ब्राजिलमा विश्वकपः कस्तो प्रभाव पार्दैछ अर्थतन्त्रमा ?

बिजमाण्डू
२०७१ जेठ २७ गते ००:०० | Jun 10, 2014
ब्राजिलमा विश्वकपः कस्तो प्रभाव पार्दैछ अर्थतन्त्रमा ?
ब्राजिल विश्वकप: ३२ देश ७३६ खेलाडी, १० लाख यौन व्यवसायी र विश्वभरबाट पुग्ने ३७ लाख दर्शक, स्थानीय अर्थतन्त्रमा थपिनेछ तीन अर्ब डलर, के जनता खुसी होलान ? के यही विश्वकपले दिल्मा रुसेफलाई फेरी पुर्याउला ब्राजिलको सत्तामा ?

प्रभात भट्टराई/एजेन्सीको सहयोगमा
विश्वकप फुटवल जहाँ ३२ देशका सात सय ३६ खेलाडी ब्राजिलका मैदानमा उत्रँदैछन् । चार बर्षमा दोहोरिने यो चाड रंगशालामा मात्र सिमित छैन । आउँदो विहिबारबाट एक महिनासम्म चल्ने फुटवलको गर्मीमा सिङ्गो विश्व ताति सकेको छ ।
महासंग्राममा विश्वभरका ३७ लाख भन्दा बढि फुटवलका क्रेजी दर्शक ब्राजिल पुग्ने अपेक्षा गरिएको छ । लाइसेन्स प्राप्त १० लाख यौन व्यवसायी दर्शक बनेर ब्राजिल भित्रिने यिनै ग्राहकको प्रतिक्षामा छन् ।

राष्ट्रपति दिल्मा रुसेफ; उनकाे सत्ता यही विश्वकपमा अडेकाे छ

Tata
GBIME
Nepal Life

ब्राजिलमा पुग्ने त गइ हाल्छन् । त्यस बाहेक विश्वभरका फुटबल फ्यानहरु चोक चोकमा प्रोजेक्टर लगाएर आफ्नो ‘फेभरेट’ टिमको पक्षमा चिच्याउने छन् । टेलिभिजन उत्पादक र बिक्रेताहरुलाई पनि यो विषेश मौका हो । नेपालमा जस्तै विश्वभरनै अहिले बिभिन्न स्क्रिनका टेलिभिजन सेट अफरमा छन् ।
विश्वकपलाई लक्षित गरेर लिकर कम्पनीहरु नयाँ वियर र मदिरा सार्वजनिक गर्दैछन् । रेष्टुरेन्टहरु ठुला पर्दा जडान गरि दर्शक बोलाउने र ब्यापार बढाउने मेसोमा लागि सकेका छन् । त्यसैले फुटवलको यो दौरानमा विश्वकै अर्थतन्त्र थप चलायमान भइ सकेको छ ।  
विश्वकप तयारीमा अर्बौं डलर खर्च भएको भन्दै विरोधमा उत्रिने ब्राजिलियनहरुको अपेक्षा बमोजिम मध्यम वर्गीयलाई विश्वकपले फरक पारोस/नपारोस तर शहरी व्यापार अवश्य चुलिनेछ । विश्वकपको एक महिने उत्सवमा ब्राजिलको अर्थतन्त्र नेपालको आधा बर्षको बजेट बराबरले मोटाउने अनुमान विश्लेषकहरुले गरेका छन् ।
एउटा विदेशी पर्यटकले औषतमा चार खेल हेर्ने र प्रतिव्यक्ति दुई हजार चार सय ८८ अमेरिकी डलरको दरले खर्च गर्ने अनुमान गरिएको छ । यसरि विश्वकममा विदेशी पर्यटकबाट मात्र तीन अर्ब तीन करोड अमेरिकी डलर अर्थात करिब तीन खर्ब रुपैयाँ ब्राजिलको अर्थतन्त्रमा थपिने अपेक्षा छ ।
तर, यो रकमले त्यहाँ विश्वकपको विरोध गर्दै सडकमा टायर वाल्नेहरुको मुख चुप पार्छ या पार्दैन केहि भन्न सकिने अवस्था छैन । विश्वकपमा ओइरिने रकमको धेरै हिस्सा वियरका वोतलमा, होटलका रुममा, रेष्टुरेन्टको खानामा र यौनकर्मीहरुको खल्तिमा छरिन्छ ।
यसलाई आम जनताको दैनिक जीवनसँग त्यहाँको सरकारले कसरी जोड्छ भन्ने योजना अहिले सम्म सुनाएको छैन । विश्वकप कारण फैलने अर्थतन्त्रले त्यहाँको बढ्दो बेराजगारी, महङ्गी र सुस्त गरिबी निवारणमा कस्तो छहारी दिने हो, विरोधीहरुको आवाज अझ उग्र हुने हो या मत्थर त्यसैमा निर्भर गर्नेछ ।
ब्राजिल पुग्ने दर्शकको तथ्याङ्क त्यहाँको पर्यटन मन्त्रालयको सर्भेमा आधारित छ । मन्त्रालयले गत बर्ष सञ्चालित फिफा कन्फडरेसन कपमा सहभागी दर्शकले गरेको खर्च र तथा बिभिन्न देशका नागरिकले आफन्त, साथी संगाती र परिवारजनसँग विश्वकपबारे गरेको कुराकानीका आधारमा सम्भावित पर्यटक संख्या र अर्थतन्त्रमा पोखिने रकमको आँकडा निकालेको हो ।
मन्त्रालयका अनुसार १९ लाख पर्यटक फुटवलमै रमाउनका लागि विश्वकपको अवसर पारेर ब्राजिल जान चाहन्छन् भने बाँकी १८ लाख त्यहाँ छाउने उल्लास र मेलाबाट मनोरञ्जन लिने ध्याउन्नमा छन् ।  
दर्शकले गर्ने कुल कारोवारलाई नभइ ब्राजिलमा अडिने रकमलाई मात्र आधार मानेर अघिल्लो तथ्याङ्क प्रकाशित गरेको मन्त्रालयको भनाइ छ । विश्वकपमा कुल कारोवार भने छ अर्ब डलर भन्दा माथि हुने मन्त्रालयको अनुमान छ । यो नेपालको बार्षिक बजेट बराबर हो ।

