सेयरको डिम्याट कारोबारमा अझै के के छन् अन्यौल?

बिजमाण्डू
२०७१ कात्तिक १७ गते ००:०० | Nov 3, 2014
सेयरको डिम्याट कारोबारमा अझै के के छन् अन्यौल?


काठमाडौं‌ । बैशाख २ गतेबाट अनिवार्य रुपमा डिम्याट कारोबार हुन्छ । त्यसका लागि लगानीकर्ताले अगाडि नै सेयरको विद्युतीय अभिलेख गराउनु पर्छ, जसलाई डिम्याट गर्ने भनिन्छ । डिम्याटका बारेमा लगानीकर्ताहरुमा अन्यौल बढ्दै गएको छ । कतिपय लगानीकर्ताहरु डिम्याट झन्झटिलो हुने भन्दै सेयर विक्री गरेर बाहिरिन थालेको पनि ब्रोकरहरुले सुनाउन थालेका छन् । 
 
वास्तवमा सेयर कारोबारलाई झन्झटिलो बनाउनभन्दा पनि थप सरल बनाउनका लागि डिम्याट कार्यान्वयनमा आउन लागेको हो । यस बारेमा लगानीकर्ताका जिज्ञासालाई सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारीहरुसँग राखेर बिजमाण्डू सम्वाददाता विजयराज खनालले उत्तर खोजेका छन्:
 
यसरी सुरु हुन्छ प्रक्रियाः
लगानीकर्ताले सबैभन्दा पहिले सेयरको विद्युतीय अभिलेख गराउन (डिम्याट गराउन) एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपी (डिपोजीटरी पार्टिसिपेन्ट्स) मा जानु पर्छ । हाल केही ब्रोकर कम्पनी र क्यापिटल लिमिटेडहरुले डीपी सदस्यता लिएका छन् । पछि यस्ता सदस्य थपिदै जानेछन । डीपीकोमा सेयर डिम्याट गर्न आग्रह गरिने फारम पाइन्छ । यो फारमको शुल्क पर्दैन । तर तपाईले हितग्राही खाता खोल्न भने ५० रुपैयाँ तिर्नुपर्दछ र खाता खोलेपछि बार्षिक शुल्क एक सय रुपैयाँ बुझाउनु पर्छ । हाल फारम लिने क्रममा नै डीपीहरुले ५० रुपैयाँ लिएको पनि सुनिएको छ । तर खाता खोलेपछि मात्र यी शुल्क बुझाउँदा हुन्छ । 
तपाईसँग हाल सेयर नै नभएपनि यसरी खाता खोल्न भने कुनै समस्या हुदैन । तर सेयर भएको खण्डमा भने डिम्याट रिक्वेष्ट फारममा भएको तालिकाको आइएसआइएन खण्डमा कुन कम्पनीको सेयर राख्ने हो, त्यसको आइएसआइएन संकेत उल्लेख गर्नुपर्दछ । आइएसआइएन संकेत कम्पनी अनुसार त फरक हुन्छ नै एकै कम्पनीको सर्वसाधारण, संस्थापक, अग्राधिकार लयागत सेयरको वर्ग अनुसार पनि फरक हुन्छ । आफूलाई थहा नभए डीपीसंग यस्तो संकेत सोध्न सकिन्छ । आफ्नो खातामा फरक फरक कम्पनीको सेयर राख्नु पर्ने भएमा फरक फरक डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ । यसरी यो फारम भरेपछि उल्लेख गरिएका कम्पनीको प्रमाण पत्र समेत डीपीलाई दिनु पर्छ ।
 
कम्पनी अनुसार सेयर रजिष्ट्रार फरक हुने भएकोले अलग अलग डिम्याट रिक्वेष्ट फारम भर्नु परेको हो । तपाईबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले सेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित गरिएपछि तपाईको खातामा सेयर जम्मा हुन्छ । खाता खोलेको र बार्षिक शुल्क बाहेक अन्य खर्च भने यो प्रक्रियासम्म लाग्दैन । 
 
कति खाता खोल्ने ?
लगानीकर्ताहरुले एक भन्दा बढि डीपी मार्फत् पनि खाता खोल्न सक्छन । तर अलग÷अलग डीपी मार्फत् खोलिएको खाताहरु एक अर्कासंग सम्बन्धित हुदैन । तपाईको विवरण सबै एउटै रहने भएपनि खाता नम्बर भने अलग अलग नै हुनेछ । यस्तो गर्दा दुवैमा खाता खोलेको शुल्क र बार्षिक शुल्क बुझाउनु पर्ने हुन्छ । 
 
