काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको ९.५ किलोमिटर सुरुङ खन्न बाँकी रहँदै पोहोर आयोजनाले आगामी दशैंअघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य सार्वजनिक गर्यो।
.jpg)
सजिलो ठाउँबाट सुरुङ खनिरहेको, सहायक सुरुङबाट काटेको चट्टान फाल्ने सुविधा भएको, सात ठाउँबाट सुरुङ खनिरहेको बेलामा पनि वार्षिक ५ देखि ७ किलोमिटरभन्दा बढी सुरुङ खन्न नसकिरहेको बेला मुहान तर्फको सुरुङमा जोखिम पूर्ण चट्टान भएको, ब्रेक थ्रु गर्दै जाँदा काम गर्ने ठाउँ घट्दै जाने, उपकरणहरु बिग्रदै जाने पूर्व जानकारी हुँदाहुँदै ९ किलोमिटर भन्दा बढी सुरुङ खन्ने लक्ष्य राख्नु आफैंमा ठूलो रिस्क थियो।
एक वर्षको अवधिमा ९ किलोमिटर भन्दाबढी सुरुङ खन्न नसकिने कुरा तीन वर्षदेखि वार्षिक खन्दै आएको सुरुङमार्गको तथ्याङ्कले स्पष्ट बोलिरहेको थियो। मेलम्ची खानेपानी आयोजनाका निर्देशक रमाकान्त दवाडी पनि लक्ष्य निर्धारण गर्दा हचुवाको भरमा गरेको स्विकार्छन्।
बिगतका आयोजना प्रमुखहरु निर्माण कम्पनीले ठूलो लक्ष्य भेटाउन सकिँदैन भनिरहँदा पनि जवर्जस्ती लक्ष्य निर्धारण गरि चर्चामा आउन मात्रै दशैंमा काठमाडौंमा पानी झार्ने कुरा मिडियामा ल्याएको दवाडीको दावी छ।
"राष्ट्रिय गौरवको आयोजना, २० औं वर्षदेखि प्रतिक्षा गरिरहेको, धेरै पटक निर्माण कार्य पर धकेलिएको हुँदा यो पटक पनि जनतालाई निराश हुने गरि फलानो मितिमा पानी ल्याउँछौ भन्न नहुने हो" दवाडीले भने, "सामान्य विश्लेषण पनि नगरेर हचुवाको भरमा बोलेकोले काठमाडौंबासीले दशैं अघि पानी नपाएका हुन्।"
(1).jpg)
खानेपानी मन्त्रालय भन्छ, पानी खान पाएकै छन् दुई महिना पर सर्दा के फरक पर्छ र?
खानेपानी मन्त्रालयका सचिव भीम उपाध्याय भने काठमाडौंबासीहरुले पानी पाईरहेकाले दुई महिना आयोजना पर सर्दा केहि फरक नपर्ने बताउँछन्।
"यतिका वर्षसम्म मेलम्चीको पानी नहुँदा पनि उपत्यकामा पानीको समस्या भएन। दुई महिना मेलम्चीको पानी नआउँदा कुनै समस्या हुँदैन।" उपाध्यायले भने, "दशैंमा पानी ल्याउने प्रतिवद्धता पूरा गर्दा आयोजनाको लागत अत्याधिक महँगो हुने भएकाले सबैको सहमतिमा आयोजनालाई दुई महिना पर सारेका हौं, जनतालाई झुक्याएका छैनौं। पानी आउने समय दुई महिना सरेको मात्रै हो।"
