मदिरासँग मस्तीः २५ जातका आठ सय बढी रक्सी, ह्याङ्ग भयो भने के गर्ने?

बिजमाण्डू
२०७१ असोज १२ गते ००:०० | Sep 28, 2014
मदिरासँग मस्तीः २५ जातका आठ सय बढी रक्सी, ह्याङ्ग भयो भने के गर्ने?


Tata
GBIME
NLIC

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण आर्केडको भूइँतलाको एउटा सटरमा यस्सो हेर्ने हो भने छेवैमा बढेमानको मदिराको बोतल छ । झट्ट हेर्दा यो बोतलभरी रक्सी नै छ कि भन्ने भ्रम परेपनि एकछिन नियाल्दा भित्र साना अरु रक्सीका बोतल राखिएका छन् ।

सानो सटर भित्रबाट दायाँबायाँ रक्सीका विभिन्न थरिका बोतल हेर्दै विस्तारै करिव २० पाइला झरेपछि चाहिँ देखिन्छ मदिराको नै मदिराका भेराइटीहरु ।

झण्डै आठ हजार वर्गमिटर क्षेत्रफलमा मदिरा नै मदिरा बेच्न राख्ने ग्रिनलाइन सेन्टर प्रालि हो । यहाँ करिव २५ प्रकारका आठसय भन्दा बढी रक्सीका भेराइटीज छन् । यो स्टोर दक्षिण एशियाकै उत्कृष्ट मानिन्छ ।

भर्‍याङबाट झरेर अन्डरग्राउन्ड पुगेपछि सबैभन्दा अगाडि देखिन्छ वाइनको सेक्सन । यो सेक्सनको दायाँतिरचाहिँ काउन्टर छ । काउन्टरको दायाँ मोनिन स्टुडियो र सँगै ह्विस्की, स्पिरिट, जिन, टाकिला, सिंगल माल्ट, भोड्का, नेपाली उत्पादन र सिगार सेगमेन्ट छुट्टाछुट्टै राखिएका सोकेसहरु छन् । जहाँ गएर उपभोक्ताले आफूले चाहेको, खोजेको र रोजेका रक्सीहरु किन्न सक्छन् ।

वाइन सेक्सनमा वाइनको लागि नाम चलेको देशका तीनसय ५० भन्दाबढी भेराइटीका वाइन राखिएका छन् । लहरै मिलाएर राखिएको वाइनको सेक्सनसँगै बायाँ चाहिँ सफ्ट ड्रिङ्किङ, मिक्सचर, ग्लासवेयर र ग्रिनलाइनले विभिन्न अवसर पारेर दिएको छुटको जानकारी दिन राखेको सेक्सन छ ।

ग्रिनलाइनका ब्रान्ड एन्ड वेभरेज डेभलोपमेन्ट म्यानेजर वरुण थापाका अनुसार यहाँ आएपछि ग्राहकले मन परेका रक्सीहरु छानी छानी किन्न सक्छन् ।

किन खोलियो ग्रिनलाइनको दोस्रो सोरुम?
विदेशमा मात्रै होइन नेपालमा पनि मदिरा पिउने जमातहरु दिनप्रतिदिन बढिरहेका छन् । त्यसमामथि नेपालीहरु विदेश जाने र फर्केर आएपछि नेपाली भन्दा विदेशी मदिरा नै खोज्ने भएकोले ग्रिनलाइनले नयाँ सोरुम खोलेको प्रबन्ध निर्देशक अमित अग्रवाल बताउँछन् ।

उनी भन्छन्, 'नेपालीहरु मदिरामा चुजी हुन थालेका छन् । परम्परागत रुपमा पिउने मदिराको सट्टा भेराइटी खोज्न थालेका छन् । त्यसैले विश्वका नाम चलेका मदिरा हामीले बेच्न राखेका छौँ ।'

१८ वर्ष अघि कान्तिपथमा खुलेको ग्रिनलाइनले अहिले दक्षिण एसियाकै ठूलो रक्सी 'दोकान' दरबारमार्गमा खोलेको दाबी गरेको छ । यहाँ नेपालका अरु पसलमा पाइने मदिरा भन्दा फरक स्वाद र फरक तरिकाले राखिएको छ ।

