
अघिल्लो संविधानसभाको निर्वाचनपछि बन्द, हड्ताल, चन्दा आतङ्क रोक्न व्यवसायिक क्षेत्रबाट पहल भयो । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएका नाताले मैले सबै राजनीतिक दलहरुलाई बन्द, हड्तालबिरुद्ध हस्ताक्षर गर्न बोलाएँ ।
सबै राजनीतिक दलहरु आएर हस्ताक्षर गरे पनि । तर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले हस्ताक्षर गरेन ।
––––
व्यवसायीको पहलमा सरकारले सन् २०११ लाई नेपाल पर्यटन बर्ष घोषणा गर्यो । यही अवसरमा नेपाललाई बन्द, हड्ताल मुक्त गर्नुपर्छ भनेर हामीले फेरि राजनीतिक दलसँग लिखित प्रतिवद्धता माग्यौं ।
सबै दलले सहमति जनाए । एकिकृत नेकपा माओवादीले केही समय लगाएर भएपनि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्यो तर सर्त सहित । सर्त थियो– ‘पर्यटन क्षेत्रमा मात्र हड्ताल नगर्ने ।’
––––

यदी दलहरु विकास निर्माणप्रति साँच्चै प्रतिवद्ध हुन्थे भने पछिल्लो संविधानसभाको निर्वाचनका बेलामा आफ्ना पक्षमा भोट माग्न गाउँगाउँ जाँदा जनताले उठाएको मागप्रति संवेदनशिल हुन्थे । जनताले दोस्रो संविधानसभाको निर्वाचनका बेलामा नेताहरुसँग संविधानभन्दा बढी विकास निर्माणको माग राखे । जनता विकास निर्माणसँगसँगै संविधान पनि चाहन्थे तर पहिलो माग विकास निर्माण नै थियो ।
जनताले संविधानमा खासै चासो राखेनन् । मलाई विकास देऊ भन्ने जनसंख्याको हिस्सा धेरै थियो । राजनीतिक नेताहरुले सञ्चार माध्यमलाई अन्तर्वार्ता पनि दिए– जनताको मनमा विकास बढी पाइयो । अब संविधानसँगै विकास पनि गर्दै जानु पर्छ ।
निर्वाचनपछि राजनीतिक दलहरु संविधान निर्माणको वहसमा धेरथोर त लागे तर विकास निर्माणमा भने चासो राखेनन् । निर्वाचनपछि सत्तामा पुगेका दल राजनीतिक मुद्दामा केन्द्रीत भए । प्रतिपक्षीको आवाज पनि राजनीतिक मुद्दामा मात्रै उठ्यो विकास निर्माणमा उठेको सुनिएन ।
समस्या कहाँ ?
अभाव र आवश्यकताले नै संभावनालाई बढाउँछ । राजनीतिक दलहरुको आपसी झगडाले नेपालमा अभावसँगै संभावना बढाइदिएको छ । तर सँधै संभावना मात्र बढाएर हुँदैन । संभावनाका क्षेत्रमा लगानी पनि वढाउनु पर्छ ।
नेपालमा पुर्वाधार र ऊर्जा क्षेत्रमा मनग्य संभावनाहरु छन् । नेपालमा लगानी नभएको होइन, ती लगानी उपभोग्य र अल्पकालिन क्षेत्रमा मात्र छ । हाम्रो उपभोगको प्रबृत्ति बढेर गएको छ । रेमिटेन्स बर्षेनी बढेका कारण उपभोग बृद्धि हुँदै गएको हो ।
उपभोगकै कारण यहाँ दीर्घकालिन लगानीभन्दा ट्रेडिङ (दैनिक उपभोग्य सामग्रीको कारोबार) मा वढी लगानी भइरहेको छ । दीर्घकालिन महत्वका क्षेत्रमा लगानी हुन सकेको छैन ।
दीर्घकालिन लगानी ठूलो आकारको हुन्छ । ठूलो लगानीमा जोखिम धेरै हुन्छ । सम्भावितभन्दा बढी जोखिम उठाएर लगानी कसैले पनि गर्दैन ।
लगानीका लागि नीतिको त्यति समस्या छैन । संविधान नआएकै कारण पनि जोखिम हुनेछैन । तर संविधान आउने र नआउनेका बीचमा हुने राजनीतिक दलले सिर्जना गरेको संक्रमणले उब्जाएको मात्र जोखिम छ । यो संक्रमणभित्र बन्द, हड्ताल, चन्दा आतंक र जवाफदेहिता पर्छ ।
