काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङको ठेक्का प्रक्रिया ‘ब्रेक थ्रु’ गर्न ६ महिना लाग्ने भएको छ।
टेलिकमले बिलिङ प्रणालीको ठेक्का आइतबार रद्द गरेपछि पुन प्रक्रिया थालेर ‘ब्रेक थ्रु’ गर्न ६ महिना लाग्ने भएको हो। टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले अब बिलिङको ठेक्का आह्वान गर्न मात्रै कम्तीमा ६ महिना लाग्ने बताए।
‘संचार तथा सूचना प्रविधि मन्त्रालयले पुरानो ठेक्काका बारेमा छानविन समिति बनाएको थियो। त्यो छानबिन समितिले दिएको सुझावका आधारमा नयाँ ठेक्का आह्वान गर्नुपर्ने हुन्छ,’ उनले बिजमाण्डूसँग भने।
जगदीश खरेल संचारमन्त्री भएको भोलिपल्टै बिलिङ प्रणाली फेर्ने ठेक्का स्थगित गर्दै पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा समिति बनाएका थिए। मन्त्री खरेलले प्राविधिक प्रस्ताव खोल्ने अघिल्लो दिन टेण्डर स्थगित गर्न निर्देशन दिएका थिए।
ठेक्का स्थगित नगरेको भए चिनियाँ कम्पनी हुवावेले बिलिङको ठेक्का पाउँथ्यो। टेलिकमले गत वर्ष चैतमा निकालेको पाँच अर्बको बिलिङ ठेक्कामा चिनियाँ कम्पनी हुवावे र ह्वेल क्लाउडले मात्रै आवेदन हालेका थिए।
समितिले दिएको सुझावकै आधारमा मन्त्री खरेलले बिलिङको ठेक्का रद्द गरेका हुन्। मन्त्रालय स्रोतका अनुसार अब हुने बिलिङको टेण्डर अमाउन्ट बढ्नसक्ने छ। अहिलेको पाँच अर्बको टेण्डरमा अमेरिकी र युरोपेली कम्पनी सहभागी हुन सकेका थिएनन्।
सार्वजनिक खरिद ऐनमा न्यूनतम बोलकबोल गर्ने कम्पनीले ठेक्का पाउने प्रावधान छ। बिलिङका लागि अमेरिकी, स्वीडिस, बेलायती र आयरल्याण्डका कम्पनी इच्छुक थिए। अमेरिकाको सीएसजी इन्टरनेसनल, ओर्याकल, नेटक्रयाकर टेक्नोलोजी (पहिलाको एन्डक्स नेटक्रयाकर), बेलायतको सेरेलियन र आयरल्यान्डको बियरिङ पोइन्टसहित ६ कम्पनी इच्छुक थिए।
बिलिङकै कारण समस्यामा टेलिकम
डेढ दशकअघि एसिया इन्फोको बिलिङ प्रणाली चलाएको टेलिकमले नयाँ ल्याउनका लागि प्रक्रिया थालेको पाँच वर्षभन्दा बढी भइसकेको छ।
पाँच वर्षमा नयाँ बिलिङ प्रणाली ल्याउन गरेको प्रयासमा राजनीतिक हस्तक्षेपका कारण सम्भव भएको छैन। आइतबार ठेक्का रद्द भएपछि नयाँ प्रक्रिया अनुसार बिलिङ प्रणाली आउने ग्यारेन्टी समेत कम छ।
टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भएका बेला एसिया इन्फोलाई नै ४+१ वर्षको एएमसी सम्झौता गरेको थियो। टेलिकमका प्रवक्ता मानन्धरले एसिया इन्फोसँग भएको सम्झौता अनुसार सन् २०२७ सेप्टेम्बरसम्म प्रयोग गर्न मिल्ने जानकारी दिए। ‘अहिलेकै अवस्थामा टेण्डर लगायतका प्रक्रिया पूरा गर्ने हो भने नयाँ बिलिङ राख्न १४ महिना लाग्छ,’ उनले भने।
तर, टेलिकमकै एक कर्मचारी ठेक्का रद्द भएपछि नयाँ बिलिङ प्रणाली समयमा आउने अनिश्चित बनेको दाबी गर्छन्। ‘टेलिकमको बिलिङ प्रणालीमा ठूला देशको लडाइ छ। अमेरिका जसरी भए पनि आफ्नो प्रणाली ल्याउन चाहिरहेको छ। चिनियाँले पनि इगोको रुपमै लिएको देखिन्छ,’ उनले भने, ‘एउटा सानो देशमा भूराजनीतिक स्वार्थ कस्तो हुन्छ भन्ने कुरा टेलिकमको बिलिङ प्रणालीलाई हेरे पुग्छ।’
डेढ दशक पुरानो प्रणाली चलाउँदा टेलिकमको विश्वसनीयता घट्दै गएको र व्यापारमा पनि ठूलै प्रभाव परेको छ। प्रणाली पुरानो हुँदा बिलिङमा चुहावटदेखि पटक-पटक सेवा नै अवरुद्ध हुँदै आएको छ।
टेलिकमका अनुसार बिलिङ प्रणालीकै कारण सन् २०२४मा १५ पटक देशव्यापी सेवा अवरुद्ध भएको थियो भने सन् २०२५को २५ सेप्टेम्बरमा १ बजेदेखि ६ बजेसम्म डेटा नै अवरुद्ध भएको थियो।
टेलिकमको बिलिङ प्रणालीका कारण १० प्रतिशतसम्म लिकेज समेत भएको छ। दूरसंचार प्राधिकरणका अनुसार टेलिकमका जीएसएम ग्राहक दुई करोडभन्दा बढी छन्।