
—
हामीले १९९४ मा उद्योग सुरु गर्दा स्टिलको टन ओभर २० करोड थियो, आज त्यही स्टिलको टन ओभर करिब २५ सय करोड हाराहारीमा छ । स्टिलको दर पनि १६ रुपैयाँबाट ८० रुपैयाँ पुग्यो । यसले पनि भोल्युम बढायो । त्यस्तै सुरुमा हामी बर्षको आठ हजार टन बेच्थ्यौ अहिले पाँचदेखि छ लाख टन बेचिरहेका छौं
—
आज पनि नुडल्समा हाम्रो १५ देखि १७ प्रतिसत बजार हिस्सा छ । मास मार्केटिङमा मात्रै हाम्रो फोकस नदेखिएको हो । तपाईहरुले वाइवाइको पनि विज्ञापन देख्नु भएको छ त? इनटर्मस् अफ मार्केटिङ, ओभरअल इन्डिष्ट्रि नै स्लो भएको हो, । मायोजको खै विज्ञापन ? पहिला कति धेरै आउँथ्यो । मियोको पनि छैन, हाम्रो नानो पनि छैन । तर, आन्तरिक रुपमा बृद्धि छ
—
शंकर समूहमा झण्डै दुई दर्जन उद्योग तथा व्यापारिक फर्म छन्, यो समूहले सिमेन्ट, छडदेखि चाउचाउ उद्योगसम्म स्थापना गरेको छ । अटो, इलेक्ट्रोनिक सामानदेखि मदिरासम्म आयात गरेर विक्रि गर्छ । समूहले हस्पिटालिटी उद्योगमा समेत पाइला टेक्दैछ, यो सबैलाई नेतृत्व गरिरहेका प्रवन्ध निर्देशकका रुपमा युवा उद्यमी शाहिल अग्रवालले । बिजमाण्डूका सम्पादक सरोज काफ्ले र विज्ञान अधिकारीले अग्रवाललाई सोधे, तपाईहरुको समूहले उद्योग सुरु गरेको पाँच दसकमा करिब करिब नथिङबाट वार्षिक ६० अर्बको कारोबार गर्नुहुन्छ, १० हजार भन्दा बढीलाई रोजगारी दिनुभयो, नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठूलो विद्युत खपतकर्ता हुनुभयो, आखिर यस्तो तिव्र वृद्धिको उर्जा कसरी प्राप्त गर्नुहुन्छ ?
विगत एक दसकलाई हेर्दा नेपालमा तपाईहरुको समूह ‘फास्टेस्ट ग्रोइङ’मा पर्छ । यस्तो तीब्र रफ्तारमा प्रगति गर्ने र मेन्टेन गर्ने इनर्जी कहाँबाट प्राप्त भयो ?
यसमा इनर्जी भन्दा पनि नियमित सफलता पाइयो भने मात्रै ‘ग्रोथ’ गर्ने हो । जुनबेला देखि हामी औद्योगिक क्षेत्रमा सहभागि भयौ त्यसबेला देखि यो क्षेत्रमा ग्रोथ राम्रो भयो । हामी निर्माणजन्य उद्योगमा सहभागि भयौं, स्टिल, सिमेन्ट जस्ता निर्माण क्षेत्रका कच्चा पदार्थ उत्पादन थाल्यो । यी उत्पादनको मागमा बृद्धि पनि भयो, समग्रमा हामीले यी वस्तुको माग निरन्तर बढीरहेको देख्यौं । यो क्षेत्रमा लगानी गर्दौ गयौ र माग पनि बढ्दै गयो । हामीले यसैबाट प्रेरणा पाएका हौं ।
यसलाई यसरी बुझौ, अहिले उद्योगी व्यवसायीहरु सिमेन्ट, रड उद्योग स्थापना गर्दैछन् । तपाईहरुले १० वर्ष अघि नै अहिलेको माग देखिसक्नु भएको थियो र त्यही बेला यस्ता उद्योग स्थापना गरिसक्नु भएको थियो । मुलुकमा द्वन्द्व सकिदै छ र निर्माण क्षेत्रका उद्योग फष्टाउँछन् भन्ने अनुमान तपाईहरुले त्यतिबेलै गर्नुभएको थियो ?