संविधान बनेर वा नबनेर केही फरक पर्नेवाला छैन । तर संविधान नबनेर जुन संक्रमण बढिरहेको छ अर्थात यो बीचमा राजनीतिक दलहरुबीच जुन दुरी बढिरहेको छ त्यसले लगानीको वातावरण विगारिरहेको छ ।
नेपालमा अल्पकालमै लाभ हुन्छ भने जोखिम मोलेर भएपनि लगानीकर्ता आउँछन्, आएका पनि छन् । केही वहुराष्ट्रिय कम्पनीहरुले अहिले पनि आफैले जोखिम उठाएर काम गरिरहेका छन् । जतिसुकै संक्रमण भएपनि तिनीहरु भागेर जानेवाला छैनन् । किनभने कमाइ भइरहेको छ । एनसेल, एसियन पेन्टस्, युनिलिभरलगायतले कमाइरहेका छन् ।
नेपालमा ठूलो बजार छ । दुई करोड ७० लाख जनसंख्या भनेको ठूलो बजार हो । हाम्रो उपभोग पनि बढेर गएका कारणले बजार संभावना बढी भएको हो । तर, दीर्घकालिन लगानीको क्षेत्रमा भने लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन् ।
नीतिमा विरोधाभाष
अहिले देशमा नीतिगतभन्दा राजनीतिक जोखिम बढी छ । राजनीतिक जोखिमकै कारण नीतिमा उल्लेख भएका बिषयहरु कार्यान्वयन हुन सकेका छैनन् । नीतिमा उल्लेख भएकै बिषय– आन्तरिक उद्योगलाई प्रोत्साहन गर्ने भन्ने कार्यान्वयन हुन सकेको छैन ।
नीतिमा पनि केही समस्या छन् । आयोजना विकास गर्नका लागि जंगल फडानी गर्न पाइँदैन । जग्गा अधिग्रहण गर्न पाइँदैन । १० प्रतिशत सेयर सित्तैमा वाँड्नु पर्ने बिषयहरु उठिरहेका छन् ।
जलविद्युत् तथा पुर्वाधार क्षेत्रमा बन फडानी गरियो भने एउटा रुख काट्दा २५ वटा रोप्नु पर्ने व्यवस्था छ । हो, फडानी गरेर मात्र हुँदैन, रोप्नुपनि पर्छ । तर जग्गा आफैले खोज्नु पर्ने हुन्छ । आयोजना सञ्चालनमा आएको केही बर्षपछि सरकारलाई नै जिम्मा लाउनु पर्ने अवस्था छ । अझ फडानी वापत बन मन्त्रालयलाई रोयल्टी पनि तिर्नु पर्ने व्यवस्था छ । यसले लगानीको वातावरणलाई प्रतिकुल असर पारेको छ ।
ऊर्जाको नीति बनाइएको छ भने त्यसलाई सहयोग गर्ने नीति बन मन्त्रालयको छैन, मालमोत कार्यालयको छैन । ७५ रोपनीभन्दा वढी जग्गा किन्न नपाइने नीति छ । आयोजनाका लागि योभन्दा धेरै जग्गा चाहिन्छ । थप जग्गाका लगि अर्को प्रकृया सुरु गर्नुपर्ने हुन्छ । त्यसमा पैसा र समय जान्छ । दुई छुट्टै निकायका बीच समन्वय छैन । नीतिलाई समन्वय गराउनका लागि राजनीति मिल्नु पर्ने हुन्छ ।
सस्तो राष्ट्रियता
दोस्रो निर्वाचनपछि जलविद्युतको क्षेत्रमा केही सकारात्मक संकेतहरु देखिएका छन् । राजनीति इच्छाशक्तिका करण ऊर्जा विकास सम्झौता (पिडिए), ऊर्जा ब्यापार सम्झौता (पिटिए) भएका छन् । तर पिडिए र पिटिएको खन्डन गर्नेको जमात पनि ठूलै छ ।
आफू पनि गर्न नसक्ने र अरुलाई पनि गर्न नदिने सोचको विकास भएका कारण आयोजना सञ्चालन गर्न समस्या छ । कर्णालीकै उदाहरण हेरौं– पिडिए भयो, तर, त्यहाँका स्थानीयले सरोकार समिति बनाएर सस्तो आयोजना हामीले नै बनाउनु पर्छ भनेर आवाज उठाइरहेका छन् ।
सस्तो भए नेपालीले नै बनाउँदा राम्रो हुन्छ । तर उनीहरुले त्यो सरोकार समितिले पैसा जुटाउन त सक्दैन । हामीभित्रै कसले ल्याएर पैसा दिन्छ ? त्यति ठूलो रकम कसले लगाउँछ ? पैसा निकाल्न कोही तयार नहुने अनि नेपालीले नै आयोजना निर्माण गर्नु पर्छ भनेर आन्दोलन गर्नु कतिको व्यवहारिक तर्क हो ?
