
प्रभात भट्टराई/बिजमाण्डू
उद्यम गर्ने सोच भए पनि बाटो नदेखेर अलमलिएका तन्नेरीलाई नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले नयाँ अवसर प्रदान गरेको छ । व्यवसायको क्रिएटिभ सोच भएका युवालाई एनवाइइएफले आउँदो २६ फेब्रुअरी देखि तीन दिन बुट क्याम्प सञ्चालन गर्न लागेको हो ।
एनवाइइएफ कार्यकारी समिति सदस्य एवं वुट क्याम्प संयोजक अजय श्रेष्ठका अनुसार ३२ जना युवाले त्यहाँ सहभागिताको अवसर पाउनेछन् । अहिले त्यसका लागि आवेदन खुला गरिएको छ । सवा सय भन्दा बढी आवेदन परिसकेको छ ।
त्यस मध्ये ५० आवेदकलाई सर्ट लिष्टिङ गर्ने र उनीहरु मध्येबाट अन्तरवार्ता लिइ ३२ जना छनौट गरिनेछ । ती ३२ मध्ये व्यवसायको सम्भाव्यता र क्रिएटिभिटीबारे सहभागिहरुबाटै मतदान गराएर उत्कृष्ट आठको छनौट गरिन्छ । एक समुहमा ४/४ जना गरि आठवटा समुह बनाएर व्यवसाय सुरु र सञ्चालन बारे बुट क्याम्पमा सिक्ने अवसर प्रदान गरिन्छ ।
श्रेष्ठका अनुसार आन्ट्रपेनरशिपमा रुची भएका युवाहरुलाई मेहनत गर्ने थलोकै रुपमा बुट क्याम्प सञ्चालन गर्न लागिएको हो । क्याम्पमा एउटा मोडल दिने र त्यसमा तीन दिन बसुन्जेल सहभागिले काम गर्न पाउनेछन् । 'विजनेश मोडल क्यानभास नामको मोडल मार्फत हामीले काम गर्ने प्लेटफर्म दिने हो' उनी भन्छन् 'यो मोडल संसारभर नै लोकप्रिय छ ।'
आफ्नो व्यवसाय सुरु गर्न त्यहाँ रात भर उठ्नु पर्ने पनि हुन सक्छ । त्यो क्यानभासमा काम गर्ने क्रममा सहभागिले आफैँ दुई दिनमा मेरो मोडल के हो, मेरा कष्टुमर को हुन् जस्ता कुरामा बारे थाहा पाउनेछ । तेस्रो दिनमा भने आठवटा टिमले आठवटा प्रेजेन्टेसन गर्छन् । त्यहाँबाट तीनवटा आइडिया सेलेक्ट हुन्छन् अर्थात् १२ जनाले विजयी हुनेछन्।
भविश्यमा उनीहरुले साथ साथ काम गर्न चाहे भने ठिकै छ, होइन भने जसले त्यो आइडिया लिएर आएको हो उसले एनवाइईएफले हात्तिसारमा स्थापना गर्न लागेको विजनेश एक्सिलरेसन प्रोग्राममा २/३ महिना स्टार्टअप स्पेस पाउँछ । फोन, इन्टरनेट, रिसोर्स सेन्टर आदीको सुविधा लिन सक्नेछ । कम्पनी स्थापना कसरि गर्ने, लेखा तथा मार्केटिङ कसरि गर्ने जस्ता विषयमा समेत उनीहरुले त्यहाँ सिक्न सक्छन् ।
यो चरण पछि मात्र व्यवसाय स्थापनामा पुग्ने हो । 'कतिपय युवा चाहिँ क्षणिक जोश लिएर आएका हुन्छन् र पहिलो चरणमा नै थाकेर बाहिरिन पनि सक्छन्' श्रेष्ठ भन्छन् 'त्यो जोश नसेलाओस र युवाहरु उद्यमि बनुन् भन्ने नै हाम्रो मुख्य सोच हो ।'
बुट क्याम्प र स्टार्टअफ प्लेटफर्म मार्फत युवाले व्यवसाय गर्न यो चाहिने रहेछ, मैले गर्न खोजेको यो हो, यो यो कुरामा ध्यान दिनु पर्ने रहेछ जस्ता कुरामा जागरुक हुन पाउँछन् । 'साथै उनीहरुमा गर्न चाहँदा सहयोग गर्ने एनवाईइएफ रहेछ तथा त्यहाँका अग्रज उद्यमीहले प्रेरणा दिने रहेछन् भन्ने विश्वास पनि बढ्छ' उनको भनाइ छ ।
एक पटकमा ३२ जनाले वुट क्याम्पमा भाग लिन पाए पनि यस्ता धेरै समुह बन्न सक्छन् र सयौँ संख्यामा उर्जाशील युवाहरु आन्ट्रपेनर बन्न सक्छन् भन्ने बुझाइ उनको छ । पहिलो र अर्को एउटा वुट क्याम्प सञ्चालन नेपाल स्थित अमेरिकी दुतावासले आर्थिक सहयोग प्रदान गर्ने टुङ्गो भइ सकेको छ । त्यस पछि अन्यत्रबाट स्रोत खोजेर भए पनि क्याम्पलाई निरन्तरता दिने श्रेष्ठ बताउँछन् ।
सहभागि ३२ जनाले एक हजार पाँच सय रुपैयाँको दरले पैसा तिर्नु पर्छ । बुढानिलकण्ठ स्थित पार्क भिलेजमा त्यति पैसाले एक दिन पनि बस्न पुग्दैन । क्याम्प दुई रात र तीन दिन चल्ने हो । तर पनि आफुले पनि केहि लगानी गरेको अनुभुती होस् भनेर शुल्क लिन लागेको उनी बताउँछन् ।
आफ्नै अनुभव प्रेरक