त्यस्तो होइन, हामीले त्यति धेरै सोचेर यस्ता उद्योग स्थापना गरेका होइनौं । बजार यति धेरै बढ्छ भन्ने हामीले सोचेका थिएनौं । तर, हामीले बजारमा केही ग्याप चाही देखेका थियौं । स्टिल उद्योग स्थापना गर्ने समयमा धेरै अध्ययन अनुसन्धान गरेका थिएनौं । हामीसँग यो उद्योगका विषयमा ठूलो ज्ञान पनि थिएन । त्यसबेला हाम्रा केही मित्रहरुले भारतमा राम्रोसँग स्टिल उद्योग चलाएका थिए ।
नेपालमा पनि केही उद्योग राम्रोसँग चलेका थिए । त्यसैले यो उद्योग चल्छ भन्ने अनुमानका आधारमा सानो उद्योग स्थापना गर्यौं । पहिलो उद्योगमा धेरै लगानी पनि गरेका थिएनौं । सन् १९९४मा पहिलो उद्योग खोल्यौं, निरन्तर ६ वर्ष त हामीले घाटा खायौं ।
सिमेन्ट उद्योग स्थापना गर्दा चाँही माग र आपुर्तिबीच केही ग्याप देखेका थियौं । माग धेरै र आपुर्ति कम भएको कारण यो उद्योग चल्छ भन्ने अनुमान थियो । तर यही हिसावले हरेक वर्ष बृद्धि हुन्छ भन्ने सोचेका थिएनौं ।
सिमेन्टका यति धेरै उद्योगहरु स्थापना भइरहेका छन्, अर्बैको लगानी आइरहेको छ, अन्तर्राट्रिय कम्पनीहरु रिलायन्स, डंगोटे पनि सिमेन्ट उद्योग सञ्चालन गर्न खोजिरहेका छन् । स्वदेशी हरेक घरानाहरु सिमेन्ट उद्योगतिर लागेका छन् । बजार सानो थियो र अब बढ्छ भन्ने हो ? यो लगानीलाई हाम्रो बजारले थेग्न सक्छ ?
पहिले र अहिलेका सिमेन्ट उद्योगमा केही फरक छ । पहिला धेरैजसो ‘ग्राइण्डिङ’ युनिट हुन् । आज भन्दा १० वर्षजति अगाडि ७० प्रतिसत सिमेन्ट आयातमा निर्भर थियो । राज्यको नीतिमा पनि धेरै कुरा भर पर्छ । त्यसबेला भारतबाट आयात हुने सिमेन्टमा भन्सार पनि कम थियो । विस्तारै नेपालको नीतिमा परिवर्तन भयो, सरकारले भन्सार पनि बढाउँदै गयो । त्यसपछि नेपालमा ग्राइण्डिङ युनिट पनि बढ्दै गए, हरेक वर्ष दुई चारवटा थपिन थाले । त्यसले भारतबाट हुने आयातलाई विस्थापित गर्दै गयो ।
नेपालमा प्रत्येक वर्ष सिमेन्ट र स्टिलमा औसत १० प्रतिसतले माग बढ्दै गएको थियो । यसलाई पनि हेरेर ग्राइण्डिङ युनिट बढे । पछिल्ला चार पाँच वर्षमा जुन क्लिङ्कर उद्योगहरु आइरहेका छन्, यी पहिले आएका युनिटका ‘व्याकवार्ड इन्ट्रिगेसन’ जस्तै भएका छन् । पहिले जुन युनिट आएका थिए, त्यसका लागि कच्चा पदार्थ त भारतबाटै आयात गरिरहेका थियौं । सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्टले आफै क्लिङ्कर उत्पादन गर्थे भने, पछिल्लो अवधिमा मारुति, अर्घाखाँची जस्ता उद्योगले गर्न थाले ।
