स्टकमा चिलिमेको असर, विहिवार एभरेष्ट बैंकको बैठक, बुधवार सेयर मूल्य झर्यो

बिजमाण्डू
२०६९ असोज ३ गते ००:०० | Sep 19, 2012
स्टकमा चिलिमेको असर, विहिवार एभरेष्ट बैंकको बैठक, बुधवार सेयर मूल्य झर्यो


काठमाडौं । ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस दिने चिलिमेको निर्णयलाई लगानीकर्तालाई राम्रो प्रतिक्रिया जनाएनन् । बुधवार चिलिमेको सेयर मूल्य ५१ रुपैयाँले तल झर्यो । चिलिमे सञ्चालक समितिले मंगलवार लगानीकर्तालाई गतवर्षभन्दा कम बोनस सेयर र नगद गरेर ५० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको थियो ।
बुधवार चिलिमेको सेयर मूल्य प्रतिकित्ता ११३४ रुपैयाँमा कारोवार भयो । बुधवार मात्रै चिलिमेको सेयर एक करोड ९४ लाख रुपैयाँ बराबरको कारोवार भयो । चिलिमेको अधिकत्तम १२ सयसम्म र न्युनत्तम ११ सय रुपैयाँमा पनि कारोवार भएको थियो । अघिल्ला तीन दिनमा चिलिमेको सेयर मूल्य ८५ रुपैयाँले बढेको थियो । बुधवार बुटवल पावरका सेयरधनीले पनि ठूलै रकम गुमाउनुपर्यो । प्रतिकित्तामा ३५ रुपैयाँले सेयर मूल्य तल झरेर प्रतिकित्ता ७१० रुपैयाँमा कारोवार भयो ।
विहिवार सञ्चालक समितिको बैठक बस्दै गरेको एभरेष्ट बैंकको सेयर मूल्यमा समेत बुधवार ठूलो गिरावट आयो । एभरेष्टको प्रतिकित्ता २२ रुपैयाँले सेयर मूल्य तल झरेर ११३३ रुपैयाँमा कारोवार भयो । एभरेष्टबाट पनि चिलिमेकै हाराहारीमा लाभांसको प्रस्ताव हुने बजारमा अड्कलवाजी गरिएको छ । चार्टड बैंकको सेयर मूल्य समेत बुधवार १९ रुपैयाँले तल झरेर १७९० रुपैयाँमा कारोवार भयो । बुधवार नेप्सेमा एकसयभन्दा बढी कम्पनीको कारोवार भएको थियो । तीमध्ये आधाभन्दा बढीको सेयर मूल्य तल झरेको छ । दुई दर्जन कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
चिलिमेको प्रभावले बुधवार नेप्सेका अधिकांश सूचक राता भए । होटल र फाइनान्स समूहमा सामान्यवृद्धि भए पनि बैंकिङ जलविद्युत, इन्सुरेन्स समूह तल झरे । नौ करोड ४७ लाख रुपैयाँको सेयर कारोवार भए पनि सूचक ३.६८ अंकले तल झरेर ४२१.७९ अंकमा बन्द भयो ।

Tata
GBIME
Nepal Life