
सविन मिश्र/बिजमाण्डू
तस्वीरहरु: अंगद ढकाल/बिजमाण्डू
काठमाडौं । बुधवारबाट सुरु भएको नाडा अटो शोमा उपभोक्ताको आर्कषण साना गाडिमा देखिएको छ । यो वर्षको अटो शोमा धेरै व्यवसायीले हालै मात्रै काठमाडौं भित्रिएका सवारी साधनलाई केन्द्रमा राखेर प्रचार गरिरहेका छन् । नाम चलेका कम्पनीहरु टाटा, टोयोटा, हुण्डाई, किया, फियाट, भोक्सवागेनका विक्रेताले भित्र्याएका नयाँ तथा सुविधायुक्त गाडीमा उपभोक्ताको भीड जम्मा भएको छ ।
इटिओस क्रसको प्रवद्र्धनमा टोयोटा
टोयोटा मोटर्सको अधिकृत विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले यो वर्षको अटो शोमा इटिओस क्रस गाडीलाई आफ्नो प्राथमिकतामा राखेर प्रचार गरिरहेको छ । हालै मात्रै नेपाली बजारमा भित्रिएको यो कारको मूल्य ४१ लाख ४५ हजार रुपैयाँ छ । १५ सय सिसीको यो गाडी पेट्रोल इञ्जिनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
झण्डै १७ किलोमिटर प्रतिलिटर माइलेज दिने यो गाडी स्पोर्टी लुकको ह्याचब्याक भएको कम्पनीले जनाएको छ । पाँच सिट क्षमता रहेको यो गाडीमा इलेक्ट्रोनिक पावर स्टेरिङको व्यवस्था छ । इटिओस क्रसलाई प्राथमिकतामा राखेर प्रचार गरिरहेको कम्पनीले अरु गाडी पनि प्रदर्शनीमा छ ।
प्रमोट एक्सेन्ट कै हुण्डाई
यस्तै हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि हालै सार्वजनिक गरेको एक्सेन्ट गाडीलाई नै ‘प्रमोट’ गरिरहेको छ । २४ लाख ९६ हजारदेखि ३१ लाख ९६ हजार मूल्य पर्ने यो गाडी पेट्रोल इन्जिन सेडान गाडी हो ।
एक्सेन्ट बाहेक हुण्डाईका उत्पादनहरु इयोन, आइटेन, ग्राण्ड आइटेन तथा भर्ना गाडी पनि प्रदर्शनीमा राखिएका छन् । कम्पनीले अटो शोमा बुक भएका गाडी दशैं अघि नै ग्राहकका हातमा उपलब्ध गराउने दावी पनि गरेको छ ।
टाटाको ‘देखाउने’ गाडी लद्दाख
यो वर्षको अटो शोकै महँगो गाडी प्रदर्शनीमा टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले राखेको छ । यो गाडी विक्रीका लागिभन्दा पनि अहिलेका लागि प्रदर्शनीका लागि मात्रै राखिएको कम्पनीले दावी गरेको छ । नेपालका लागि ‘शो’ मोडल ल्याइएको र यसको मूल्य नेपाली बजारमा साढे दुई करोड रुपैयाँभन्दा धेरै पर्ने कम्पनीले दावी गरेको छ ।
यो बाहेक टाटाको अर्को उत्पादन इन्डिका सिआरफोर गाडीको विक्रीका लागि कम्पनीले जोड दिइरहेको छ । १४ सय सिसीको यो गाडीको मूल्य २० लाख ७० हजार रुपैयाँ छ । विभिन्न चार मोडलमा उपलब्ध यो गाडीले ७० पिएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो गाडीले प्रतिलिटर २४ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।
२८ देखि ६० लाखका निशान गाडी
यसपालीको अटो शोमा निशानका चार किसिमका गाडी प्रदर्शनीमा राखिएको छ । कम्पनीले २८ लाख ५० हजारको मार्ज गाडीदेखि ६० लाख रुपैयाँसम्मको नभरा पिकअप गाडी प्रदर्शनीमा राखेको छ । यस्तै ३७ लाख ५० हजार रुपैयाँ पर्ने सन्नी र ६० लाख रुपैयाँ पर्ने सिल्फी प्रिमियम पनि कम्पनीले प्रदर्शनीका लागि भृकुटीमण्डप पु¥याएको छ ।
कम्पनीले नभरा गाडी पाँच रङका, सिल्फी तीन रङका, सन्नी पाँच रङका र मार्ज गाडी पनि पाँचै रङका ल्याएको जनाएको छ । कम्पनीमा गाडी स्टक रहेकाले तत्कालै डेलिभरी सुविधा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ ।
कियाको स्पोर्टेज र सोल