नेपालीले लगानी गर्नका लागि पैसा उठाउने उपकरण छैन । इच्छाशक्ति पनि देखिएको छैन । त्यसलाई मलजलसंविधान (बन्ने/नबन्नेबीचमा अड्किएको) ले गरिरहेको छ ।
जनशक्ति छैन
आफ्नै जोखिममा कसैले लगानी गर्न अघि सर्यो भने पनि काम गर्ने जनशक्ति पाइँदैन । औद्योगिक, पुर्वाधार वा व्यवसायिक कृषिमा ठूलो लगानी हुन्छ, तर काम गर्ने मान्छे नभएपछि योजना अगाडि वढ्न सक्दैन । कारण काम गर्ने मान्छे सबै बाहिर गइरहेका छन् । दिनकै १५ सयको हाराहारी वाहिरिरहेका युवा जनशक्ति फर्केर आउन समय लाग्छ ।
अहिले नै पनि फर्केर आउने वातावरण बनाउन सकिन्छ । तर त्यो वातावरण राजनीतिक कारणले पर सरिरहेको छ । संविधान आउने र नआउनेको बीचमा जुन खालको अन्यौलता छ त्यसले वाहिरिएको जनशक्तिलाई नेपाल फर्कनु पर्छ भनेर सोच्न कर लगाउँदैन ।
महँगो इन्धन
सन्सारको सबैभन्दा महँगो सिमेन्ट नेपालमा पाइन्छ । एक बोरा अर्थात ५० किलो सिमेन्टको आठ सय रुपैयाँ । आठ सय रुपैयाँ बोराको सिमेन्टले हामी निर्माण गरिरहेका छौं ।
कच्चा पदार्थ नै महँगो भएपछि आयोजनाको लागत निकै वढी पुग्छ । सिमेन्ट महँगो इन्धनका कारणले भएको हो । औद्योगिक क्षेत्रमा कम्तिमा दैनिक १२ घन्टा लोडसेडिङ छ । लोडसेडिङको समयमा महँगो मूल्यको इन्धन प्रयोग गर्नु पर्छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्छ तर नेपालमा घट्दैन । यो सबै राजनीतिक नेतृत्वका कारणले भएको हो । नेतृत्वले चाहने हो भने यो समस्या तुरुन्त हल हुनसक्छ । तर पुरानो घाटालाई पुर्ति गर्ने सोचका कारण इन्धनको भाउ घटाइँदैन ।
पैसा आउँछ ?