अहिलेसम्म चार पाँच वटा मात्रै ठूला क्लिङकर उद्योग छन्, केही पाइपलाइनमा छन् । मैले भन्न खोजेको के हो भने यहाँ ठूला ४०/५० वटा उद्योग आउन लागेका होइनन्, ८/१० वटा उद्योग खुल्न लागेका हुन् । ती पनि यति धेरै ठूला छैनन कि दैनिक ५०औं हजार टन उत्पादन गर्न सकुन, जस्तो भारतमा छन् । यहाँ त १२ सय, दुई हजार टन प्रतिदिन न हो । फेरि हाम्रो भौगोलिक वनावट पनि यस्तो छ कि पश्चिममा स्थापना भएको उद्योगले पुर्वमा बेच्दा भाडाकै कारण पोसाउँन सक्दैन ।
पुर्वमा स्थापना भएको उद्योगले पुर्वमै र अलिअलि काठमाडौंसम्म आएको छ भने सुदूरपश्चिममा बसेको उद्योगले त्यही क्षेत्रमात्रै धानेको छ । बीचमा सिवम् सिमेन्ट छ, उसले यही बीचको भाग मात्रै ओगटेको छ । यसले बजार विभाजित छ भन्ने देखाउँछ ।
बजारमा पक्का पनि खाली ठाउँ भएर नै सिमेन्ट उद्योगहरु आएका हुन् । भारतबाट आएको सिमेन्ट तथा क्लिङकरलाई विस्थापित गरेर यहाँ सिमेन्ट र क्लिङकर उद्योग आएका हुन् । अहिले चाँही माग र आपुर्ति करिब बराबर जस्तैमा आइपुगेको छ । क्लिङकर र सिमेन्टमा हामी ९५ प्रतिसत भन्दा बढी आत्मनिर्भर भइसकेका छौं । भोलिका दिनमा चाँही यहि हिसावमा नयाँ उद्योग आउने संभावना छैन । जुन २/४ वटाको कुरा भइरहेको छ, उनीहरु आउने बेलासम्म हाम्रो आन्तरिक माग पनि केही बढीसकेको हुन्छ । दुई तीन वर्षमा एउटा उद्योगका लागि ठाउँ बनिसकेको हुन्छ । पुरानाले पनि केही विस्तार त गरिरहेकै हुन्छन् ।
तपाईहरुको समूहले उद्योग सुरु गरेको पाँच दसमा करिब करिब नथिङबाट वार्षिक ६० अर्बको कारोबार गर्नुहुन्छ, १० हजार भन्दा बढीलाई रोजगारी दिनुभयो, नेपाल विद्युत प्राधिकरणको सबैभन्दा ठूलो विद्युत खपतकर्ता हुनुभयो, कसरी संभव भयो ?
हाम्रो ठूलो बृद्धि पछिल्लो २० वर्षमै भएको हो, त्यस अघि हामी व्यापारमा केन्द्रित थियौं । उद्योगमा आइसकेपछि हामी ‘कोर कमोडिटिज’मा छौं, स्टिल, सिमेन्ट जस्ता वस्तुमा छौं । स्टिल भनेको संसारभर ‘हाई टनओभर’ भएको वस्तुमा पर्छ, सिमेन्ट पनि त्यस्तै हो । प्लाष्टिक, टेक्सटाइल यी सबै ‘हाइ टनओभर’ उद्योगमा हामी छौं । यसले गर्दा पनि ‘भोल्युम’ ठूलो भयो । हामीले १९९४ मा उद्योग सुरु गर्दा स्टिलको टन ओभर २०करोड थियो, आज त्यही स्टिलको टन ओभर करिब २५ सय करोड हाराहारीमा छ । स्टिलको दर पनि १६ रुपैयाँबाट ८० रुपैयाँ पुग्यो । यसले पनि भोल्युम बढायो । त्यस्तै सुरुमा हामी बर्षको आठ हजार टन बेच्थ्यौ भने अहिले पाँच देखि छ लाख टन बेचिरहेका छौं । यसले गर्दा पनि टन ओभर स्वाभाविक बढ्दै गयो । हामीले उद्योग मेन्टेन गर्यौं, बैंकिङ, व्यवस्थापनलाई मेन्टेन गर्यौं । यही कारण यो बृद्धि हाँसिल गरेका छौं ।
तपाईहरुलाई पारदर्शितामा पनि त दवाव पर्दै गयो, कारोवार देखाउनु पर्यो, यसले पनि त सहयोग पुग्यो होला ?