किया मोटर्सले यस पटक स्पोर्टेज र सोल गाडी ‘फोकस’ गरेर राखेको छ । डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध यो गाडीको मूल्य ६५ लाख ५० हजारदेखि ८३ लाख ५० हजारसम्म पर्ने कम्पनीको भनाइ छ । नेपाली बजारमा स्पोर्टेज गाडी १२ सय ५० देखि दुई हजार सिसीसम्मको उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै १६ सय सिसीका सोल गाडी पेट्रोलतर्फ ४८ लाख र डिजेल इन्जिनतर्फ ५२ लाख रुपैयाँ पर्ने कम्पनीको भनाइ छ ।
पुराना गाडीको नयाँ भर्सनमा फोर्ड
अधिकांश पुराना गाडीलाई नयाँ रुपमा नेपाल भित्र्याएको फोर्डले तिनै गाडीलाई यस पटकको अटो शोमा प्रदर्शनीका लागि राखेको छ । कम्पनीले इकोस्पोर्ट, फिगो, फिस्टा, रेन्जरगाडी प्रदर्शनीमा राखेको छ । कम्पनीका अधिकांश उत्पादन डिजेल र पेट्रोल दुवै इन्जिनमा उपलब्ध छन् ।
भोक्सवागेनको जेट्टा
यो वर्षको अटो शोमा भाेक्सवागेनले नयाँ गाडी जेट्टालाई मुख्य प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले यो गाडी बुधबार नै लन्च गरेको हो । दुई हजार सिसीको यो गाडी डिजेल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ६४ लाख ४५ हजार रुपैयाँ मूल्य पर्ने यो गाडी युरोपबाट नै नेपाल भित्र्याइएको कम्पनीको भनाइ छ ।
फियाटको पुन्टो इभो डाइनामिक्स
यस्तै फियाट गाडीको पुन्टो इभो डाइनामिक्स गाडी पनि प्रदर्शनीमा छ । नेपालको लागि फियाट अटो मोवाईल्सको आधिकारीक विक्रेता लाईफ अटो मोवाईल्सले फियाट पुन्टो ईभो कार बजारमा ल्याएको छ । कम्पनीका अध्यक्ष विष्णु अग्रवाल र आनन्दराज बतासले फियाट पुन्टो ईभोको उद्घाटन गरे ।
सर्वाधिक रुचार्र्ईएको ह्याचब्याक फियाट पुन्टोको सफलतापछि फियाट पुन्टो ईभो बजारमा ल्याईएको हो । स्पोर्टि लुक र अत्याधुनिक पछिल्लो प्रविधिमा आधारित पुन्टो पेट्रोल र डिजेल दुबै ईन्जिनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । ईभोको डिजेल ईन्जिनले प्रति लिटर २१.१ किलोमिटर र पेट्रोल ईन्जिनले प्रति लिटर १५.८ किलोमिटरसम्म माईलेज दिने कम्पनीले जानकारी दिएको छ । फियाट पुन्टो ईभोको मूल्य २४ लाख ९५ हजारबाट सुरु हुनेछ ।
छुटका बम्पर योजना
अटो शोमा सहभागी अधिकांश कम्पनीले ग्राहकका लागि विशेष छुटको अफर पनि अघि सारेका छन् । हुण्डाईले आफ्नो मिस्सी बादशाह, एक्का उपहार योजना अघि सारेको छ । यो योजनामा ग्राहकलाई गाडी खरिदमा पाँचलाख रुपैयाँसम्म छुट, १० जोडीलाई १० दिनको बैंकक र मलेशिया होलिडे टुर प्याकेज तथा बम्परमा आइट्वान्टी अथवा भर्ना गाडीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
यस्तै टाटाले पनि आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ । यस्तै किया मोटर्सले पनि गाडी हेरेर ४ लाख रुपैयाँसम्म छुटको योजना अघि सारेको छ ।
फोर्डले भने इकोस्पोर्ट बाहेकका गाडी बुक गर्ने ग्राहकलाई लक्की ड्रमार्फत इकोस्पोर्ट गाडी दिने जनाएको छ । यस्तै फक्सवागेनले पनि बम्परमा वर्ल्ड टुर तथा अन्य आकर्षक उपहार योजना अघि सारेको छ ।
सिजीले भने सेलेरियो गाडी लन्च भएको अवसरमा एक लाख रुपैयाँ नगद छुट तथा स्क्राच कार्डमार्फत ५० हजार रुपैयाँसम्म थप छुटको योजनअ अघि सारेको छ । १९ लाख ९९ हजार मूल्य पर्ने यो गाडीले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ ।