BIZMANDU
www.bizmandu.com

उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट!

२०८३ भदौ २५

उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट!
उद्योगमन्त्रीको विवादास्पद अभिव्यक्तिसँगै ग्यासका बारेमा प्रधानमन्त्री कार्यालयमा सोझै रिपोर्टिङ, गौरीलाई सूचनाबाट आउट!


काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास अभाव सुल्झाउन भन्दा चर्काउन लागेको देखेपछि प्रधानमन्त्री कार्यालय आपूर्ति बढाउन सक्रिय बनेको छ। उच्च स्रोतका अनुसार ग्यासको माग र आपूर्तिदेखि अवरोधको जानकारी उद्योग मन्त्रालयलाई नगरी सोझै प्रधानमन्त्री कार्यालयलाई गर्न थालिएको छ।

Vigo
GBIME
Tata

मन्त्री यादवले उद्योग समितिमा ग्यास आपूर्तिका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि प्रधानमन्त्री कार्यालय सक्रिय बनेको हो। उनले उद्योगीलाई पाता नकसेसम्म ग्यास अभाव नहट्ने धारणा राखेकी थिइन्। उनले कर्मचारीले समेत आफूलाई सहयोग नगरेको भन्दै व्यवस्थापनको असक्षमता अरुतिर थोपरेर उम्किन खोजेकी थिइन्।

उद्योगमन्त्री यादवको भनाइ लगतै प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयमा रहेका विशाल अधिकारीले उद्योगीलाई छलफलमा बोलाएका थिए। नेपाल ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, पूर्व अध्यक्षहरु शिवप्रसाद घिमिरे र गोकुल भण्डारीसँगको छलफलमा अधिकारीले ग्यास आपूर्तिमा सहयोग भइरहेको भन्दै अझै सक्रिय भएर लाग्न आग्रह गरेका थिए।

‘तपाईंहरुले अहिलेको असहज अवस्थामा पनि ग्यास आपूर्ति गरेर सहयोग गरिरहनुभएको छ। तपाईंहरु संघको नेतृत्वमा रहनुभएको र आपूर्ति गर्नसक्ने क्षमता राख्नुहुन्छ भन्ने हामीलाई थाहा छ। अहिले जसरी भाडा बढी दिएर भएपनि ग्यास ल्याइरहनुभएको छ, अरु पनि गाडी थपेर आपूर्ति बढाइदिनुहोला,’ अधिकारीले भनेका थिए, ‘एक साताभित्र कृष्णभीर पनि बनेर सवारीसाधन संचालनमा आउने अवस्था छ। त्यो बेलासम्म अहिलेको प्रणालीलाई अझै चुस्त बनाउनुहोला।’

उनले कृष्णभीरकै कारण सानो गाडीमा ग्यास ल्याउँदा परिरहेको बढी भाडावाहेक अरु नजोडी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका थिए। स्रोतका अनुसार अधिकारीले ग्यास आपूर्तिमा समस्या भएमा सोझै यतै जानकारी गराउन समेत भनेका थिए। छलफल अनुसार त्रिभुवन राजपथमा बुधबार साँझ पहिरो गएको जानकारी पनि उद्योगीहरुले प्रधानमन्त्री कार्यालयमै गराएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट डेडिकेटेड नम्बर आएको र त्यही नम्बरमा फोन गरेर जानकारी गराएको एक उद्योगीले बताए। ‘हाम्रो लाइन मिनिष्ट्री अनुसार उद्योगमन्त्रालयमा जानकारी गराउनुपर्ने हो। तर हाम्रो अभिभावक बन्नुपर्ने मन्त्रीले नै हाम्रो तेजोबध गर्ने काम गर्नुभयो। हामी दिनरात नभनी ग्यास ल्याउन खट्दा उल्टै पाता कस्ने कुरा गरेपछि त्यहाँ भनेर भएन,’ ती उद्योगीले बिजमाण्डूसँग भने, ‘हामीले त्रिभुवन राजपथमा पहिरोका कारण ग्यास लगायतका उपभोग्य सामाग्री बोकेका गाडी रोकिएको जानकारी दिनेवित्तिकै बिहान हटाएर सुचारु भइसकेको छ।’ उनका अनुसार यसअघि उद्योगमन्त्रीलाई ग्यास आपूर्तिमा भइरहेका प्रयासका बारेमा सबै जानकारी दिने गरिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री शाहको सचिवालयबाट उद्योगमन्त्री यादवलाई ग्यास आपूर्ति गर्न नसकेको र उद्योगीलाई लगाएको आक्षेपका बारेमा प्रश्न गरिएको छ। उनीमाथि ग्यास आपूर्ति गर्न नसकेर सरकारलाई समेत असफल बनाएको भन्दै नैतिक दबाब परेको छ। यसअघि पनि उद्योगमन्त्री यादवलाई पक्राउको तयारी भएको समाचारहरु सार्वजनिक भइसकेका छन्।