मदिरा उत्पादनमा नाम चलेका देशका, नाम चलेका ब्राण्ड यहाँ राखिएको प्रबन्ध निर्देशक अग्रवाल बताउँछन् । उनी भन्छन्, 'नेपालमा जोनी वाकर रेडलेवल, व्ल्याक लेवल, सिवाज, भ्याट ६९ लागतयका मदिरा पिउने चलन छ । तर यो परम्परालाई तोड्दै अरु पनि राम्रा र स्तरीय मदिराहरु छन् है भनेर उपभोक्तालाई जानकारी दिन पनि यो सोरुम खोलेका हौँ ।'

कस्ता कस्ता मदिरा पाइन्छन्?
यहाँ विशेषगरी ह्वस्कीमा सिगल, मल्ट, ब्रान्डीमा कोन्याक्स, प्रिमियम ब्रान्डका भोड्का जस्तै टकिलाज, विभिन्न थरिका लिक्वयर्स र वाइन किन्न पाइन्छन् ।

चिलियन, फ्रान्सेली, इटालियन, न्युजिल्यान्ड, स्पेनिस, दक्षिण अफ्रिकेली, क्यालिफोर्नियन,पोर्चुगिज लगायतका नाम चलेका वाइनहरु राखिएका छन् ।

अग्रवाल भन्छन्, 'भिन्न भिन्नै देशका भिन्नभिन्नै भेराइटिजका मदिरा राखेका छौँ । हामीले एउटा लिमिटेसन भन्दा वाइड रेन्जका उत्पादन राखेका छौँ ।'

ह्विस्की, जिन, भोड्का, रम, टकिला, लिक्वर्स, कम्पारी, ग्रापा लगायतका २५ भन्दा बढी जातका मदिरा यहाँ छन् भने कुनै देशको लोकप्रिय प्रडक्ट पनि बेच्न राखिएको छ । नेपालको छ्याङ वा लोकल रक्सी भनेझै जापानको साकी, म्याक्सिको टाकिला, इटलीमा ग्रापा, टर्किसमा निनारिकी, फ्रान्सको कोन्याक लगायतका मदिरा यहाँ छन् ।

यस्तै फ्रान्सकै बोर्दो, बोझोलिभेले, कोदुरो, इटलीको क्यान्ति, क्याल्कोलिचिला, बार्दिलिनो, चिलीको सेभेन ए ब्लेड, कार्मीनेरी भेराइटीहरु पनि यहाँ पाइन्छ । लिक्वयरमा पाँचसय भन्दा बढी भेराइटी छन् । वाइनमा तीनसय भन्दा बढीका भेराइटीहरु राखिएको छ ।

यसैगरी आएर किन्ने ग्राहकले कम्पनीको सल्लाहमा र उपभोक्ताले चाखेर मदिरा बेच्ने चलन छ । कोहीले नयाँ स्वादको मदिरा टेस्ट गर्छु भन्यो भने कम्पनीले चाख्न दिन्छ। यदि उपभोक्तालाई स्वाद मन परेन भने नकिन्ने अधिकार भएको अग्रवाल बताउँछन् । उनी भन्छन्, 'सधैँ एउटै मदिरा पिउनुपर्छ भन्ने छैन । नयाँ चाखेर मात्रै खान्छु भने पनि हामी दिन्छौँ । जबकी उपभोक्ताले नयाँ मदिराको स्वाद पनि थाहा पाउन् ।'

सोख र सानका लागि
नेपालमा पैसावालाहरुबीच नै प्रतिस्पर्धाको भावना बढ्दै गएको अग्रवालको बुझाइ छ । धनीहरुबीच समाजमा को बढि प्रतिष्ठित भनेर देखाउने चलनले पनि महँगा मदिरा खाने चलन बढ्न थालेको उनको भनाइ छ । उनी चीन र भारतको उदाहरण दिँदै भन्छन्, 'करोडपति र अर्बपतिबीचको भिन्नता देखाउन के गर्ने भनेर मानिसहरु मदिरालाई छान्न थाले । जसले विश्वकै महँगो मदिरा खायो त्यो नै धनी हुन्छ भन्ने मानसिकता विकास हुन थालेको छ।'