कति गोपनीय ? 
खातामा कति सेयर छ भन्ने जानकारी जुन डीपी मार्फत् तपाईले खाता खोल्नु हुन्छ, उसलाई थहा हुन्छ, अर्काे डीपी सदस्यलाई भने हुदैन । ढुक्क हुनुहोस्, तपाईको खातामा भएको सेयर संख्याको अनुचित प्रयोग भने हुदैन । जसरी बैंकमा खातामा भएको रकम सम्बन्धित बैंकलाई थहा हुन्छ, यो पनि त्यस्तै नै हो ।  
 
प्रयोग गर्ने तरिका
खाता खोल्ने वित्तिकै डीपीले तपाईलाई डेलिभरी इन्स्ट्रक्सन स्लिप दिन्छ । यो स्लिप करिब करिब बैंकले दिने चेक जस्तै हो । सेयर बिक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा तपाईले कुन कम्पनीको कति कित्ता सेयर बेच्ने हो भरेर दिनु पर्दछ । यो बेयर चेक जस्तै हो । त्यसैले यस्तो स्लिप भरिसकेपछि हराउनु हुदैन । यस्तो भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न भने सक्छ । यसरी भरेको स्लिप हराएमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा तुरन्त जानकारी गराईहाल्नु पर्छ । 
 
अहिले कारोबारको क्रममा यस्तो डेलिभरी इन्स्ट्रक्सन स्लिपको आवश्यकता पर्ने भएपनि पछि भने हुदैन । सीडीएससीले ब्रोकरहरुलाई इन्टरफेस पनि दिएको छ । यस्तो इन्टरफेसमा तपाईले कति कित्ता सेयर बेच्ने हो उल्लेख गरेपछि ब्रोकरले तोकिएको कम्पनीको तोकिएको संख्या भर्दछ । यदी तपाईले भने जति तपाईको खातामा छ भने बिक्री प्रक्रिया अगाडी बढ्छ । 
 
तपाईलाई लाग्न सक्छ, ब्रोकरले तपाईको खातामा भएको जानकारी लिन पटक पटक इन्टरफेसको प्रयोग गर्न सक्दछ । तर तपाईले दिएको बिक्री अर्डरको नम्बर समेत राख्नु पर्ने र सीडीएससीले पनि यसको सुपरीवेक्षण गरिरहने भएकोले यसको दुरुपयोग नहुनेमा आश्वस्त हुन सीडीएससीले भनेको छ । 

Tata
GBIME
NLIC


शुल्क कति लाग्छ? 
स्लिपबाट अर्डर दिदा बिक्रीकर्ताको खाताबाट सेयर बिक्री गर्ने ब्रोकरको खातामा सेयर जान्छ र त्यहाँबाट सीडीएससीको खातामा जान्छ । यही सेयरे ब्रोकर हुदै किन्ने लगानीकर्ताको खातामा पठाइन्छ । यो प्रक्रियामा सेयर किन्न र बेच्न एउटै ब्रोकरबाट गर्न सकिन्छ । यसरी सेयर बेच्दा पनि लगानीकर्ताले २५ रुपैयाँ र किन्दा पनि २५ रुपैयाँ तिर्नुपर्दछ । तर एकै दिन एउटै कम्पनीको सेयर कारोबार गर्दा भने हरेक कारोबारको अलगअलग शुल्क तिर्नुपर्दैन । यद्यपी एउटै कम्पनीको भएपनि सेयर किन्ने र बेच्ने दुवै गरिएको छ भने किने बापत २५ रुपैयाँ र बेचे बापत २५ रुपैयाँ तिर्नुपर्दछ । अन्य शुल्क जस्तो ब्रोकर कमिसन, पूँजीगत लाभकर लगायत भने अहिले जस्तै कारोबारको क्रममा नै काटिन्छ । 
 
खातामा सेयर कहिले आउँछ ?
अहिले डिम्याट नगरिएका सेयर पनि कारोबार भइरहेको छ । यसरी कारोबार भएको सेयर नामसारीमा पठाउदा भने किन्ने लगानीकर्ताले डिम्याट एकाउन्ट अनिवार्य खोलेको हुनुपर्दछ । यस्तो सेयर कारोबार पछिको १३ दिनमा लगानीकर्ताको खातामा जम्मा हुन्छ । लगानीकर्ताले चाहेमा खातामा सेयर जम्मा भएको भोलीपल्ट नै सेयर बेच्न सक्छ । तर डिम्याट भइसकेको सेयर बिक्री भएमा किन्नेको खातामा कारोबार पछिको तेस्रो दिनमा नै सेयर जम्मा हुन्छ र त्यसको भोली पल्ट नै बेच्न सक्छ । 
 