अवसर भएकै कारण लगानीको प्रतिवद्धता आइरहेका छन् । अझै पनि वातावरण तयार नभएका कारण प्रतिवद्धा गरिएको रकम कार्यक्रमका रुपमा आएको छैन । र, अहिले अउँदा पनि आउँदैन । पैसा आउनका लागि लगानीको वातावरण बन्नु पर्छ, जोखिमको मात्र कम हुनु पर्छ । जबसम्म हामी सकारात्मक सोच राखेर अगाडि वढ्दैनौं तब सम्म लगानी रकम भित्रँदैन ।
हामी आफ्नै पैसा पनि चलाउन सक्दैनौं । नेपाली सेना, प्रहरीको कल्याणकारी कोषमा ठूलो रकम थुप्रिएर बसेको छ । कर्मचारी सञ्चयकोष, बिमा संस्थान, नागरिक लगानी कोष, गुठी संस्थानहरु र अन्य सार्वजनिक निकायहरुसँग पैसा छ ।
महिनाको ४० अर्ब रुपैयाँ त रेमिटेन्स नै भित्रिने गरेको छ । सरकार आफै यो पैसा खर्च गर्दैन । त्यो पैसा अहिले जोखिम कम भएको बैंकको खातामा थोरै ब्याज लिएर जम्मा गरिएको छ ।
सर्वसाधारणले पनि जोखिम नहुने र उपभोग्य सामग्रीमा पैसा खर्च गरिरहेका छन् । जग्गा, सुन, गाडीमा लगानी भइरहेको छ । यस्तो फजुल लगानीले त बाटो बन्दैन, न त विजुली नै बल्छ । बैंकमा पनि तरलता अधिक छ । वातावरण नभएकाले बैंकसँग ऋण लिने छैनन्, त्यो पैसा त्यतिकै थन्किएर बसेको छ । राजनीतिक इच्छाशक्ति भयो र राजनीतिले दिशा लियो भने सबै कुरा अगाडि वढ्छ । धमाधम लगानी हुन थाल्छन् ।
कर्मचारी प्रशासन
नेपालमा ठूला ठूला परिवर्तनहरु त भए तर स्थायी शासन प्रणाली कर्मचारी प्रशासनमा भने कहिले पनि परिवर्तन भएन । आज गर्नु पर्ने काम पाँच दिनसम्म नगर्दा पनि जवाफदेही हुनु पर्दैन ।
कर्मचारीलाई आज गर्ने काम पाँच दिनसम्म नगर्दा पनि फरक नपर्ला तर लगानीकर्तालाई त्यसले फरक पार्छ । निर्णय ढिलो हुँदा करोडौंको नोक्शान हुन्छ भनेर कर्मचारीले बुझ्न सकेका छैनन् । बुझेकाले पनि निर्णय गर्दा भोली समस्या पर्ला की भनेर निर्णय गरिदिँदैनन् । कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था नभएकाले नीतिगत निर्णय गर्न समस्या भइरहेको छ, यसको घाटा भने लगानीकर्ताले वेहोर्नु परिरहेको छ ।
नभएको होइन
देशमा केही पनि नभएको होइन । हामी निरासै हुनु पर्ने अवस्था पनि होइन । विकास भएका छन्, तर ती भरपर्दा र दिगो छैनन्, योजनावद्ध छैनन् । गाउँ गाउँमा बाटो पुगेको छ तर अर्को बर्खामा त्यो बाटो भेटिँदैन ।
सानो पुँजी भएका लगनीकर्ताले जलविद्युत् क्षेत्रलाई पत्याएका छन् । जलविद्युत् क्षेत्रले सेयर पुँजी बजारमा राम्रै मूल्यमा बिक्री भइरहेका छन् । लगानीकर्ताले लाभांस पनि पाएका छन् । जलविद्युत्लाई पत्याउने लगानीकर्ताले पुर्वाधार तथा अन्य लगानीको क्षेत्रलाई पनि पत्याउँछन् ।
नेपालमा धेरै लगानीकर्ता लगानी गर्न चाहन्छन् । सोधपुछका लागि आइरहेका पनि छन् । विकशित देशमा गर्ने ठाउँ छैन । गर्ने भनेको हाम्रोजस्तो विकासशील मुलुकमै हो । विकशित देशमा मर्मत संहारमा मात्र लगानी हुने हो । तर यहाँ विकासका प्रशस्त ठाउँ छन् ।
अहिले अर्थतन्त्र युरोप अमेरिकाबाट सरेर एसियातिर आइरहेको छ । एसियाको जापानबाट भारत, चीनतिर अर्थतन्त्र घुमिरहेको छ । त्यो अवशर लिन वाहिरका लगानीकर्ता नेपाल लगायतका मुलुकमा आउन चाहन्छन् । चीन, भारत मात्रै होइन बंगलादेश, भुटान, श्रीलंकामा लगानी आइरहेको छ भने नेपालमा नआउने भन्ने हुँदैन । नेपाललाई त रणनीतिक हिसावले पनि हेरिन्छ ।
नेपालमा लगानी बारे अन्तर्राष्ट्रिय क्षेत्रमा बढेको चासो पनि यहाँ संभावना वढी भएर हो । अन्तर्राष्ट्रिय एजेन्सीहरुले त लगानी प्रतिवद्धता गरिरहेका छन् नै, सरकारी तथा निजी क्षेत्रले पनि लगानीका लागि चासो दिएको छ । उनीहरुले हामीमाथि राखको चासो पनि हाम्रा लागि उपलब्धि हो । उनीहरुको चासोलाई लगानीमा परिवर्तन गर्न सकिन्छ ।
के गर्नु पर्छ ?