कुनै जमानामा समाजमा प्रतिष्ठा देखाउन लक्जिरियस कार, घडी र ब्रान्डेड लुगामा खर्च गर्नेहरु अहिले लिक्वयरमा पैसा खर्चन थालेका छन् । अग्रवाल भन्छन्, 'काठमाडौंमा पनि कसैको घरमा बारमा जस्तो मदिरा सजाएर राख्यो भने उसको प्रतिष्ठा बढ्छ भन्ने मानसिकता विकसित हुँदै छ। त्यसैले मानिसहरु ब्रान्डेड मदिरामा पैसा खर्चन डराउँदैनन् ।'

चीनको सन्दर्भ जोड्दै उनी भन्छन्, 'चीनमा जसले महँगा मदिरा खान्छन् उनीहरु त्यसको बोतल सबैले देख्ने ठाउँमा राखेर खान्छन् । नेपालमा पनि विस्तारै यो चलन आएको छ ।'

यहाँ नयाँ प्रडक्ट खानेहरु आउने गरेको अग्रवाल बताउँछन् । उनी भन्छन्, 'यहाँ प्रतिष्ठा र सौखिनहरु आउँछन् । कतिले ग्रिनलाइनबाट किनेर मदिरा खाएको भनेर सान देखाउनेहरु समेत यहाँ किन्न आउँछन् ।'
 

जुनसुकै पानीसँग मिसाएर नपिउनु मदिरा
नेपालमा मदिरा केही तरल पदार्थसँग मिसाएर खाने चलन छ । तर त्यो त्यति राम्रो चलन नभएको अग्रवाल बताउँछन् । उनी त सामान्य पानीसँग मदिरा मिसाएर खाँदा रियाक्सन भएर त्यसको वास्तविक स्वाद नपाइने बताउँछन् । उनले त्यही भएर उनले पानी उत्पादन गर्ने कम्पनीलाई स्कटल्यान्डबाट पानी मगाउन भनेका छन् ।

उनका अनुसार मदिरा बन्ने देशको हावापानी र यहाँको हावापानी नमिल्दा रक्सीको वास्तविक स्वाद बिग्रन्छ । अग्रवाल भन्छन्, 'कसैले सिंगल मल्ट खाँदै छ भने उसले आइस हाल्नुपर्छ । त्यो आइस नेपालकै पानीबाट बनाइदा मल्टको स्वादलाई असर गर्छ । हामी चारहजार तिरेर राम्रो मदिरा पिउँदै छौँ भने त्यसको स्वाद किन विगार्ने ? त्यसैले पानी पनि विदेशबाट मगाउन लागेको छु ।'
 
यहाँ महँगामा मात्रै छैनन्
ग्रिनलाइनबाट किन्दा शतप्रतिशत सक्कली मदिरा मात्रै पाइन्छ । नेपालमा दिनप्रतिदिन नक्कली मदिराको बजार बढ्दो भएपनि यहाँ कुनै पनि मदिरा नक्कली नरहेको अग्रवालको दाबी छ ।

उनका अनुसार यहाँ भ्याट विल सहित मूल्यका ट्याग लागेका मदिराहरु बिक्री हुन्छन् । उनी भन्छन्, 'यहाँ मूल्यमा चिटिडङ हुँदैन । सबैलाई समानान्तर प्राइसमा ट्यागिङ गरेका छौँ ।'

यहाँ सबैभन्दा सस्तो इम्पोर्टेडमा सातसय मिलिलिटर ह्विस्कीको एकहजार छ सयदेखि ४ लाख ४४ रुपैयाँसम्मका छन् भने वाइनमा सबैभन्दा सस्तो छ सय २० दखि १५ हजारसम्मको छ ।

