युरोपेली बैंकमा डाबर नेपालका अध्यक्ष प्रदीप बर्मनले राखे ‘कालाे धन’

बिजमाण्डू
२०७१ कात्तिक ११ गते ००:०० | Oct 28, 2014
युरोपेली बैंकमा डाबर नेपालका अध्यक्ष प्रदीप बर्मनले राखे ‘कालाे धन’


सविन मिश्र/बिजमाण्डू
काठमाडौं । भारत सरकारले युरोपेली बैंकमा कालोधन राख्ने तीन भारतीयको नाम सोमवार सार्वजनिक गर्यो । ती तीन नाममध्ये एक नामको कनेक्सन सिधै नेपालसँग छ । र त्यो नाम हो, प्रदीप बर्मन ।
बर्मन नेपालमा झण्डै छ अर्ब रुपैयाँको कारोवार गर्ने कम्पनी डाबर नेपालका अध्यक्ष हुन् । केही समय पहिलेसम्म डाबर इण्डियामा बोर्ड सदस्य रहेका बर्मनले त्यो जिम्मेवारी छाडे पनि नेपालको जिम्मेवारी भने छाडेका छैनन् ।
डाबर नेपालमा बर्मनकै छोरा चेतन बर्मन र भतिज अमित बर्मन बोर्ड सदस्य छन् । डाबर नेपालमा डाबर इण्डियाको साढे ९७ प्रतिशत सेयर छ भने बाँकी साढे दुई प्रतिशत सेयर नेपाली साझेदार रुक्म शम्सेर राणाको नाममा छ ।
डाबर इण्डिया बर्मनको परिवारिक विरासत हो । प्रदीपका जिजुबुआ डा. एसके बर्मनले सुरु गरेको डाबरले अहिले वार्षिक एक अर्ब डलरको कारोवार गर्छ । डाबर इण्डियाका थुप्रै सब्सिडरीमध्ये डाबर नेपाल सबैभन्दा बढी मुनाफा कमाउने सब्सिडरी हो ।
 
बर्मन सबैभन्दा ठूलो नाम
भारत सरकारले विदेशमा अवैध धन हुने तीन नाम सार्वजनिक गरेपछि सबैभन्दा केन्द्रमा बर्मन छन् । भारत सरकारले डाबर इण्डियाका मालिक प्रदीप बर्मनसँगै सुनको कारोवार गर्ने पंकज जमनलाल लोढिया र गोवाकी उद्योगपति राधा एस टिम्बलुको नाम अबैध धन हुनेभन्दै सार्वजनिक गरेको हो ।
यी तीन नाममध्ये सबैभन्दा ठूलो नाम प्रदिप बर्मनको हो । भारतीय सञ्चारमाध्यमले पनि बर्मनलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गरेका छन् । 
भारत सरकारलाई अवैध धन हुने व्याक्तिको नाम स्विजरल्याण्ड, जर्मनी लगायतका देशबाट प्राप्त भएको हो । बर्मनको अवैध खाता र धन स्विजरल्याण्डमा भएको दावी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् । 
भारत सरकारले विदेशमा अवैध धन हुने तीन नाम सार्वजनिक गरे पनि उनीहरुले कति पैसा जम्मा गरेका छन्, त्यो जानकारी भने दिएको छैन् ।
युरोपेली बैंकमा कालोधन जम्मा गर्ने आठ सय भारतीयको नाम भारत सरकारसँग छ । यसमध्ये सात सय खाताधनीको नाम फ्रान्स सरकारले जेनेभामा भारतलाई बुझाएको थियो । त्यसैगरी बाँकी खाताधनीको नाम जर्मन सरकारले भारतलाई बुझाएको थियो । 
खाताधनीको नाम आए आएपछि भारत सरकारको सेन्ट्रल बोर्ड अफ डायरेक्टर ट्याकसेजले खाताको जाँच गरेको थियो । जाँचमा अवैध धन भएको पत्ता लागेपछि भारत सरकारले त्यहाँको सर्वोच्च अदालतमा आरोप पत्र दायर गर्ने गरेको छ । बर्मन भारत सरकारको आरोप सामान गर्ने उद्योगपति हुन् ।
 