विश्वकपका लागि तयार पारिएका भीमकाय स्टेडियम, विश्वकपपछि उपयाेगिता खाेज्दैछन् जनता

एक महिनासम्म यसरि थपिने पैसा, पर्यटकको घुइँचो र विश्वभरका सामान उत्पादकहरुको बिक्री प्रतिश्पर्धाले अल्पकालिन रोजगारीलाई समेत टेवा प्रदान गर्नेछ । तर, विश्वकप सकिए लगत्तै उक्त जनसंख्यालाई जति व्यवस्थापन गर्न सक्यो डिल्मा रुसेफको समाजबादी सरकारले उतिनै राहत पाउनेछ ।
त्यसो भएमा शिक्षा, स्वास्थ्य र पोषण जस्ता सामाजिक क्षेत्रको बजेट रङ्गशाला बनाएर नष्ट गरेको भन्दै विरोधमा उत्रिएका पुर्व खेलाडी रोमारियो लगायत पनि थान्को लाग्न सक्छन् । अन्यथा दुई बर्ष पछि अर्को खर्चिलो महोत्सव ओलम्पिक २०१६ सफल पार्न ब्राजिली नेतृत्वलाई झनै हम्मे हम्मे पर्नेछ ।
ब्राजिल सरकारको विश्वपकप्रति अर्को आशा भनेको अन्तर्राष्ट्रिय चर्चा र लगानी सम्भाव्यता हो । विश्वभरका मिडियाले प्रचार गर्दा मुलुकलाई फाइदा हुने विश्वास सरकारी पक्षको छ ।
सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित १९ औं विश्वकप तीन अर्ब २० करोड जनसंख्याको पहुँचमा पुगेको थियो । जुन त्यसबेलाको विश्वको कुल जनसंख्याको आधा थियो । अहिले यो पहुँच अझ बढ्ने ब्राजिल सरकारको अपेक्षा छ ।  
जनतामा निराशाबीचको चाड
जुलाइ १३ मा विश्वकपको विदाइ विगुल फुकेसँगै ब्राजिलमा अर्को चाड आउनेछ निर्वाचनको । अक्टोवर हुने निर्वाचनमा राष्ट्रपति पदको दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरि सकेकी रुसेफले विश्वकप तयारीका लागि खन्याएको पैसा प्रतियोगिता आयोजना हुँदा क्षतिपुर्ती मिलेको पुष्टि गर्न सके मात्र पुनः निर्वाचित हुन सक्छिन् ।
आउँदो निर्वाचनमा ब्राजिलियन सोसियल डेमोक्रेटिक पार्टी, ब्राजिलियन सोसलिष्ट पार्टी, सोसियलिजम एन्ड फ्रिडम पार्टी लगायतका पाँच दलले उनको बिरुद्ध उम्मेद्वार घोषणा गरि सकेका छन् ।
आर्थिक सुधार, रोजगारी र गरिबी निवारण मुल मुद्दा बन्ने निर्वाचन अघि रुसेफले आफ्नो छवि बदल्ने अन्तिम मौका यो विश्वकपनै हो । उनको विपक्षमा बनेको माहोल विश्वकप अर्थतन्त्रले बदलिदिन सक्छ । तर, अहिले सम्म ब्राजिलको सडक हेर्दा यसका लागि चमत्कारनै आवश्यक पर्ने देखिन्छ ।
लोकप्रिय समाजवादी नेता लुला डि सिल्भाको उत्तरदाधिकारीको रुपमा मुलुककै पहिलो महिला कार्यकारी प्रमुख बनेकी रुसेफ सन् २०१० मा कार्यकाल सुरु गरे लगत्तै सामाजिक मुद्दालाई वेवास्ता गरेको आरोप खप्न बाध्य भइन् । उनले पटक पटक विश्वकप आयोजनाले ब्राजिलको अर्थतन्त्र नबिगारेको दाबी गरे पनि सर्वसाधारण पत्याउन तयार भएनन् ।