यसैगरी विदेशी मात्रै होइन । स्वदेशी ब्रान्डका मदिरा पनि बेच्न राखिएको छ । अग्रवाल भन्छन्, 'मानिसहरु ग्रिनलाइन भनेपछि महँगो रक्सी बेच्ने ठाउँ हो भनेर भन्छन् । तर होइन । यहाँ सस्तादेखि महँगासम्म धेरै भेराइटी बेच्ने पसल हो ।'

ग्रिनलाइनमा भएको मदिरामध्ये लुइ तेह्रौं नै सबैभन्दा महँगो हो । सातसय ५० मिलिलिटर यो मदिराको मूल्य चारलाख ४४ हजार रुपैयाँ छ । त्यसैगरी दोस्रोमा कोन्याकको रोयल सेल्यूट हो । यसको मूल्य तीन लाख ३० हजार २५ रुपैयाँ पर्छ ।

त्यस्तै गन सेल्यूटको सातसय ५० मिलिलिटरको प्रतिबोतल २ लाख ९५ हजार र इज्ली अफ स्काइको सातसय ५० मिलिलिटरको एक लाख रुपैयाँ पर्छ ।

बढी ह्विस्की बिक्री
यहाँबाट सबैभन्दा बढी ह्विस्की बिक्री हुन्छ । अग्रवालका अनुसार स्कटल्यान्डको ह्विस्की बढी बिक्री हुन्छ । नेपाल ह्विस्की ड्रिङ्क गर्ने देश हो त्यसैले यहाँ धेरै ह्विस्की खपत हुने उनको भनाइ छ ।

यसैगरी पहिला रम पुपलार थियो भने अहिले रमको सट्टा भोड्का लोकप्रिय हुन थालेको छ । भोड्का युवा माझ लोकप्रिय हुन थालेपछि रम पिउने चलनलाई भोड्का उछिन्दै दोस्रो नम्वरमा आइसकेको उनी बताउँछन् ।

४० वर्ष भन्दा माथिका मानिसहरु भने ह्विस्की नै रुचाउने उनले १८ वर्षको यात्रामा अनुभव गरेका छन् । त्यसो त ह्विस्कीमा पनि दुइवटा क्याटागोरी छन् । पहिला ब्रान्डेड स्क्च र सिंगल मल्ट । उनी थप्छन्, 'स्वाद थाहापाएका मानिसहरु स्कच ह्विस्की छाडेर अरु अप्सन खोज्न थालेका छन् ।'

किन महँगो हुन्छ मदिरा ?
मदिरा लगानी, बनाउने प्रक्रिया र बनाउँदा लाग्ने समयले गर्दा महँगो हुने गर्छ । अग्रवालका अनुसार राम्रा रक्सीहरु एकैचोटी उत्पादन हँदैनन् । कहिले राम्रो रक्सी १० वर्षसम्म पनि उत्पादन हुँदैनन् । त्यसैले वर्षौसम्म पनि मदिरा उत्पादक कम्पनीले कामदार, मेसिन, कच्चा पदार्थ उत्पादन लगायतका कुराहरुमा लगानी गरिराख्नु पर्छ । त्यही भएर मदिरा महँगा हुन्छन् ।

ब्रान्ड एन्ड वेभरेज डेभलोपमेन्ट म्यानेजर थापा भन्छन्, 'मदिरा उत्पादन प्रक्रिया पनि लामो हुन्छ । त्यसैले महँगो पर्छ । र लामो सयमयको अन्तरमा मात्रै ती मदिरा उत्पादन हुने भएकोले कम्पनीहरुले धेरै महँगोमा बेच्छन् ।'

आम मानिसले रक्सी जति पुरानो भयो त्यति नै महँगो हुन्छ भन्ने चाहिँ भ्रम मात्रै भएको थापाको भनाइ छ । उनी भन्छन्, 'लिक्वरमा पुरानो बनाएर राख्न मल्दैन । त्यहाँका तत्व उड्दै जान्छ । तर पनि यी मदिरा महँगा हुन्छन् ।