मैले भने नि, मुख्य बृद्धि त पछिल्लो १५, २० वर्षमा हो । नेपालमा पारदर्शिता, एकाउन्टिङको कुरा बढेको पनि यही पछिल्लो अवधिमा हो । त्यो भन्दा अगाडि खाता राख्ने चलन पनि धेरै थिएन, भ्याट पनि लागु भएको थिएन् । त्यसबेलासम्म व्यापार पनि सानो थियो, पैसाको भ्यालु धेरै थियो । जुनबेला हाम्रो उद्योग व्यापार विस्तार हुदैगयो, त्यहीबेला सरकारले नयाँ नियम कानुन बनायो, भ्याट लागु भयो, पारदर्शिताको कुरा उठ्यो । संगठित क्षेत्रले स्वभाविक रुपमा पारदर्शि हुने मौका पायो, सुधार पनि देखियो । यसले सहयोग नै पुग्यो ।
तपाईहरुले सुरुमा व्यापार गर्नुभयो, त्यसपछि उद्योगमा निकै ठूलो स्केलमा जानु भयो, अहिले फेरि व्यापारमै फर्किन लागेको जस्तो देखिदैछ , व्यापारका धेरै क्षेत्रमा हात हाल्नु भएको छ ?
त्यस्तो डाइभर्सिफिकेसन अहिले छैन । केही वर्षअघि त्यस्तो देखिएको थियो । चार पाँच वर्ष नेपालमा उद्योगहरुको अवस्था निकै खस्कियो । द्वन्द्व, विद्युत र श्रम समस्याले उद्योगहरु चल्नै नसक्ने जस्तो अवस्थामा पुगेका थिए । उद्योग चलाउनु भनेको ‘पेनफुल जब’ जस्तो भइसकेको थियो । त्यसबेला नेपाल व्यापार केन्द्रित मुलुक हो भनेर हामीले केही नयाँ प्रोडक्ट ल्याएका हौं, व्यापारमा केही विस्तार पनि गर्यौं । त्यसको मतलव यो होइन कि हामीले उद्योग छाडेर व्यापारमा गएको ।
आज पनि हाम्रो ९० देखि ९५ प्रतिसत रेभिन्यु उद्योगबाटै आउँछ, ट्रेडिङबाट आउने ५/१० प्रतिसत मात्रै हो । त्यसैले यो सिफ्ट होइन, डाइभर्सिफिकेसन चाँही हो । किनभने जहाँ अवसर देखिन्छ, त्यही व्यापार गर्ने हो, चाहे त्यो अटोमोवाइल, चाहे अल्कोहल वा विद्युतीय सामान नै किन नहोस । जहाँ अवसर छ, त्यो किन ट्याप नगर्ने । मोवाइल फोन नेपालमा बनाएर कामै छैन, गाडी यहाँ बनाएर पनि मतलव छैन, तर यसको व्यापार राम्रो छ भने हामीले किन हात नहाल्ने ?
तपाईहरु उद्योगमा यति धेरै केन्द्रित हुनुहन्थ्यो, फेरि व्यापारमा पनि दायरा फराकिलो बनाउन लाग्नु भयो, यसले कतै नकारात्मक असर त पार्दैन, नेपालमै बनाउन सकिने सामान पनि भारत वा चीनबाट आयात गरे भइहाल्यो नि भन्ने पनि लाग्ला ?