र, रुसेफले विश्वकपका कारण अर्थतन्त्रमा यति रकम थपियो भनेर भाषण गरेको भरले पनि जनताले पत्याउने अवस्था छैन । १० औं हजार घरबार विहिनहरुको विश्वास उनले जित्नुपर्नेछ । विश्वकपका कारण तीन अर्ब डलर भन्दा बढिले अर्थतन्त्र मजबुत हुने आँकडा प्रकाशित हुँदा समेत सर्वसाधारणको आक्रोश मत्थर नहुनुमा प्रशस्तै कारण छन् ।
किनभने विश्वकपमा कुल १४ अर्ब अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान छ । यो अहिलेसम्मकै सर्वाधिक ठुलो बजेट हो । यस अघि सन् २००६ मा जर्मनीमा आयोजना गरिएको १८ औं विश्वकपमा लगानी भएको छ अर्ब डलर सर्वाधिकमा पर्दथ्यो ।
अर्बौं डलर लगानी गरेर बनाइएका स्टेडियम विश्वकप सकिए लगत्तै के काम आउँछन् भन्ने प्रश्न सर्वधारणको छ । स्टेडियम पनि साँच्चिकै बडेमानका बनाइएका छन् । यसमा रियो द जेनेरियो स्थित मार्काना रङ्गशाला ब्राजिल मात्र हाेइन सिङ्गाे दक्षिण अमेरिकाकै सबै भन्दा ठुलाे दर्शक क्षमताकाे छ । रङ्गशालामा ७८ हजार अाठ सय ३८ सिट छन् । सन् १९५० काे विश्वकप फाइनल हेर्न याे रङ्गाशालामा करिब दुई लाख दर्शक उपस्थित थिए । रियो बाहेक अरु ११ शहरमा पनि सके सम्मका ठुल्ठुला रङ्गशाला बनाइएका छन् । र, विश्वकप सम्पन्न भए पश्चात यी रङ्गशाला कसरि उपयोग गर्ने तथा ‘मेन्टिनेन्स’ गर्ने भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ रुसेफ प्रशासनले दिन सकेको छैन ।  
आउँदो राष्ट्रपति निर्वाचनमा रुसेफ आफैंले जितुन् या विपक्षीले बाजि मारुन्, ब्राजिलको अर्थतन्त्र सम्हाल्न सजिलो छैन । रुसेफले जति नै अश्विकार गरे पनि दक्षिण अमेरिकाको सबै भन्दा ठुलो अर्थतन्त्र रहेको देशको बढ्दो वित्तिय असन्तुलन पुर्न बजेटमा ठुलो कटौती, कर बृद्धि लगायतका अलोकप्रिय कदम चाल्नै पर्नेहुन्छ । त्यो अवस्थाले ओलम्पिक प्रतिको निराशा विश्वकप भन्दा बढि हुन सक्ने विश्लेषकहरु बताउँछन् ।
विश्वकप फुटवल खेलमात्र रहेन अब । साजसज्जा मिलाउँदा मिलाउँदै यसको लागतले आकाश छुने अवस्था आयो । त्यसैले सन् १९५० पछि पहिलो पटक घरमा विश्वकपको मजा लिन आँटेका पाँच पटकका कप विजेता जनता आफ्नै प्रिय खेलप्रति निराशा पोख्न बाध्य भए ।
छैटौं पटक उपाधि उचाल्ने आशा गरिएको ब्राजिलियन टोलीप्रति स्थानीय जनता विगतका विश्वकपमा जति उत्साहित हुन्थे यसपालि त्यो अवस्था रहेन । ब्राजिलियहरुले विश्वकप आयोजना प्रति देखाएको वितृष्णाले जति नै प्रिय भए पनि भोकोपेट मनोरञ्जनले अघाउन सक्दैन भन्ने भनाइलाई पुष्टि गरिदिएको छ ।

र याे पनि पढ्नुहाेस्

दिल्मा : किन ब्राजिलीको दिलदेखि दिमागसम्म (फर्ब्सको कभर स्टोरी नेपालीमा)

दिल्मा : किन ब्राजिलीको दिलदेखि दिमागसम्म (फर्ब्सको कभर स्टोरी नेपालीमा) – See more at: http://www.bizmandu.com/content/-686.html#.U5Z_w0A3vFw