श्रेष्ठ कलेज लेभल देखि नै व्यवसायमा होमिएका हुन् । तर बाटो देखाइदिने कोही थिएनन् । हुनत उनको पारिवारिक पृष्ठभूमी पनि व्यवसाय नै हो । वुवाले न्युरोडमा व्यापार गर्नु हुन्थ्यो । तर उनलाई त्यसले कहिल्यै तानेन । विविए पढ्दै गर्दा सन् २००७ मा पहिलो पटक उनले सेयर बजारमा १५ हजार लगानी गरे । पछि त्यो सेयर १९ हजारमा बिक्रि भयो ।
त्यसले उनलाई थप आकर्षित गर्यो । १९ हजार रुपैयाँ फेरि लगानी गर्दा पनि राम्रै भयो । त्यस पछि भने वुवासँग ऋण लिएर सेयरमा लगानी थाले उनले । विस्तारै कमोडिटी फ्युचर मार्केटमा समेत उनले लगानी गरे । जुन आज पनि निरन्तर छ । बीचमा सेयर बजार क्रयास हुँदा ठुलै नोक्सान भयो । तर निरन्तरता दिइँ रहँदा अहिले त्यस बेलाको घाटा पुर्ती भइ सकेको छ । कमोडिटी बजारमा पनि सुरुमा निकै घाटा भयो । जुनसुकै बेला पनि पोजिसन लिनै पर्ने स्वाभावका कारण आफुले गुमाएको बुझे पछि जोखिम हेरेर सुस्त किनबेच गर्न थाले ।
त्यसैले अहिले सेयर र कमोडिटी दुबैमा उनले कमाइ रहेका छन् । फाइनान्सियल बजारमा लगानी गर्न उनले आफ्नै कम्पनी आइ क्यापिटल चलाएका छन् । त्यस बाहेक क्याफिन कफि सप, एसवि टेक्सटायल र सोर्स कोड प्रालि समेत उनले चलाएका छन् ।
सात बर्ष अघि सेयरमा लगानी गर्दा मात्र होइन दुई बर्ष अघि क्याफिन कफिसप सुरु गर्दा पनि उनलाई बाटो देखाइदिने कोही थिएनन् । घरमा पनि अनुभव थिएन । के चिया पसल खोल्ने भनेर उल्टो गाली खाए उनले । अति सानो सानो कुरा बुझ्न पनि लामो समय लाग्यो । मेसिन कहाँबाट ल्याउने, कफि नेपाली कि विदेशी ठिक जस्ता विषयमा समेत अलमलिनु पर्यो । ३/४ महिना सम्म त्यत्तिकै घरभाडा तिर्नु पर्यो । त्यो वेला कोही बाटो देखाइदिने मेन्टर पाएको भए आफ्नो समय, पैसा दुबै बचत हुने उनी बताउँछन् ।
त्यसैले अब आउने नयाँ पुस्ताले यस्ता कठिनाइ झेल्नु नपरोस् भन्ने ध्येयका साथ वुट क्याम्प र विजनेश एक्सिलेटरको अवधारणा ल्याएका हुन् उनले । 'मेरो आन्ट्रपेनरसिपको प्यासनसँग पनि जोडिने र नेपालको लागि नौलो समेत हुने भएको हुँदा वुट क्याम्प र विजनेश एक्सिलेटर सुरु गर्न लागेका हौँ' उनी सुनाउँछन् । अमेरिकामा विजनेश एक्सिलेटरमा आफैँ पनि बसेको छन् उनी । अर्बौँ डलर कारोवार गर्ने कम्पनीहरु एक्सिलेटरबाट आएका दृष्टान्त उनलाई कण्ठ छन् ।
नेपालमा विजनेश एक्सिलेटर चलाउन साथीहरुको साथ पाए पछि उनले हिम्मत गरेका हुन् । एक्सिलेटर ८/९ महिनाको रिसर्च पछि अहिले सञ्चालनको चरणमा आएको हो । लामो समय चलेन भने पनि युवा उद्यमीहरुको पहलमा सुरु गर्नु नै महत्वपुर्ण हुने उनको ठम्याइ छ ।
एक्सिलेटरमा सुरु भएर छ महिना देखि तीन बर्ष चलेका कम्पनीहरु आउँन सक्छन् । उनीहरुले कुनै कठिनाइ भोगेका भए तिनलाई समाधान गरि चलाउने उपाय र अवसर त्यहाँ प्रदान गरिन्छ । शुस्त भएका कम्पनीलाई गति दिने प्लेटफर्म नै एक्सिलेटर हो । त्यहाँ कम्पनी सञ्चालनका सम्पुर्ण पुर्वाधारको व्यवस्थासँगै सल्लाह र परामर्श समेत दिइन्छ ।
वुट क्याम्पबाट छानिएका तीन स्टार्टअप विजनेशलाई भने एक्सिलेटर एउटा प्लेटफर्म हुन सक्नेछ । त्यहाँ कानुनका जानकारले कम्पनी दर्ता र कानुनी प्रकृयाबारे, बैंकरले फाइनान्सिङ बारे, मार्केटिङका ज्ञाताले बजारको सम्भावना र अवसर बारे तथा आवश्यक अन्य विषयमा समेत उनीहरुलाई सिकाउने प्रवन्ध समेत मिलाइने छ । उनीहरुले विजनेश सुरु गरेर ६/७ महिना पछि भने एक्सिलेटरमै समेत वसेर काम गर्न सक्नेछन् ।
अमेरिकाको ओक्लोहोमा विश्वविद्यालयबाट छ जना पार्टनरहरु समेत आएको मौका पारेर २५ फेब्रुअरीमा विजनेश एक्सिलेटर उद्घाटन गर्ने योजना रहेको छ ।