उद्योगीहरु आजित

उद्योगमन्त्री यादवसँग ग्यास उद्योगीसँग आजित भइसकेका छन्। प्राविधिक पक्ष नबुझ्ने र कुनै आक्षेप आउँदा अरुलाई लगाएर पन्छिने प्रवृत्तिले उद्योगीहरु आजित भएका हुन्।

‘इरानको तनावसँगै आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको थियो। तत्कालीन उद्योगमन्त्री अनिल सिन्हाले आपूर्ति सहज बनाउन १५ दिन आधा सिलिण्डर बेच्नेगरी निर्णय भएको थियो। त्यो निर्णय अनुसार उद्योगीले अब फुल सिलिण्डर बेच्नुपर्छ भन्दा उद्योगमन्त्रीले माथिको आदेश कुरेर बस्नुभयो,’ ती उद्योगीले भने, ‘तीन महिनासम्म आधा सिलिण्डर बेचेर बजार बिग्रिसकेको थियो। तैपनि फुल सिलिण्डर कार्यान्वयनमा आएको केही समयमा बजार सहज बनिरहेका बेला सिमरामा बालिका बलात्कृतपछि हत्या भएको घट्नामा राजमार्ग अवरुद्ध बनेर आपूर्तिमा अवरोध भएको थियो।’

उनका अनुसार राजमार्ग बन्द भएका बेलामा उद्योगीले भित्री बाटोबाट ग्यास ल्याएर आपूर्तिको प्रयास गरिरहेका बेला उद्योगमन्त्री यादव भने हेटौंडाको कपडा उद्योग निरीक्षण गर्न पुगेकी थिइन्। ‘हामी ग्यास कसरी ल्याउन सकिन्छ भनेर प्रहरी र प्रशासनसँग बसेर रातीराती भित्रीबाटो बुलेट पास गराइरहेका थियौं। मन्त्री भने हेटौंडा कपडा उद्योग निरीक्षण गर्दै निजी क्षेत्रले बन्द गर्न खोज्लान भन्दै स्टन्ट देखाइरहनुभएको थियो,’ उनले भने, ‘यो सबै हेर्दा कस्को पाता कस्नुपर्छ भन्ने कुरा बुझ्न आवश्यक छ।’

ती उद्योगीहरुका अनुसार फूल सिलिण्डर बेच्ने निर्णयसँगै ग्यासको अभाव देखिनेवित्तिकै विभिन्न स्थान तोकेर ग्यास बेच्ने निर्णय उद्योगमन्त्रीले गराएकी थिइन्। त्यो निर्णय आफैंमा असफल प्रणाली थियो। यो असफल प्रणालीले सरकारलाई झन् ड्यामेज गरेको थियो। उद्योग, डिपो र डिलरमार्फत बिक्रेतासम्म पुग्ने प्रणालीलाई रोकेर निश्चित स्थानमा ग्यास बेच्ने निर्णयले झन् आपूर्ति बिग्रियो।

त्यो बेलामा उनै यादवले ग्यास उद्योगमा पुराना दलका नेताहरुको लगानी रहेकैले असहयोग भएको धारणा राखेकी थिइन्। यो धारणाको उद्योगीहरुले प्रतिवाद गरेका थिए। ती उद्योगीका अनुसार नयाँ दल भनेपनि सोच पुराना दलभन्दा झन् खराब रहेछ। ‘अहिलेको उद्योगमन्त्रीको सोच हेर्दा दल मात्रै नयाँ हो, सोच त पुरानाभन्दा धेरै खराब रहेको पाएका छौं। उहाँहरु निजी क्षेत्रलाई थुन्ने मानसिकताबाट आउनुभएको रहेछ भन्ने देखेका छौं,’ उनले भने, ‘यो मानसिकताबाट देशभित्र उद्यमशीलता विकास हुँदैन।’