काठमाडौं । प्रेस काउन्सिल नेपालका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अफ्रिकी राष्ट्र ताञ्जानियाको सदरमुकाम दारेसलामदेखि तीन सय किलोमिटरको दूरीमा अवस्थित मिकुमी नेशलन पार्कमा सम्पन्न निर्वाचनमा श्रेष्ठविरुद्ध उम्मेदवारी दिने जिम्बाबेका उम्मेदवार तापफुमा माचाकैरेले दुई मतमात्र पाए ।
विश्व प्रेस काउन्सिलको नेतृत्वमा नेपालले हालसम्म पाएको यो सर्वोच्च पद हो । नेपालका पक्षमा अमेरिका, भारत, पाकिस्तान, ताञ्जानिया, साइप्रस, टर्की, जाम्बिया, केन्या, युगान्डा, सिसेल्स, मालावीलगायतले मतदान गरेका थिए । प्रथम उपाध्यक्ष निर्वाचित श्रेष्ठको कार्यकाल तीन वर्षको रहने छ । त्यस्तै, काउन्सिलको अध्यक्षमा ताञ्जानियाका काजुबी मुकाजांगा निर्वाचित भएका छन् । यसअघिका अध्यक्ष तथा भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश जिएन रेले उमेर हदका कारण विश्व प्रेस काउन्सिलबाट समेत अवकास पाएका छन् । उनको ठाउ“मा उपाध्यक्ष काजबुी छनौट भएका हुन् । द्वितीय उपाध्यक्षमा साइप्रसकी प्रोफेसर सुले अकबर निर्वाचित भएकी छन् भने अमेरिकाका क्रिस कोनिबियर पुनः महासचिवमा दोहोरिएका छन् । त्यस्तै, टर्कीका तामेर आताबारुत कोषाध्यक्षमा दोहोरिएका छन् । सम्मेलनमा भाग लिन भारतीय र पाकिस्तानी सर्वोच्च अदालतका पूर्वन्यायाधीहरु सहभागी थिए । त्यसमध्ये भारतीय प्रेस काउन्सिलका अध्यक्ष तथा पूर्वन्यायाधीश मार्कण्डेय काट्जु र पाकिस्तानका रजा मोहम्मद खान थिए ।