आयोजनामा प्राविधिक समस्या आएको उपाध्यायको दावी छ। जति प्रयास गरेपनि नसकिने भएपछि मन्त्रालयले ढिलार्इ गर्ने निर्णय गरेको उनी बताउँछन्। ‘हामीसँग दुईवटा मात्र विकल्प रहे।कि अर्बौ रुपैयाँका उपकरण र नयाँ प्रविधि ल्याएर दशैंमा नै काठमाडौंमा पानी ल्याउने, वा भएकै प्रविधि र उपकरणले काम चलाएर दुई महिनापछि काठमाडौंमा पानी ल्याउने।’- उपाध्यायले भने, पहिलो विकल्पले आयोजनाको लागत मात्रै बढाउने भएकाले दोस्रो विकल्पमा निर्माण कम्पनीसँग सहमति गरेरै अघि बढिरहेका छौं।
कतिपटक सर्यो आयोजना
पहिलो पटक सन् २००१ मा एसियाली विकास बैंक(एडिबि) सँग ऋण सम्झौता गरेसँगै सन् २००७ मा उपत्यकामा पानी ल्याउने गरी काम गर्ने समझदारी भयो। तर आयोजनाको कुनै पनि काम नगरी समय सकियो।
फेरि सन् २००८ मा एडिबिसँग आयोजनाको पूनर्संरचना भयो। सन् २०१३ सम्म उपत्यकामा पानी ल्याउने गरी काम गर्ने सम्झौता भयो।
चिनियाँ कम्पनी चाईना रेल्वेसँग सन् २०१३ सम्म काम सक्नेगरी सन् २००९ मा सुरुङमार्गको ठेक्का समझौता भयो। तर तीन वर्षमा ६ किलोमिटर मात्रै सुरुङ खनेपछि आयोजनाले सन् २०१२ मै रेल्वे सँगको ठेक्का सम्झौता खारेज गर्यो।
सन् २०१३ मा ईटालियन कम्पनी सिएमसीसँग २०१६ अक्टोवरसम्म सुरुङमार्गको बाँकी रहेको निर्माण कार्य पूरा गर्ने ठेक्का सम्झौता भयो।
सन् २०१५ अप्रिल २५ (२०७२ बैशाख १२) मा नेपालमा भूकम्प गयो र लगत्तै नाकाबन्दी भएपछि आयोजनाको समय अन्तरिमकाल भनेर ६ महिनामात्र थप्ने निर्णय भयो। जसअनुसार २०१७ अप्रिल(२०७४ बैशाख) सम्म सुरुङमार्गको काम सक्नु पर्ने थियो।
तर आयोजनाको काम समयमै सम्पन्न नभएपछि फेरि २०१७ डिसेम्बर(२०७४ पौस) सम्म आयोजनाको म्याद थप गरिएको छ।
आयोजनाको सुरुङमार्गको काम दुई किलोमिटर मात्र बाँकी छ। आयोजनाको म्याद ४ महिनामात्र बाँकी रहेको बेला दैनिक १० मिटरभन्दा कम सुरुङ खनिरहेकोले अझै पनि समयमै आयोजना सकिने कुरामा उपत्यकाबासी ढुक्क हुने अवस्था छैन।
.jpg)
कसरी हौसिए, कसरी निराश भए
बि.सं. २०७० को असारमा ईटालियन कम्पनी सिएमसीसँग बि.सं. २०७३ सालको असोजसम्म काठमाडौंमा पानी ल्याउने गरी काम गर्ने ठेक्का सम्झौता भयो।
२१ किलोमिटर सुरुङ खन्न तीन वर्षको सम्झौता गरियो। वार्षिक सात किलोमिटर सुरुङ खन्ने गरी सम्झौता भयो। २०७२ बैशाखमा भूकम्प आएपछि आयोजनाको काम ६ महिना जति प्रभावित भएपनि २०७१/७२ मा ६.५ किलोमिटर सुरुङ खनियो।
चाईना रेलवेले तीन वर्षमा खनेको सुरुङ बराबर सिएमसिले एक वर्षमा खनेपछि सिएमसिले काम सम्पन्न गर्ने कुरामा धेरैको आशा पलायो। २०७१/७२ सम्म १३ किलोमिटर सुरुङ खन्ने काम सकिएको थियो। सिएमसिले पहिलो १५ महिनामा ८ किलोमिटर सुरुङ खनेको थियो।
