थाई महोत्सवमा कूटनीतिक समुदायको चहलपहल, राजदूतले छमछमी नाचे, ३२ विक्रीकक्ष



रासस
२०७५ असोज १३ गते १३:०९ | Sep 29, 2018

काठमाडौँ। राजधानीको पाँचतारे होटल साङ्ग्रिलाको विशाल पटाङ्गिनीमा बिहान १० बजेदेखि नै काठमाडौँमा रहेका कूटनीतिक समुदायका सदस्यको चहलपहल बढेको छ। 

Vigo
GBIME
Tata

थाइल्याण्ड र नेपालका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले यहाँस्थित थाई राजदूतावासले आयोजना गरेको थाई महोत्सवमा किनमेल गर्न र स्वादिला परिकारको मजा लिन उनीहरुले शनिबारको सदुपयोग गरेका हुन्। 

थाइल्याण्डका विश्वविद्यालय, अस्पताल, उत्पादनलगायत ३२ वटा बिक्रीकक्ष र विविध थाई परिकार पस्कने आठवटा ‘स्टल’ मा कूटनीतिक नियोगमा आबद्ध व्यक्तिमात्र होइन धुलिखेलमा नै निवास भएका काठमाडौँ विश्वविद्यालयका प्राज्ञको पनि बाक्लै जमघट भएको छ। 
    
थाइल्याण्डको परम्परागत नृत्यसँगै प्रारम्भ भएको महोत्सवको नेपालका लागि चीन, सङ्घीय गणतन्त्र जर्मनी, म्यान्मा, युरोपेली सङ्घको प्रतिनिधिमण्डल, अष्ट्रेलिया र इजिप्टका राजदूतसँगै राष्ट्रसङ्घका आवासीय समन्वयकर्ताले संयुक्तरुपमा उद्घाटन गरे। 

थाई पोशाक पहिरिएका राजदूत र अन्य कूटनीतिक अधिकारीले थाई नचरा–नचरीलाई छमछमी नाचेर साथ दिँदा महोत्सवस्थलको वातावरणमा रौनक छाएको थियो। अपराह्न ६ बजेसम्म जारी रहने महोत्सवको मजा लिन विशेष गरी कूटनीतिक नियोगका पदाधिकारीको उपस्थिति बढिरहेको छ। 

त्यस अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत भाकभट तान्सकुलले ५९औँ वर्षदेखि थाइल्याण्ड र नेपालबीचको फलदायी मैत्रीपूर्ण सम्बन्ध जारी रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध धर्म, संस्कृति, आर्थिक र पर्यटनजस्ता आयामबाट अझ सबल हुने बताए। 

शान्ति र समृद्धितर्फको यात्रामा अघि बढ्ने नेपालको प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “दुई देशका जनताबीचको सम्बन्धलाई संस्कृति, खाना, थाई उत्पादन र सेवाले अझ निकट तुल्याएको छ।”