दसैंमा के खाने
दसैंमा मासुसँग भोड्का पिउनु सबै भन्दा उत्तम हो । कुनै बेला पेट दुख्यो भने एकदम चिल्ड (चिसो) भोड्का पिउँदा दुखाइ कम गर्छ । तर अग्रवालका अनुसार धेरै मात्रामा खायो भने असर गर्छ । उनी भन्छन्, 'मेडिसिनको हिसावले पिउँदा भोड्काले पाचन प्रक्रिया राम्रो गराउँछ ।'

दसैंमा चिल्लो, पिरो र मासु धेरै खाइने हुँदा भोड्का पिउन सल्लाह दिन्छन् अग्रवाल । यसैगरी लिक्वेयरमा सुटर रक्सी पाइन्छ । यो खाएपछि खानेकुरा पचाउन सजिलो हुन्छ र स्वास्थ्यलाई हानी गर्देन ।
 

ह्याङ्ग भयो भने के गर्ने?
चाडवाडको समयमा धेरै नै ड्रिङ्क गर्ने चलन हुन्छ । त्यो धेरै खाँदा भोलिपल्ट फ्रेस नहुन वा टाउको दुख्न सक्छ । त्यसैले लाइट अल्कोहल पियो भने फाइदा गर्ने अग्रवालको अनुभव छ । अग्रवाल भन्छन्, 'धेरै खायो भने ह्याङ नै नहुने भन्ने हुँदैन तर पनि लाइट अल्कोहलले कम गराउँछ ।'

उनी चाडवाडमा धेरै पार्टीहरु र गेटटुगेदर हुने भएकोले वाइन पिउन सल्लाह दिन्छन् । इटलीको प्रोसेको भन्ने मदिरा पिउन उनको सुझाव छ । उनी भन्छन्, 'यो स्याम्पेयन जस्तै हो। यसको ७ देखि १० प्रतिशत अल्कोहल भएकोले खासै हानी गर्दैन । कि त ह्वाइट वाइनले पनि टाउको दुखाउँदैन ।'

 सिग्रेटदेखि सिगारसम्म
ग्रिनलाइनमा सिग्रेटदेखि सिगारसम्म पनि पाइन्छ । कतिपय उपभोक्ताहरु रक्सीको चुस्कीसँगै चुरोटको पव तान्न रुचाउने भएकोले सिग्रेटदेखि सिगारसम्म राखिएको अग्रवाल बताउँछन् ।

उनका अनुसार एकखिल्लीको पाँचसय रुपैयाँपर्ने सिग्रेटदेखि एकखिल्लीको छ हजार रुपैयाँ पर्ने सिगारसम्म यहाँ बेच्न राखिएको छ ।

दसैंका लागि छुट
२० प्रकार ह्विसक् र भोड्कामा प्रति बोतल पाँच सय देखि हजार रुपैयाँसम्म छुट दिएको छ । त्यसैगरी प्रत्येक खरिदमा ग्रिनलाइनले आकर्षक उपहारको पनि व्यवस्था गरेको छ ।
 

यहाँ दसैंमा दैनिक चालिस हजारदेखि दुई लाख रुपैयाँसम्म करोबार हुन्छ । रक्सीको प्रतिस्पर्धा बढिरहेकोले अहिले यति नै हुन्छ भन्न नसकिने अग्रवाल बताउँछन् ।  आफूले सुरु गर्दा भन्दा अहिले व्यापार कम भएको उनको अनुभव छ ।

उनका अनुसार दसैंमा बढी व्यापार हुन्छ । यहाँ ठूला उपभोक्ता जसले मदिरा गिफ्ट गर्छन् । त्यस्ता आए भने दुई लाख सम्मको मदिरा एकैदिन पनि विक्छ ।

एकदुइ बोतल किन्न आए भने दसैंमा औसत दुईतीन लाख रुपैयाँको कारोबार हुन्छ । वार्षिक हेर्ने हो भने चालिसपचास लाख रुपैयाँ व्यापार गर्ने लक्ष्य रहेको अग्रवालले बताए ।