बि.सं.२०७२/७३ मा भूकम्प र नाकाबन्दीका बाबजुद ५ किलोमिटर सुरुङ खनियो। त्यतिन्जेल १८.५ किलोमिटर सुरुङ खनिसकिएको थियो।
२०७३/७४ मा भने आयोजनाले कुनै पनि किसिमको बाधा खेप्न परेन। आयोजनाले ७.२ किलोमिटर सुरुङ खन्न सफल भयो। तर आयोजनाको लक्ष्य भने ९.५ किलोमिटर सुरुङ खन्ने रहेको थियो।
विगतको लक्ष्यप्राप्तीको अध्ययन गर्ने हो भने पनि ९ किलोमिटर भन्दा बढी लक्ष्य भेटाउन सम्भव नै थिएन। त्यसमाथि ब्रेक थ्रु गर्दै जाँदा काम गर्ने ठाउँ घट्दै जाने र सबैभन्दा जोखिम मानिएको मुहानतर्फको सुरुङ खन्न बाँकी रहेकाले लक्ष्य निर्धारण गर्दा सामान्य अध्ययन पनि नगरेको प्रष्ट देखिन्छ।
आज भन्दा ठिक एक वर्ष अघि अगस्ट (भदौ २०७३) महिनामा १००४ मिटर सम्म सुरुङ खनिएको थियो। यो नै आयोजनाको ऐतिहासिक दूरी भएको दवाडीले बताए। एकै महिनामा १००४ मिटर दूरी पार गरेसँगै मेलम्चीप्रति काठमाडौंबासीको आशा ह्वात्तै बढेको थियो।
यो बीचमा निर्माण कार्यले गति लियो। पानी प्रसोधन केन्द्र र पाईपलाईनको काम पनि तिब्र रुपमा अघि बढ्यो। यी सबै दृश्य देखेपछि काठमाडौंबासीले झण्डै बिर्सिसकेको मेलम्ची सपना फेरि ब्युँतिएको थियो।

सुरुङमार्गमा ब्रेक थ्रु, कामको गतिमा ब्रेक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष असोजमा आयोजनाको निरिक्षण गरे। गतवर्ष पुस २५ गते आयोजनाको सुन्दरीजल-सिन्धु खण्डको सुरुङ ब्रेक थ्रु भयो।
ब्रेक थ्रु हुँदा आयोजनाले २२ किलोमिटर सुरुङ खनिसकेको थियो। लगत्तै नरम चट्टान आएको कारणले खन्दै आएको गतिमा ब्रेक लागेको थियो।
५.५ किलोमिटर सुरुङमध्ये सात महिनामा ३.५ किलोमिटर मात्र खनियो। दशैंसम्म काठमाडौंमा पानी खसाल्ने योजना क्रमश न्यून हुँदै गयो। अझै दुई किलोमिटर सुरुङ खन्न बाँकी छ।
दशैंसम्म मेलम्ची नआउने पक्का भएपछि काममा गति दिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यहि साउन २५ गते आयोजनाको निरिक्षण गरिसकेका छन्। उनले वर्षायाममा काठमाडौंमा त्यतिधेरै पानीको समस्या नहुने भन्दै हिउँद लाग्नुभन्दा पहिले नै काठमाडौंमा पानी खसाल्न निर्देशन दिएका छन्।
२०७३ पुस २५ गते जब सुरुङमार्गको ब्रेक थ्रु भयो, सात ठाउँबाट भईरहेको काम चार ठाउँमा सिमित भयो। दैनिक ४० मिटरसम्म खनिएको सुरुङ २०, १५ हुँदै अहिले १० मिटरमा सिमित भएको छ। आयोजनाका निर्देशक दवाडीले भने- "ब्रेक थ्रु भएपछिनै आयोजनाको गतिमा ब्रेक लाग्यो।"
आयोजना प्रमुखले देखेका ५ कारण जसले गर्दा मेलम्चीको पानी असोजमा काठमाडौं आउन सकेन
- सात ठाउँबाट हुँदै गरेको काम चार ठाउँबाट मात्र हुनु।
