया युद्धको चर्चा हुने बताइएको छ।