
काठमाडौं । लामो सयमसम्म ओरालो लागेको सेयर बजार पछिल्लो समय अफ सिजनमा बढ्न थालेको छ । सेयर बजारको दुई दशकको इतिहासमा पुसदेखि चैतसम्मको अवधिमा बजार घट्ने गरेको छ, तर पछिल्लो दुई बर्षयता यही समयमा बजार उकालो लाग्ने गरेको छ ।
.jpg)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैभन्दा वढी सुचिकृत रहेका बैंक तथा वित्तीय संस्थाहरुले पुस मसान्तसम्ममा आफ्नो वार्षिक साधारणसभा सकेर प्रतिफल वितरण गरिसक्छन् । जलविद्युत् र अन्य कम्पनीहरुले पनि लाभांस वितरण गरिसकेका हुन्छन् ।
प्रतिफल प्राप्त गरेपछि सामान्यतया सेयर बजार घट्दै आएको छ, अन्तर्राष्ट्रिय बजारहरुमा पनि यस्तै हुन्छ । तर पछिल्लो दुई बर्षयता भने नेपालको सेयर बजार यही समयमा उकालो लाग्ने गरेको देखिन्छ ।
माघ ८ गते बन्छ भनिएको संविधान पनि धकेलिएको छ अर्को मिति नतोकिकनै । संविधान निर्माण नभए बजार फेरि ओरोलो लाग्छ भन्ने धेरै विश्लेशकहरुको अनुमान थियो, तर उनीहरुको अनुमान विपरित बजार दिनदिनै उकालो लागिरहेको छ । कारोबार रकम पनि बृद्धि भइरहेको छ ।
बजार बढेसँगै केही ठूला र संस्थापक लगानीकर्ताले चाहिएजति सेयर बजारबाट पाउन छाडेका छन् । सेयर ब्रोकरहरुका अनुसार, सामूहिक लगानी कोष कम्पनी र अन्य ठूला लगानीकर्ताले चाहेजति सेयर खरीद गर्न पाएका छैनन् । ‘बजारमा अहिले सेयर सर्टेज छ,’ ती सेयर ब्रोकरले भने ।
किन अफ सिजनमा बढ्दै छ बजार ?
अफ सिजन सुरु भइसक्दा बैंक तथा वित्तीय संस्थाहरुको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भइसक्छ । उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको, खराव कर्जाको मात्र कम भएको देखिने गरेको छ ।
साथै अफ सिजनका बेला मर्जर तथा एक्विजिसनको चर्चा पनि चल्ने गरेको छ । एकातिर वासलात राम्रो आउने र अर्कोतिर मर्जरबाट अवशरको लाभ लिन सकिने भएकाले खरीद चाप वढेर बजार उकालो लाग्ने गरेको छ ।
दोस्रो त्रैमास सँगसँगै बैंहरुले लगानी लक्ष्य पुरा गर्न कर्जा विस्तारतर्फ बढी जोड दिइरहेका हुन्छन् । उनीहरुले अकर्षक ब्याज र अन्य सुविधासहित कर्जा लगानीमा जोड गर्ने भएकाले बजारमा तरलता भित्रिन्छ । त्यो तरलताका कारण सेयर खरीद गर्ने चाप वढ्ने गरेको छ ।
‘सेयर बजार गत बर्षदेखि उल्टो समयमा बढ्ने गरेको हो, यसपाली बढ्नु पर्ने कारण भनेको बैंकहरुको वासलात नै हो,’ इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले बिजमाण्डूसँग भने, ‘स्प्रेड दर लागूपनि नाफा घट्छ भन्ने अनुमान गरिए पनि बैं तथा वित्तीय संस्थाले राम्रो आम्दानी गरिरहेका छन्, यसले लगानीकर्तालाई तानेर बजार उकालो लागेको हो ।’
उनले अहिलेको बढ्दो बजारले पुरानो वुललाई तोड्ने संकेत गरेको बताए । ‘राजनीति नमिले पनि विग्रिसकेको अवस्था छैन,’ उनले भने, ‘यसले लगानीकर्ताको मनोवल वढाएको छ ।’
बजार विश्लेषक वलराम रिमालले बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक रिपोर्टका कारण पनि बजार उकालो लागेको बताए । उनले संविधान निर्माण नभएपछि राजनीतिले लामो कोर्ष लिन्छ भन्ने निष्कर्षमा लगानीकर्ता पुगेकाले उनीहरुले फेरि बजार प्रवेश गर्दा सेयर मूल्य उकालो लागेको बताए ।
‘राजनीतिक जोखिमबाट डराउनेजति पहिले डराइसकेका छन्,’ उनले भने, ‘अब राजनीतिले त्यति छोएको देखिँदैन । पैसा लामो समय होल्ड गरेर कसैले राख्दैन, त्यही भएर उनीहरुले बजारमा लगानी बढाउन थालेका छन् ।’