सेयर बेच्ने लगानीकर्ताले भने अहिले जसरी नै ब्रोकर कम्पनी (राफसाफ सदस्य÷सीएम) मार्फत् सेयर बेचेको पैसा पाउने छ । 
अहिले ब्रोकरहरुले भइसकेको कारोबार पनि लगानीकर्ताको अनुरोधमा तत्काल क्यान्सिल गर्ने वा आफैले लगानीकर्तासंग मिलाउने गरिरहेका छन। बिशेष गरेर लगानीकर्ताले अर्डर दिएको जति सेयर नभएको अवस्थामा कारोवार रद्द गराइने गरिएको छ । तर डिम्याट भएका सेयरको कारोबारमा यसरी डिल क्यान्सिल भने गर्न सकिने छैन । त्यसैले लगानीकर्ताले डेलिभरी इन्स्ट्रक्सन स्लिपमा सेयर यकिन गरेर नै बिक्रीको लागि दिनु पर्दछ। इन्टरफेस मार्फत् कारोबार गर्दा भने समस्या हुदैन । 
 
आफ्नो खातामा कति सेयर छ कसरी थहा पाउने?
लगानीकर्ताले जम्मा गरेको वा किनबेच गरेपछि आफ्नो खातामा सेयर रहेको डीपी मार्फत् थहा पाउन सक्छ । डीपीहरुले अनिवार्य रुपमा तीन÷तीन महिनामा लगानीकर्तालाई सेयर होल्डिङ स्टेटमेन्ट दिनुपर्दछ । यसबापत शुल्क लाग्दैन । लगानीकर्ताले तीन महिना बीचमा पनि यस्तो स्टेटमेन्ट माग्न पाउँछ। त्यस्तै, केही समय पछि यस्तो जानकारी दिन एसएमएस सेवा पनि शुरु गर्ने तयारी सीडीएससीले गरेको छ । यस्तो सेवा लिदा पनि शुल्क लाग्ने छ । हाल भने यो सेवा शुरु भइसकेको छैन। त्यस्तै, लगानीकर्तालाई आफ्नो खातामा रहेको सेयर बारे थहा पाउन भविष्यमा अनलाईन सेवा पनि सीडीएससीले दिने बताएको छ ।
 
एक चोटी डिम्याट गरेको सेयर पुन कागजी प्रमाण पत्रको रुपमा ल्याउन मिल्छ ?
लगानीकर्ताले एक चोटी डिम्याट गरिसकेको सेयर पुन कागजी प्रमाणपत्रको रुपमा राख्न चाहेमा रिम्याट गर्न सक्छ । यस्तो गर्दा ५० रुपैयाँ शुल्क तिर्नुपर्दछ। बर्षाैसम्म बेच्ने उदेश्य नरहेको सेयर प्रमाणपत्रकै रुपमा राख्न चहानेले यसरी राख्न सक्छ । 
 
घरायसी नामसारी गर्न के गर्ने?
अहिले जसरी घरायसी नामसारी गरिन्छ, त्यसरी नै सेयर नामसारीमा ल्याएपछि मात्र सेयर डिम्याट पनि गराउन सकिन्छ। यदी डिम्याट भइसकेको सेयर नामसारी गराउँदा भने ट्रान्समिसन रिक्वेष्ट फारम भरेर डीपीकोमा दिनु पर्छ । 
 
मरेको मानिसको नामबाट नामसारी गराउदा, अंशबण्डाबाट पाउने सेयर नामसारी गराउदा वा अदातलको फैसलाबाट प्राप्त भएको सेयर नामसारी गराउदा ट्रान्समिसन रिक्वेष्ट फारमसंगै अन्य कागजातहरु बुझाउनु पर्दछ । नागरिकताको प्रतिलिपि, अदालतको आदेशको भए फैसलाको प्रतिलिपि, चालन पुर्जी लगायतका कागजातहरु चाहिन्छ । 
 
यसरी नामसारी गराउँदा कम्पनीको चुक्तापूँजी अनुसार शुल्क लाग्छ। मृत्यु पछिको नामसारी गर्दा कम्पनीको चुक्तापूँजी अनुसार चुक्तापूँजीको ०.५ देखि ०.१ प्रतिशत वा २५ रुपैयाँ देखि एक हजार पाँच सयसम्म तिर्नुपर्छ । 
 
घरायसी नामसारी गर्दा भने कम्पनीको चुक्तापूँजी अनुसार न्युनतम दुई सय रुपैयाँ वा कम्पनीको चुक्तापूँजीको दुई प्रतिशतसम्म तिर्नुपर्ने हुन्छ । यसमा जुन तरिकाले बढि रकम आउछ त्यती रकम तिर्नुपर्छ ।