
काठमाडौं। कृषि विकास बैंकले पारित गरेको ३१.५८ प्रतिशत नगद लाभांश बुधबार देखि वितरण गर्ने भएको छ। बैंकको सेयर रजिष्ट्रार एस क्यापिटलले राजधानीका दुई ठाउँबाट लाभांश वितरण गर्ने जनाएको हो।
एस क्यापिटलको क्यापिटल रहेको लालदरबार र नक्साल स्थित एस डेभलपमेन्ट बैंकबाट लाभांश वितरण गरिनेछ। २१ जेठबाट बाट २२ असार सम्म विदाको दिन बाहेक लाभांश बाँढ्ने कम्पनीले जनाएको छ। सेयरधनी परिचय नम्बरका आधारमा आफुले पाउने मिति हेरेर लाभांश बुझ्न आउन कम्पनीले सुचना प्रकाशित गरेको छ। दुई लाख भन्दा बढि सेयरधनी रहेको हुँदा सहज वितरणका लागि सेयरधनी नम्बर अनुसार स्थान र मिति तोक्नु परेको कम्पनीले जनाएको छ।
राजधानीमा दुईठाउँ बाट लाभांश बाँढेर सेयरधनीलाई सजिलो बनाउन खोजे पनि काठमाडौं बाहिरका लगानीकर्ताले भने सास्ती खेप्नु पर्ने भएको छ। कृषि विकास बैंकले देशभरका आफ्ना ऋणीलाई समेत सेयर दिएको थियो। सर्वसाधारणलाई सेयर दिएको सात बर्ष पछि पहिलो पटक वितरित लाभांश लिन समेत अब राजधानी बाहिरका लगानीकर्ताले काठमाडौंनै धाउनु पर्ने भएको छ। लाभांश लिन नजाउँ यत्रो बर्षमा बल्लतल्ल पाएको प्रतिफल, काठमाडौं सम्म धाएर लिन जाउँ पाउने भन्दा बढि खर्च हुने समस्या बाहिरका सेयरधनीलाई परेको छ। देशभर सेयरधनी रहेको हुँदा सबै जिल्लामा सम्भव नभए पनि हरेक विकास क्षेत्रबाट लाभांश वितरण गर्ने व्यवस्था मिलाउँदा पनि सजिलो पर्ने लगानीकर्ताहरुको भनाइ छ।
त्यसैगरी लक्ष्मी बैंक लिमिटेडले पनि मंगलबार देखि बोनस सेयरको प्रमाण पत्र बाड्ने जानकारी दिएको छ। बैंकको गत चैत १३ गते सम्पन्न साधारण सभाले लगानीकर्तालाई १५ प्रतिसत बोनस सेयर दिने निर्णय गरेको थियो।
लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड पुल्चोकबाट सेयर प्रमाण पत्र वितरण हुनेछ। शुक्रबार बाहेक अन्य कार्यालय खुलुको दिन विहान १० देखि दिउसो तीन बजेसम्म प्रमाण पत्र वितरण हुने जानकारी पनि बैंकले दिएको छ। बोनस सेयर लिने लगानीकर्ताले बोनसमा लाग्ने कर तिर्नुपर्ने छ। बोनसमा लाग्ने पाँच प्रतिसत कर लगानीकर्तासँगै उठाउने निर्णय बैंकले गरेको छ।