काठमाडौं। नेपाल टर्की चेम्बर अफ कमर्सको अगुवाइमा नेपाली व्यवसायीको प्रतिनिधी मण्डल इस्तानबुलमा हुने टर्की वल्ड ट्रेड बिज्रमा भाग लिन जाने भएको छ। कमर्सका अध्यक्ष अखिल चापागाइँ नेतृत्वमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जिवी नेपाल लगायत २३ सदस्सीय टोली सोमबार टर्की प्रस्थान गर्ने जनाइएको छ।
कन्फडरेसन अफ विजनेशमेन एन्ड इन्डष्ट्रियलिष्ट अफ टर्की (टस्कन)को आयोजनामा हुने ब्रिज मंगलबार र बुधबारसम्म चल्ने छ। आयोजकले ब्रिजमा चार हजार एक सय व्यवसायी प्रतिनिधि सहभागि हुने दाबी गरेको चापागाइँले बताए। त्यस मध्ये दुई हजार प्रतिनिधी विश्वभरका एक सय ४० मुलुकबाट आउनेछन्। दुई हजार एक सय प्रतिनिधी टर्कीका स्थानिय हुनेछन्। सम्मेलनमा ४० हजार बिजेनश टु बिजेनश (बिटुबि) बैठक हुने चापागाइँले बताए।
त्यस अलावा नेपाली प्रतिनिधी मन्डलले टर्की नेपाल विजनेश काउन्सिलसँग पनि छलफल गर्नेछ। टर्कीका अर्थमन्त्रीसँग भेट गर्नेबारे पनि सकारात्मक कुराकानी भएको उनले जानकारी दिए। नेपालमा लगानी अभिबृद्धिका लागि टर्कीसँग दुई पक्षिय लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता (विप्पा) गर्नेबारे पनि नेपाली टोलीले पहल गर्ने उनको भनाइ छ।