आधारभुत वस्तुहरु जस्तै, सिमेन्ट, स्टिल, खाद्यान्न, चाउचाउ जस्ता वस्तु यही उत्पादन गर्न सकिन्छ । यस्ता उत्पादनका लागि श्रम, पूँजी र प्रविधि यही छ, यी उत्पादनमा छिटो छिटो प्रविधि परिवर्तन गर्नुपर्दैन । तर मोवाइल त नेपालमा बनाएर मतलव छैन, किनभने चीनमा हरेक दिन जस्तो प्रविधि परिवर्तन भइरहेको छ, त्यत्रो ठूलो भोलुममा उत्पादन हुन्छ हामी यहाँ बनाएर प्रतिस्पर्धा नै गर्न सक्दैनौं ।
अटोमोवाइलमा पनि त्यस्तै हो, हाम्रो बजारको आकार नै सानो छ, हाम्रो त आठ, १० हजारको बजार हो । वाहिर एउटा उद्योगले चार, पाँच लाख युनिट बनाउँछन् । त्यही भएर यस्ता उद्योग स्थापना गरेर त काम भएन नि । त्यसैले व्यापारमा हात हालेर हाम्रो ध्यान अर्कोतिर केन्द्रित हुने चाँही होइन, पहिले नै बनेको हजारौं करोडको बजारमा केही हिस्सा हामीले पनि लिन पाएहुन्थ्यो भनेर प्रवेश गरेका हौं ।
विविधीकरण पनि यति धेरै देखियो कि तपाईहरु अटोमोवाइलमा लाग्नु भयो, लिकर्समा, विद्युतीय सामग्री पनि विक्री गरिरहनु भएको छ, शंकर ग्रुपले हात नहालेको ठाउँ नै छैन जस्तो देखिँदै छ ?
व्यापारमा एक स्तरको फोकस चाही जरुरी छ । हाम्रो ग्रुपको टिम अलि ठूलो छ, त्ययसैले केही डाइभर्सिफाइ पनि गरेको हो । यसको मतवल यो होइन कि हरेक क्षेत्रमा छिर्न चाहन्छौं । निश्चित क्षेत्र समातेर त्यसैमा फोकस गर्छौ । अहिले हेर्दा हामीले ५०औं सामानको व्यापार गरिरहेको देखिएला तर फोकस चाँही सात आठ वटामा मात्रै छ । त्यो फोकस हामी मेन्टेन गछौं । अहिले नै हामी केहीमा लिडिङ पोजिसनमा छौं र केहीमा हामी अब लिडिङमा पुग्न सक्छौं ।
आगामी दिनमा हामीले केन्द्रित हुने भनेको पहिलो निर्माणकै क्षेत्रमा हो । यो भनेको स्टिल, सिमेन्ट, यी सँग सम्बन्धित पूर्वाधार आयोजना होला, जलविद्युत होला । यो पुरा एउटा क्षेत्र हो । यसलाई विभाजन गरेर हेर्यो भने चार वटा देखिएला । दोस्रोमा फाष्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) मा हो । यसमा नुडल्स उत्पादन गरिरहेकै छौं । फ्लोर मिल पनि सञ्चालनमा आउँदैछ । चिजवल, वेपर्स, स्न्याक्स पनि उत्पादन गर्दैछौं । यसैसँग जोडर हाम्रो ट्रेडिङ कम्पनीले नेपालमा बनाउन नसकिने लिकर्स, टोवाको जस्ता वस्तुको व्यापारमा फोकस गरिरहेको छ । हाम्रालागि यो एउटै कोर सेक्टर भयो ।
