
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारी बाध्यात्मक नभई स्वेच्छिक बनाउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै बिष्टले युवालक्षित रोजगार कार्यक्रम अघि बढाउन सरकार तत्पर रहेको पनि बताए।
'युवाहरुको दक्षता वृद्धि गर्ने र पछाडि परेका एवं सीमान्तकृत वर्गलाई लक्षित गरी रोजगारमूल कार्यक्रम अघि बढाइनेछ,' बिष्टले सम्बोधनका क्रममा भने, 'देशभर रोजगारीका अवसर सिर्जना गर्न सरकार लागि परेको छ।'
श्रमिकका हकहित रक्षा गर्न एवं श्रम क्षेत्रको नियमनका लागि सरकारले कानुनी आधारहरु तयार गरिरहेको पनि उनले बताएका छन्। नेपालले श्रम ऐन तथा नियमावली लागू गरिसकेको र त्यसले रोजगारदाता तथा श्रमिक दुवैको हित रक्षा गर्ने उनले बताए।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यान्वयन सुरु भएको र त्यसले नेपालका अनौपचारिक क्षेत्रलाई समेत कानुनी दायरामा ल्याउने बिष्टले सम्मेलनमा जानकारी गराएका छन्।