
कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । टाउको दुख्यो कि ढाड दुख्यो? कम्मर दुखेर हैरान बनायो वा पुरै शरिर थिलथिलो भयो? अब कहाँ जाने ? होमियोप्याथिक वा एलोप्याथिक उपचारमा धाउने?
'हैन । एकपटक स्पा जाने र आफ्नो उपचार गर्ने ।'
विगत १८ वर्षदेखि स्पाको क्षेत्रमा काम गरेका ३८ वर्षीय भुवन फाइजू सामान्य टाउको दुख्दा होस् या ढाड दुख्दा, कम्मर दुख्दा वा नसा नै च्याप्पिँदा किन नहोस् उपचारको लागि अस्पताल धाइहाल्नु भन्दा पहिले स्पामा गएर आफ्नो दु:ख कम गर्न सल्लाह दिन्छन् ।
नेपालमा मात्रै होइन विदेशमा समेत आफ्नो शाखा विस्तार गरिरसकेको ट्र्याङ्क्विलिटी स्पाका अध्यक्ष फाइजूका अनुसार अधिकांश रोग खाना र धुलोधुँवाको कारणले लाग्छ । खाना र धुलोधुँवाबाट भएको खराबीलाई स्पाबाट हटाउन सकिने बताउँछन् उनी।
'रोगको लागि पहिले अस्पताल धाउनु भन्दा स्पामा जानु उत्तम हुन्छ,' उनले भने, 'व्यस्त हुँदा व्यायम नगर्ने हाम्रो बानी र धुलोधुँवाले गर्दा विरामी भइराखेका हुन्छौँ । स्पाले खानामा हुने कोलस्ट्रोल र धुलोहरु निकाल्न मद्दत गर्छ ।'
ट्र्याङ्क्विलिटी स्पा दर्ता भएको सात वर्ष भइसक्यो भने सञ्चालनमा आएको छ वर्ष । काठमाडौंबाट सुरु भएको ट्र्याङ्क्विलिटी स्पाले पोखरा, ललितपुर र मलेसियामा समेत आफ्नो व्यापार विस्तार गरिसकेको छ ।
ग्राहक नेपाली नै
नेपालमा पछिल्लो समय स्पाको उपयोग र व्यवसायमा समेत चासो बढेको छ । केही वर्ष पहिलेसम्म हुनेखाने वर्ग र विदेशीहरुको मात्रै पहुँच रहेको स्पा अहिले मध्यम वर्गका मानिसहरुको पहुँचमा समेत आइसकेको छ । पाँचतारे होटलमा मात्रै खुल्ने स्पा अहिले सामान्य घरमा समेत खुल्न थालेको छ ।
फाइजू भन्छन्, 'पहिले पहिले विदेशीहरुलाई मात्रै लक्षित गरेर स्पा खोलिन्थ्यो भने अहिले नेपालीलाई लक्षित गरेर ठाउँठाउँमा खुलेका छन् ।' विदेशी ग्राहक भनेका अस्थायी हुने र नेपाली ग्राहक स्थायी हुने भएपछि नेपालाई प्राथमिकतामा राखेर स्पाहरु खुल्न थालेका हुन् । उनले भने, 'नेपालमा राजनीतिक अवस्था राम्रो भएको बेला मात्रै विदेशी आउने हुन् । तर नेपाली भनेका बाह्रै महिना आउँछन् । व्यापार उनीहरुले नै बढाइदिन्छन् ।'
नियमित अफिस जाने मान्छे र गृहणीहरु स्पामा आउँछन् । अफिसमा धेरै काम गरेर थाकेका, जसले आफूलाई नै धेरै समय दिन सक्दैनन् त्यस्ता मानिसहरु स्पाको नियमित ग्राहक रहेका फाइजूले बताए ।
यस्तै घरमा बिहान बेलुकी धेरै नै व्यस्त हुने महिलाहरु पनि आउँछन् । उनी भन्छन् 'विहन बेलुका धेरै व्यस्त हुनेहरु दिउँसो रिफ्रेस हुन पनि स्पा आउँछन् ।'
दाजु भाउजुको सल्लाह र सहयोगमा आफ्नै व्यवसाय सुरु गरेका फाइजूले स्पामा जोडी बाँधेर आउने पनि उत्तिकै भेटेका छन् । ६० वर्ष नाघेका जोडीहरु बढी आउने उनले देखेका छन् । 'उनीहरुलाई छोराछोरीले स्पाको भौचर गिफ्ट गर्छन्,' उनले भने, 'आमाको मुख हेर्ने दिन, तीज, भाइटिका, जन्म दिन, विवाहको बार्षिकोत्सव, बाबुको मुख हर्नेलगायत पर्वको बेला यस्तो गिफ्ट दिने चलन छ ।'
अफिसयल मिटिङ पनि स्पामा
नेपालीहरुमा स्पा बुझाइको दायारा फरिकलो हुँदै गएको अनुभव फाइजूले गरेका छन् । ज्यान दुख्यो भनेर स्पा आउनेहरु अहिले रिफ्रेस हुन पनि स्पा धाउने गर्छन् । त्यति मात्रै होइन साथीभाइबीच गेटुगेदर गर्न होस् या अफिसका गोप्य मिटिङ गर्न पनि स्पा जाने चलन बढेको छ ।
'चार/पाँच जना पनि मिटिङ गर्न भनेर यहाँ आउँछन्,' फाइजू भन्छन्, 'रेष्टुरेन्ट तथा बारमा गएर मिटिङ तथा ह्याङ आउट गर्दा पनि तीनचार हजार खर्च भइहाल्छ । तर यहाँ आउँदा ननहेल्दी खानाबाट जोगिनुको साथै पैसाको पनि बचत हुन्छ ।'
उनका अनुसार यसरी समूहमा आउनेहरुले स्टिम सउना लिने गरेका छन् । जापान तथा कोरियामा पनि अफिसको काम वा आफ्नो व्यवसायको काम सकिएपछि स्पा जाने र दुईघण्टा बिताउने अनि डिनर पछि मात्रै घर जाने चलन भएको फाइजूले बताए । उनले भने 'नेपालमा पनि यस्तो चलन बढ्दै छ । फुटबल, क्रिकेट टिम र व्यवसायीहरुको समूह स्पामा आउँछन् ।'
स्पा नयाँ कुरा हो?
स्पा नेपालबाटै सुरु भएपनि नेपालीहरुलाई यसबारे कमै थाहा भएको फाइजू बताउँछन् । उनी भन्छन्, ' स्पा भनेको नेपालीलाई थाहा नभएको हैन, शब्द मात्रै नयाँ हो । हामीले बुझ्दा स्पा भनेको 'नेचुरल्ली हेल्दी' बनाउने हो । नेपालमा योगा, ध्यान गर्ने, तातो ढुंगामा सुत्ने, बगेको पानीमा केही समय बस्ने, तातोपानीमा गएर नुहाउने र जाडोमा पनि चिसो पानीमा नुहाउने सबै स्पाकै तरिका हुन् ।'
उनका अनुसार माटो लगाउने, कमेरो लगाएर नुहाउने सबै स्पाकै एउटा तरिका हो । उनले भने,' स्पा भनेको कुनै पनि केमिकल प्रयोग नगरी आफूलाई स्वस्थ बनाउने हो। जुन तरिका हाम्रा पुर्खाहरुले गरेका थिए ।'
मल्लकालीन राजा सिंद्धिनरसिंह मल्ल गर्मीमा पनि चारैतिर आगो बालेर बीचमा सुत्ने चलनलाई अहिले सउना बाथ भन्न थालिएको फाइजूको भनाइ छ । यसैगरी तातो ढुंगामा सुत्ने चलनलाई स्टोन थेरापी नाम दिइएको फाइजू बताउँछन् । उनले भने, 'स्पाको चलन नेपालबाटै भएको हो । क्यापिटलाइज चाहिँ अरुले गरे ।'
स्पाले कसरी फाइदा ?
स्पामा लिइने सेवाले तनाव कम गराउछ भने शरीर चंगा बनाउँछ । सहरमा दिन प्रतिदिन प्रुदुषण बढ्दै गएको छ । प्रदुषणले छालमा भएको मसिनो प्वाल थुनिदिन्छ । जसले गर्दा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन सक्दैन । 'घरमा नुहाउँदा छाला बाहिरको मात्रै फोहोर जान्छ तर भित्र गएको धूलो निकाल्न सकिदैन' फाइजू भन्छन्, 'यसको लागि सउना बडी स्क्रब गरेर मालिस गरेमा धूलो निस्कन्छ । शरीरमा रक्तसञ्चार सही तरिकाले हुन्छ र मानिस हेल्दी हुन्छ ।'
व्यायम नगर्ने बानीले मानिसको मांशपेशी प्रणालीमा मसलले काम गर्ने बेला लक्टि एसिड आउँछ । त्यो एसिड मसलबाहिर र छालाभन्दा भित्र मैन बत्ती जस्तै जमेर बस्छ । 'जमेको त्यस्तो विकारले नसालाई सञ्चार हुन दिँदैन । अनि मानिसहरु प्रेसर बढेर विरामी पर्छन्,' उनले भने ।
स्पामा गएर मसाज लिँदा त्यो जमेर बसेको मैनजस्तो पदार्थ फुटाइन्छ । पिसाव मार्फत बाहिर फालिन्छ । त्यसपछि मानिसहरु टेन्सन फ्रि र फ्रेस हुन्छन् । फाइजू भन्छन्, 'स्पाका विभिन्न तरिकाले हाम्रो शरीरभित्र रहेको फोहोरलाई बाहिर निकाल्ने काम गर्छ । जसले हाम्रो स्वास्थ राम्रो हुन्छ ।'
विभिन्न तरिकाले स्पाको उपयोग गरेपनि सबैको एउटै उद्देश्य हुन्छ, हाम्रो शरीरमा रक्त सञ्चार रम्रो बनाउने । फाइजूका अनुसार मानिसको शरीरको सबैभन्दा साना सेललाई अक्सिजन पुर्याउने काम स्पाले गर्छ । उनी भन्छन्, 'सेलमा अक्सिजन ल्याउने काम रगतले गर्छ । शरीरमा रगत सर्कुलेसन भयो भने चंगा बनाउँछ । स्पाका विधिहरुले रगत सर्कुलेसन बढी गराउँछ ।'
स्पामा छिरेपछिका सुविधा