तेस्रो, अटोमोवाइल र विद्युतीय सामग्रीमा पनि हाम्रो इन्ट्रेस्ट छ । अटोमोवाइलमा हामी अहिलेसम्म त्यति सफल भएका छैनौं तर जुन हिसावमा हामी काम गरिरहेका छौं त्यसले सफलता दिलाउँछ जस्तो लाग्छ । अर्को हस्पिटालिटी हो । यसलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । नेपालका अर्थतन्त्र पर्यटनमा आधारित हुन्छ भन्ने हामीलाई लाग्छ । त्यही भएर हस्पिटालिटी पनि हामीले लगानी गरिरहेका छौं ।
विगतमा हामीले निर्यातजन्य उद्योगमा लगानी गर्यौं, नेपालबाट निर्यात हुने याक्रेलिक यार्नको सबै भन्दा ठूलो उद्योग हामीले स्थापना गर्यो । यो एशियाकै ठूलो उद्योग हो, ९५ प्रतिसत निर्यातजन्य उद्योग हो । तर यसलाई नेपालको नीतिले नै सहयोग गरिरहेको छैन । यहाँ न विजुली छ, न दक्ष कामदार छन्, न कच्चा पदार्थ छ । भारतबाट कच्चा पदार्थ झिकाएर यार्न उत्पादन गरिरहेका छौं । त्यसैले अहिले यो उद्योगलाई कोर क्षेत्रमा राखेका छैनौं । यसको मतलव त्यो उद्योगलाई छाडेका पनि छैनौं ।
भर्खरै बर्काडीको उत्पादन नेपालमा डिस्ट्रिव्युसन गर्न दुई/तीन वटा समूह मिलेर काम गर्दै हुनुहुन्छ, स्प्रिटमा यहाँ लगानी गर्न सकिन्छ, ठूलो स्केलमा जान सकिन्छ भन्ने तपाईहरुको सोच हो ?
हो, नेपालमा स्प्रिट इडष्ट्रिज, ओभरहल वेभरेजकै बजार ठूलो छ, प्रतिव्यक्ति उपभोग पनि निकै धेरै छ । यसले गर्दा अहिले हामीले व्यापारबाट काम सुरु गरेका छौं, दीर्घकालमा उद्योगमा जानसक्छौं । अहिले तीन हजार करोडको बजार छ । यो बजारले पनि के भन्छ भने उद्योगमा जाने संभावना जहिल्यै खुला छ ।
उद्योग सुरु गरिहाल्नु हुन्छ, प्लाण्ट नै लगाउँदै हुनुहुन्छ ?
हामी दुई चार वटा प्रोडक्टमा ‘वर्कआउट’ गरिरहेका छौं । अहिले डिस्ट्रिव्युसन सेट गर्दैछौं । बकाडी ब्राण्ड उपभोक्तामा स्थापित गर्न केही टार्गेट राखेका छौं, त्यो पुरा गर्न सक्यौ भने उद्योगमा जान हामीलाई गाह्रो हुँदैन, किनभने उद्योग भनेको उत्पादन गर्ने हो, एक पटक मार्केट सेट भएसकेपछि त उत्पादन सुरु गर्न सकिन्छ । उद्योगमा त प्रविधि ल्याउने हो, ‘कम्पोजिसन’ किन्ने हो अथवा लिने हो, फ्रेन्चाइज गर्ने हो । उद्योग स्थापना गर्न केही समय लाग्छ । उद्योग चलाउन हामीलाई गाह्रो पनि छैन, किनभने यसमा हाम्रो ‘एक्सपर्टिज’ पनि छ ।
एफएमसिजीमा क्षेत्रमा यो समूहले धेरै लगानी गर्यो, तर लगानी अनुसार बजारमा उपस्थिति कम देखिन्छ,
नुडल्समै पनि तपाईहरु पछाडि हटेको जस्तो लाग्छ ?
