
देशको सबैभन्दा ठूलो गाडि मेला पूरै ग्लायमरस बनेको छ । मेलामा गाडि तथा मोटरसाइकल विक्रेता कम्पनीले आफ्ना उत्पादन विक्री गर्न स्वदेशीदेखि विदेशी मोडलसम्म ल्याएका छन् ।
नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)ले आयोजना गर्ने यो मेला व्यवसायीका लागि मात्र नभई उपभोक्ताका लागि समेत उपयोगी हुने आयोजकले दाबी गरेको छ ।
राजधानीको भृकुटीमण्डपमा ६ दिन चल्ने सो मेलामा साना र ठूला सवारी, बैंक/वित्त फाइन्नान्ससमेतका गरी झन्डै एक सय स्टल छन्।
यो वर्षको मेलामा नेपालमा सवारीसाधन बिक्री गर्ने सबैजसो कम्पनीको सहभागिता छ । आयोजकले दिएको जानकारी अनुसार मेलामा ६३ वटा प्रदर्शकले भाग लिएका छन् । यो नवौं संस्करण अहिलेसम्मकै भव्य हुने आयोजकको विश्वास छ ।
मेलामा हुन्डाई, किया, होन्डा, निसान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फोर्ड, फियाट, डाइहाट्सु, फक्सवागन, हिरो, बजाज, यामाहालगायत ब्रान्डले सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।
मेलामा १२ ब्रान्डका चार पांग्रे तथा ११ ब्रान्डका दुइ पांग्रे साधन छन् । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्रविधि, स्पेयर पाटर्स, लुब्रिकेन्ट्स, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा नेपालमै उत्पादित सामग्री पनि छन् ।
यो मेला अन्तर्राष्ट्रिय स्तरको भएको दावी आयोजकले जनाएको छ। नाडाले पहिलोपटक सन् १९९८ नोभेम्बर ५ देखि ८ सम्म भृकुटीमण्डपमै अटो सो आयोजना गरेको थियो । पहिलो संस्करणमा २६ प्रदर्शकको सहभागिता थियो । अहिले बजार विस्तारसँगै प्रदर्शकसमेत झन्डै ३ गुणाले बढेका छन् ।
दसैंको नजिक आयोजना गर्न लागिएको यस मेलामा व्यवसायीले सक्दो धेरै सवारी बिक्रीका लागि छुट र स्किमको बहार ल्याएका छन ।