फाइजूका अनुसार विश्वका कुनै पनि स्पाले शतप्रतिशत सेवा दिन सकेका छैनन् । यस्तै ट्र्याङ्क्विलिटी स्पामा पनि सबै सेवा छैन । यहाँ छिरेपछि एकसयदेखि १२ हजार रुपैँयाँ तिरेर सुविधा लिन सकिन्छ फाइजूका अनुसार फ्रेस हुनको लागि कम्तिमा दुई हजार रुपैयाँ तिरे पुग्छ ।
यहाँ शिरोधारा, आयुर्वेदिक मसाज, डिप टिस्यु मसाज, स्पाइनल मसाज, हट स्टोन थेरापी, स्वीडिस मसाज, पिचु, रिफ्लेक्सोलोजी, थाइ मसाज, हेड एन्ड सोल्डर, ट्रेकर मसाज, योगा, सउना वा स्टिम बाथ, बडी स्क्रब लगायतका सुविधा छ ।
यी सेवा ४५ मिनेटदेखि डेढघण्टासम्म लिन सकिने फाइजूले बताए । उनले भने, 'ढाड दुखे स्पाइनल मसाज गर्न सकिन्छ, हड्डी दुखेमा पिकु गर्न सकिन्छ। स्टिफनेस भएकालाई थाइ मसाजको सुविधा छ भने शरीरको भित्री भाग दुखे डिप टिस्यु मसाज गर्न सकिन्छ । माइग्रेन छ भने हेड एन्ड सोल्डर मसाज गर्न सकिन्छ । ब्याक पेन भएको स्पाइनल मसाज गर्न सकिन्छ ।
स्पामा लगानी कति?
फाइजू आफूहरुले भौतिक लगानी नगर्ने बताउँछन् । 'हामी लगानी एकदमै कम गर्छौँ । अरुको इन्भेष्टमेन्टमा हामी काम गर्छौँ,' उनले भने, 'तर हामी ती सबै होटलमा रेभेन्यु बाँटफाट गर्ने हो । उहाँहरुको सम्पती हामी म्यानेज गर्छौ । उहाँसँग धन छ हामीसँग बुद्धि छ ।'
विकृतिले बर्बाद
स्पा विश्वस्तरमा नै राम्रो व्यवसायको रुपमा चिनिएपनि नेपालमा भने यौन व्यवसाय गर्ने ठाउँ हो भनेर चिनिएको फाइजू बताउँछन् । यसले गर्दा व्यवसायमा नकारात्मक प्रभाव परेको उनले बताए । खासगरी मसाजलाई यौन क्रियाकलापसँग जोडेर हेर्ने चलन नेपालममा बढी छ,' फाइजूको बुझाइ छ ।
उनी भन्छन्, 'जुनसुकै क्षेत्रमा पनि विकृति छ । तर हामी समस्या मात्रै देखाउँछौँ । समाधान खोज्दैनौँ । यसको पनि समाधान छ । यसरी यौन व्यवसायममा लाग्नुको कारण के हो भनेर पत्ता लगाएर विकृति तोड्नु पर्छ ।'
नियामक निकायको प्रभावकारी अनुगमन आवश्यक रहेको उनले बताए । मान्छेले छिटो कमाउन खोज्दा स्पा तथा मसाज व्यवसाय नै बद्नाम भएको उनी बताउँछन्। भन्छन्, 'जोसँग जे सीप छ त्यो काम गर्न दिनुपर्यो । एसएलसी फेल भएको मान्छेले दश जोड दुईको कपी जाँच्ने होइन । त्यसैले सीप भएकालाई मात्रै स्पा र मसाजको काम दिनुपर्छ ।'
स्पामा काम गर्दा ३५ हजार कमाइ
फाइजूका अनुसार यो क्षेत्रमा लागेर मनग्गे आम्दानी गर्न सकिन्छ । नेपालमा काम छैन भनेर विदेशीने युवाहरुले स्पा सम्बनधी तालिम लिएर काम गरे विदेशमा भन्दा धेरै पैसा कमाउन सकिने उनी बताउँछन् । भन्छन्, 'स्पामा काम गरेर तीस, चालिस हजार कमाउन गाह्रो छैन । यो रिलेसनको काम हो। एकजनाले एउटा सर्भिस दिने हो । यसो गर्दा पर्सनल्ली टिप्स पाउनुका साथै रिलेसन विजनेश पनि बढ्छ ।'
फाइजूको अनुभवमा बोल्न जान्ने, काममा मन र आइडिया लगाउन सक्नेले मज्जाले कमाउन सकिन्छ । उनका अनुसार अहिले नेपालमा करिव छ हजार दक्ष जनशक्ति स्पा व्यवसायमा आवश्यक छ ।