के हो कालोधन ?
कालोधन त्यो आय हो, जुन कर छलेर जम्मा गरिएको हुन्छ । आम्दानी भएपछि त्यसको जानकारी कर कार्यालयलाई दिनुपर्दछ र त्यसको आयकर तिर्नुपर्दछ । तर आम्दानी गर्ने तर कर कार्यालयलाई जानकारी नदिई र कर नतिरी जम्मा गरेको रकम कालोधन हो । अपराधिक गतिविधि, घुसखोरी, चोरी, जालसाजी र घोटाला गरेर पनि कालोधन जम्मा हुन्छ ।
 
को हुन् प्रदीप ?
७२ वर्षका प्रदीप बर्मन डाबर इण्डियाका पूर्व निर्देशक हुन्, भने डाबर नेपालका अध्यक्ष हुन् । उनले अमेरिकाबाट इन्जिनियरिङ्गमा पढाइ गरेपछि सन् १९६७ मा म्यानेजमेन्ट टे«नीका रुपमा उनी डाबर ग्रुपमा छिरेका थिए ।
 
बर्मनको सफाई 
नाम सार्वजनिक हुनासाथ बर्मनले युरोपेली देशका बैंकमा आफ्ना खाता भए पनि त्यो वैध खाता भएको दावी गरेका छन् । डाबर समूहका तर्फबाट प्रवक्ताले प्रेस नोट जारी गरेर गैर भारतीय नागरिक (एनआरआई)को हैसियतमा खाता खोलेको दावी बर्मनले गरेका छन् ।
उनले कानूनी प्रक्रिया पूरा गरेर तथा कर कार्यालयलाई जानकारी दिएर खाता सञ्चालन गरिरहेको बताउँदै वैध र अवैध खाता हुनेलाई एउटै रंगले पोत्न नहुने स्पष्ट पारेका छन् । 
 
स्विजरल्यान्डको केन्द्रिय बैंक स्विस नेसनल बैंकले प्रकाशित गरेको बैंक्स इन स्विजरल्यान्ड २०१३ रिपोर्टमा नेपालीको नौ अर्ब २२ करोड रुपैयाँ अर्थात आठ करोड ५० लाख स्विस फ्र्याङ्क मौज्दात रहेको विवरण सार्वजनिक गरेको छ । 
तर यो प्रतिवेदनमा कुन बैंकको कुन खातामा कति रकम राखिएको छ र यो रकम कसको हो भन्ने विवरण भने खुलाइएको छैन् । स्विजरल्याण्डमा ठूलो रकम भेटिएपछि अब प्रश्न उठ्न थालेको छ, के स्विस खातामा पूर्वराजा रानी विरेन्द्रको रकम मौज्दात छ रु के नेपालीले गैरकानूनी रुपमा कमाएको पैसा राख्न स्वीस बैंकहरु प्रयोग हुने गरेको हो रु कतै डाबर नेपाल जस्ता कम्पनीबाट घोटाला गरेर प्रदिप बर्मन जस्तै व्याक्तिहरुले त स्विस बैंकमा नेपालीको नाममा रकम जम्मा गरिएको त होइन् ? विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।
 
गत वर्ष बिजमाण्डूको एउटा एक्सकलुसिभ रिपोर्टमा डाबरले नेपालमा घाटा देखाएर कसरी भारतमा मुनाफा गर्दैछ भन्ने जानकारी दिएको थियो । नेपालमा उत्पादन हुने जुसलाई अण्डर भ्यालुएशनमा भारतमा विक्री गर्दा कम्पनी दुई वर्ष अघि नोक्सानमा गएको थियो । 
कम्पनीले नेपालबाट चार अर्ब ७१ करोडमा खरिद गरेको जुन भारतमा सात अर्ब ६९ करोडमा विक्री गरेर उता नाफा कमाए पनि नेपालमा भने घाटामा थियो । कसरी कम्पनीले ठगेको थियो नेपालमा विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस् । 

Tata
GBIME
NLIC