
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खुलाएको छ।
बिहीबार सुचना प्रकाशित गर्दै १५ दिनभित्र पीपीएका लागि सम्पर्क गर्न प्रवर्द्धकहरुलाई प्राधिकरणले आह्वान गरेको हो।
प्राधिकरणको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले पीपीए खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले उर्जा समीश्रण नीतिमा परिवर्तन गर्दै १० प्रतिशत जलाशययुक्त आयोजनाको कोटा कटाएर नदी प्रवाहमा आधारित आयोजनामा थप गर्ने निर्णय भएको थियो।
सोही अनुसार प्राधिकरणले पीपीए खुलाएको हो। नदी प्रवाही आयोजनाको साबिक ३५ प्रतिशत (५२५० मेगावाट) बाट १० प्रतिशत (१५०० मेगावाट) सीमा वृद्धि गर्न लागिएको छ।
४५ प्रतिशत (६७५० मेगावाट ) नपुगेसम्म पीपीए लगायतका सम्पूर्ण प्रावधान यथावत रहने गरी ग्रीड कनेक्सन सम्झौता रोलक्रमका आधारमा पीपीए निरन्तरता दिइने उल्लेख छ।