- सुरुङ खन्दै जाँदा लक्ष्य नजिक हुँदै गयो। ठेकेदार कम्पनीले थोरै मात्र सुरुङ खन्न बाँकीरहेकाले नयाँ उपकरण ल्याउन मन गरेन। उहि पुराना उपकरणलाई मर्मत गर्दै काम गर्न थाल्दा काममा ढिलाई भयो।
- ब्रेक थ्रु गर्ने बेलासम्म सबैतिर कडा चट्टानमा काम भैरहेकोमा लगतै नरम चट्टान फेला पर्यो। नरम चट्टानमा काम गर्न कठिनाई भयो।
- पहिला सहायक सुरुङहरुबाट मुख्य सुरुङको कंक्रिट फाल्ने गरेका थिए। दूरी नजिक हुँदै जाँदा अहिले ८ किलोमिटरसम्म यात्रा गरेर फाल्नु पर्छ।
- हचुवाको भरमा लक्ष्य निर्धारण गरियो। चर्चामा आउनकै लागि काठमाडौंबासीलाई झुठा सपना देखाईयो। कुनै अनुसन्धान नगरेरै दैनिक ३२ मिटरको लक्ष्य राखियो। ब्रेक थ्रु हुँदै गर्दा दैनिक खन्ने दूरी पनि कम हुँदै जान्छ। यता तिर कसैले ध्यान पुर्याएनन्। दशैं दशैं भनेर चर्चा बटुली रहे।

किन झुक्याईयो जनतालाई
पानीको हाहाकार भईरहेको बेला पानी आउने दिन गनेर बसेका काठमाडौंबासीलाई आयोजनाले किन झुक्यायो? यो प्रश्नको जवाफ दिन कोहि पनि तयार छैनन्।
चर्चामा आउन हचुवाको भरमा लक्ष्य निर्धारण गरेकोले यो अवस्था आएको हो। धेरै आशावादी भएर लक्ष्य राखिएको थियो। ठेकेदार कम्पनीले नमान्दा नमान्दै जबर्जस्ती उक्त लक्ष्य तय गरिएको थियो। दैनिक ३२ मिटरको लक्ष्य सहज थिएन। भूमिगत काम भएकाले मिति तोकेर जनतालाई कुराउन नहुने निर्देशक दवाडीको भनार्इ छ।
‘आयोजनामा काम गर्दै जाँदा प्राविधिक समस्याहरु आए, जनता झुक्याउने उद्देश्य हैन। चर्चामा आउन पनि यसो गरिएको होईन।’- सचिव उपाध्यायका अनुसार काम गर्दै जाँदा प्राविधक कठिनाई आएपछि समयमा काम नसकिएको हो।
उपकरण पूरानो हुँदा शतप्रतिशत काम गर्न पनि सकिएन। दुई किलोमिटर मात्र सुरुङ खन्न बाँकी रहेका बेला अर्बौ रुपैयाँका उपकरण ल्याएर आयोजनाको लागत मात्र बढ्ने भएकाले दुई महिना ढिला गर्नुपरेको उपाध्यायको तर्क छ।
तर भूमिगत काम हो भन्ने सबैलाई थाहा भएकै बिषय थियो, चट्टानको संरचना बारेमा पनि सबैलाई थाहा थियो। तैपनि आयोजनाका जिम्मेवार व्यक्तिहरु नै झुठा आश्वासन बाँडिरहेका थिए।
अब पुसमा मात्र पानी आउने
आयोजनाको म्याद २०७४ पुस सम्म थपेसँगै अब २०७५ बैशाख अघि पानी नआउने हो की भन्ने आशंका उब्जिएको छ। तर खानेपानी मन्त्रालयका सचिव उपाध्याय आयोजना आगामी पुस भन्दा पर नजाने दावी गर्छन्। पटक पटक मिति सरिरहेको मेलम्ची आयोजना पूरा भएर धारामा पानी नआउन्जेल उपत्यकाबासीले बिश्वास गर्ने ठाउँ भने छैन।











