लगानीकर्तालाई जनता बैंकको झुर ‘कास्टिङ’, नाफा घटे पनि लुम्बिनीको लाभांस बढ्यो

बिजमाण्डू
२०६९ भदौ २० गते ००:०० | Sep 5, 2012
लगानीकर्तालाई जनता बैंकको झुर ‘कास्टिङ’, नाफा घटे पनि लुम्बिनीको लाभांस बढ्यो

काठमाडौं । जनता बैंकले लगानीकर्तालाई ३.६८ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांस दिन प्रस्ताव गरिएको हो । स्थापनाको तीन वर्षपछि जनता बैंकले पहिलोपटक लगानीकर्तालाई प्रतिफल दिने घोषणा गरेको हो । बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांसको प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृत र साधरणसभाबाट स्वीकृत भएपछि मात्र वितरण गर्न सकिन्छ ।
जनता बैंकले अघिल्लो वर्षको तुलनामा दुई करोड रुपैयाँ नाफा बढाएर पाँच करोड ७३ लाख रुपैयाँ मुनाफा गरेको थियो । तर राष्ट्र बैंकका अधिकारीहरु भने जनता बैंकको मुनाफा वास्तविक नभएको भन्दै टिप्पणी उठाएका छन् । जनता बैंकले लगानीकर्तालाई निराश पार्ने गरी लाभांस प्रस्ताव गरेपछि बुधवार बैंकको सेयर चिप्लिएको छ । प्रारम्भिक कारोवारमा मंगलवारभन्दा पाँच रुपैयाँ घटेर कारोवार भएको छ । मंगलवार बैंकको प्रतिसेयर एक रुपैयाँले बढेर १३१ रुपैयाँमा कारोवार भएको थियो बुधवार १२६ रुपैयाँमा कारोवार भएको छ ।
अर्कोतर्फ लुम्विनी बैंकले भने १२ प्रतिशत बोनस सेयर र बोनस सेयर वितरण गर्दा लाग्ने करका लागि ०.६३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । लुम्बिनी बैंकले गतवर्षभन्दा नाफा आधा गरे पनि बोनस सेयर भने बढाएको छ । बैंकले गतवर्ष ३८ करोड रुपैयाँ मुनाफा कमाउँदा १० प्रतिशत मात्रै बोनस सेयर दिएको थियो । यस वर्ष बैंकले १९ करोड रुपैयाँ मुनाफा आर्जन गरे पनि बोनस सेयरको संख्या दुई प्रतिशतले वृद्धि गरेर र त्यसमा लाग्ने करका लागि ०.६८ प्रतिशत नगद लभांस दिने प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पुँजी एक अर्ब ४३ करोड रुपैयाँ छ भने मंगलवार प्रस्ताव गरिएको बोनस सेयर थपिएपछि लुम्बिनीको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँ पुग्ने छ ।

Tata
GBIME
Nepal Life