कुनै लगानीकर्ताले राज्यको आयोजनामा म लगानी गर्छु भनेर आयो भने त्यसमा लाग्ने ऋणको ग्यारेन्टी आवश्यकता अनुसार सरकार बस्न सक्नु पर्छ । सरकारको नीति परिवर्तन हुँदा वा अन्य कारणले लगानी वातावरण खल्वलिँदा त्यसको भरपाइ राज्यले गरिदिने ग्यारेन्टी भए लगानीकर्ता जति पनि आउँछन् ।
नेपाल आउ लगानी गर भन्ने तर यहाँको आन्तरिक राजनीतिले आयोजना प्रभावित हुँदा केही पनि गर्न नसक्ने अवस्था भए लगानीकर्ता निरुत्साहित हुन्छन् । अहिले भइरहेको पनि त्यही छ । लगानी सुरक्षाको ग्यारेन्टी लगानीकर्ताले माग्छ । राज्यले त्यो गर्न सक्नु पर्छ ।
नेपालमा आधारभुत विकास नै भएको छैन । छिटफुट मात्र भएका छन् । धेरै परिस्थितिमा लगानीकर्ता आफैले जोखिम उठाएर पैसा बगाइरहेको छ । घर, गाडी, सुन, चाँदी, जग्गामा लगानी भएर विकास हुँदैन । पुल, बाटो, विद्युत्, पुर्वाधारमा लगानी हुनु पर्छ ।
राज्यले तिमीलाई के चाहिन्छ त्यो म दिन्छु, तिमीहरु काम गर भन्यो भने जति पनि लगानी आउँछ । नेपालमा आफ्नै जोखिममा काम गर भनेर मात्र डाक्ने काम भइरहेको छ ।
उद्योगी व्यवसायीले पनि लगानी प्रवद्र्धनका लागि काम गर्न सकेका छैनन् । उद्योगी व्यवसायीहरुले म यो काम गर्छु मलाई यस्तो सुविधा चाहिन्छ भनेर एउटै मञ्चबाट भन्न सकेका छैनन् ।
राजनीतिक नेतृत्वले ध्यान नदिए पनि औद्योगिक क्षेत्रले न्युनतम साझा आर्थिक एजेन्डामा सहमति गराउन दवाव दिनु पर्छ । त्यसले एउटा ढोका खोल्दिन्छ ।व्यवसायिक क्षेत्रसबै एकै ठाउँमा बसेर राज्यलाई दवाव दिने हो भने नीति कार्यान्वनय गराउन खासै समस्या हुँदैन ।
(जोशी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्
प्रस्तुत लेख राष्ट्रिय बाणिज्य बैंकको स्वर्णजयन्तिका अवशरमा प्रकाशित उपहार स्मारिकाबाट साभार गरिएको हो । )
प्रस्तुत लेख राष्ट्रिय बाणिज्य बैंकको स्वर्णजयन्तिका अवशरमा प्रकाशित उपहार स्मारिकाबाट साभार गरिएको हो । )