
कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले सेराटन होटल काठमाडौको शिलन्यास गर्दै करिव चार महिना अघि भनेका थिए, शेष घलेजस्ता व्यवसायीले लगानी गरे मुलुकको विकासका लागि लामो समय पखिर्नु पर्दैन ।
प्रधानमन्त्री कोइरालाले लगानीकर्तालाई उत्साहित गर्न यसो भनेका थिए । घलेले घोषणा मात्रै गरेनन्, साच्चिकै काम तीब्र गतिमा अघि बढाए । चार महिनाकै अवधिमा होटल निर्माणको कामले एउटा आकार लिइसकेको छ । आँखाले हेर्दै अब होटल पक्का बन्छ, त्यो पनि तोकिएकै समयमा बन्छ भनेर विश्वास गर्न सकिन्छ ।
एमआइटी ग्रुप होल्डिङ्सले होटलको प्रोटेक्सन पाइलिङको काम सकिसकेको छ । निजी क्षेत्रका अधिकांस लगानीकर्ता परियोजना निर्माणको घोषणा गरेपछि लक्ष्यभन्दा अघिनै सक्ने दृढ विश्वास लिन्छन् ।
यही विश्वासका कारण होटलको काम यति द्रूतगतिमा अघि बढेको छ कि स्वदेशी र विदेशी गरेर १२ जना कन्सल्ट्यान्ट र दुई सय कामदारले दिनरात काम गरिरहेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष समेत रहेका घलेको एमआइटी ग्रुप होल्डिङ्सले काठमाडौंमा बनाइरहेको पाँचतारे होटल 'सेराटन होटल काठमाडौ' बनाउँदैछन् । एमआइटी ग्रुप होल्डिङ्सले करिब आठ अर्ब रुपैयाँ लगानीमा बनाउन लागेको होटलको अहिले फाउन्डेसनको काम भइरहेको छ । यो होटल शतप्रतिशत विदेशी लगानीमा निमाण हुँदैछ ।
सेराटन होटलका अपरेसन म्यानेजर सुरेश चित्रकारका अनुसार फाउन्डेसन पुरा भएपछि पिलर गाड्ने काम सुरु हुन्छ । उनले भने, 'अहिले होटललाई थप मजबुत बनाउन चाहिने प्रोटेक्सन पाइलको काम सकिएको छ ।' पाइलिलङमा होटलको जग बलियो बनाउन विभिन्न ठाउँमा रड गाडेर ढलान गर्ने काम गरिन्छ । यसले होटलको जगलाई आड दिने काम गर्छ ।
होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआइटी ग्रुप होल्डिङस रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिंगापुरको स्टारवुड ग्रुपले गर्नेछ ।
एमआइटीले कान्तिपथस्थित केशरमहलसँगै रहेको १४ रोपनी क्षेत्रफलमा होटल बनाउने काम धमाधम भइरहेको छ ।
अहिले दैनिक एकदेखि दुईसय कामदारले काम गरिहरेका छन् । अबको तीनमहिनापछि तीनसय भन्दा बढी कामदारले होटल निर्माणको काम गर्नेछन् चित्रकारले भने, 'अबको तीन महिनामा काम द्रुत गतिमा बढ्छ । त्यससँगै कामदारहरु पनि बढ्नेछन् ।'
माटो परीक्षण भइसकेको र स्ट्रक्चर डिजाइनको काम पनि भइरहेके चित्रकारले बताए । स्वदेशी र विदेशी १२ वटा कन्सल्ट्यान्टले अहिले काम गरिरहेका छन् ।
सरकारले प्रत्यक्ष विदेशी लागनी ९एफडीआइ० लाई प्रोत्साहन गर्ने विभिन्न सहुलियत दिनुपर्ने चित्रकारले बताए । अहिलेसम्म सरकारबाट सहुलियत र सुविधा नलिइएको बताउँदै उनले विदेशी लगानी ल्याउन सहुलियत दिनुपर्ने बताए ।
यस्तो हुनेछ होटल
सन् २०१७ को अन्त्यसम्ममा होटल निर्माण सम्पन्न हुने र २०१८ को फेब्रुअरीबाट सेवा सुरु गर्ने एमआइटीको योजना छ।
होटल १७ तलाको हुनेछ । होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम रहने छन्।
पाँचतारे लक्जरी होटल सेराटनमा दुई सय १८ वटा गेष्टरुम तथा स्वीटरुम हुनेछन् ।
होटलभित्र हेल्थ क्लब, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उपलब्ध हुनेछ। होटलभित्रै रिटेल सपिङ सुविधा तथा स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ।
होटलमा विवाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष रहनेछ, जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सबैभन्दा ठूलो हुने कम्पनीको दाबी छ।
होटलको भवन निर्माण आधुनिक 'पोष्ट टेन्सन्ड कंक्रिटु विधिमार्फत् गरिने छ कम्पनीले जनाएको छ। यो प्रविधि काठमाडौंमै पहिलो भएको उसको दाबी छ। चित्रकारले भने, ‘हामीले भवन निर्माणमा चाहिने सबै सामान नेपालको प्रयोग गर्छौँ र इन्टेरियरको लागि भने विदेशबाट झिकाउँछौँ ।’ होटलमा स्टिल कम प्रयोग गरिने कम्पनीले बताएको छ ।
एमआइटीले क्षणिक लाभका लागि भन्दा पनि दीर्घकालीन सोचका साथ लगानी गरेको चित्रकारले बताए । होटल बनिसकेपछि धेरै नेपालीले रोजगारी पाउने र नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्ने दबी चित्रकारले गरे ।
होटल बनेपछि 'क्वालिटी' पर्यटक भित्र्याउने लक्ष्य आफूहरुको हुने चित्रकारले बताए। उनले भने, ‘होटल सञ्चालनमा आएपछि रेभेन्यू पनि जेनेरेट गर्छ । आर्थिक वृद्धदरमा यसले सहयोग पर्या उने छ भन्ने विश्वास लिएका छौँ ।’
विश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी 'स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक' ले सञ्चालन गर्ने विभिन्न होटल ब्राण्डमध्ये सेराटन पनि एक हो। सेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा चार सय होटल सञ्चालन भइरहेका छन्।
गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्वद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको 'एमआईटी ग्रुप होल्डिङ्स' ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ।
एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा 'मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी' कलेज सञ्चालन गरिरहेको छ। एमआईटी ग्रुपले प्रोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ। एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका विभिन्न व्यवसायिक भवनहरुको स्वामित्व छ।