त्यस्तो होइन, हामी पछाडि हटेका छैनौं । आज पनि नुडल्समा हाम्रो १५ देखि १७ प्रतिसत बजार हिस्सा छ । मास मार्केटिङमा मात्रै हाम्रो फोकस नदेखिएको हो । तपाईहरुले वाइवाइको पनि विज्ञापन देख्नु भएको छ त? मैले भन्न खोजेको ओभरअल इन्डिष्ट्रि नै स्लो भएको हो, इनटर्मस् अफ मार्केटिङ । मायोजको पनि खै त विज्ञापन ? पहिला कति धेरै आउँथ्यो । मियोको पनि विज्ञापन छ्रैन, हाम्रो नानो पनि त्यत्ति विज्ञापन छैन । तर, आन्तरिक रुपमा हाम्रो बृद्धि भइरहेकै छ । प्रत्येक वर्ष हाम्रो बजार विस्तार भएकै छ । अहिले हामीले उत्पादन पनि दोब्बर गरेका छौं । नानो चिज बल, वेपर्सलगायत अन्य उत्पादन बजारमा ल्याइसकेका छौं, कति बजारमा आउन बाँकी छ । व्याकवार्ड इन्ट्रिग्रेसन गरेर फ्लोर मिल पनि आफ्नै स्थापना गरेका छौं, यही मार्चमा उत्पादन सुरु हुन्छ । यो मिल बेस्ट टेक्नोलोजी प्रयोग गर्ने नेपालकै पहिलो हो । त्यसैले पहिला त्यसरी बजारमा आएको अहिले खै त भन्ने भयो होला तर हाम्रो विस्तार भने भइरहेकै छ ।
पछिल्लो चरणमा उर्जा र श्रमिकको समस्या कम हुदै गएको हो ?
अहिले कम भएको होइन, तर टनेलको अन्त्यतिर उज्यालो देखिन थालेको छ । आज पनि उद्योगमा दैनिक करिब १५ घण्टा लोडसेडिङ छ, नौ घण्टा मात्रै विद्युत पाएर दुनियाँमा कुनै पनि उद्योग सफल हुँदैन, यो कल्पना पनि गर्न सकिँदैन । तर, हामीले के देखेका छौ भने, सन् २०१६-२०१७ तिर दैनिक २०/२२ घण्टा विजुली पाउछौं । यो त टनेलको अन्तिम तिर उज्यालो हो नि । त्यस्तै श्रमको समस्या विगतमा निकै ठूलो थियो, अहिले केही घटेको छ, नयाँ श्रम ऐन पनि बनिरहेको छ । यहाँ पनि केही सकारात्मक वातावरण देखिरहेका छौं । मेरो मतलव यो होइन कि सबै एकदम राम्रो भइसकेको छ । तर, सकारात्मक दिसा तिर गइरहेका छौं ।
यसले त तपाईहरुको कोर क्षेत्रको उत्पादन बढाउन सहयोग गर्छ होला, उत्पादन बढाउँदै पनि हुनुहुन्छ ?
हामी उत्पादन बढाउन लागि रहेका छौं । स्टिलमा हरेक वर्ष जस्तै प्लाण्ट थपिरहेका छौं । भर्खरै हामीले नयाँ प्याण्टहरु थप्यौैं । उत्पादन बृद्धि मात्रै होइन, वातावरण मैत्री उत्पादनमा पनि हामी लगानी बढाइरहेका छौं । केही समयअघि मात्रै यसका लागि २५ करोडको नयाँ प्लाण्ट थप्यौं । सिमेन्टमा हेटौंडामा नयाँ प्लाण्ट लगाउँदै छौं । यो क्लिङकर प्रोजेक्ट हो, यसको निर्माण सुरु हुँदैछ । त्यसैले कोर सेक्टरमा हामी लगानी गरिहेका छौं । यसमा नियमित रुपमा बृद्धि छ ।
हेटौडाको सिमेन्ट उद्योग कति लगानीमा, कति क्षमताको स्थापना गर्न लाग्नुभएको हो ?
यसको अहिले यति नै क्षमताको भनेर साइजिङ भइसकेको छैन । तर १२ सय देखि दुई हजार टिपिडी हो । यो नेपालको ठूलो साइजमै पर्छ ।
यी बाहेकका अन्य आयोजनामा पनि लगानी गर्दै हुनुहन्छ ?
छ, कोर सेक्टरमा त लगानी भइरहेको छ । यी बाहेक पनि सफ्टवयर उद्योगमा अध्ययन गरिरहेको छ । यसलाई आर एण्ड डी जस्तै भनौं । वेभ बेस एप्लिकेशनका लागि अध्ययन गरिरहेका छौं । तर यो अत्यन्त प्रारम्भिक अवस्थामा छ ।