अनुमान मात्रै गर्नुहोस्, चटपटे बेचेर कति हुन्छ आम्दानी ?

बिजमाण्डू
२०७१ बैशाख २८ गते ००:०० | May 11, 2014
अनुमान मात्रै गर्नुहोस्, चटपटे बेचेर कति हुन्छ आम्दानी ?

कञ्चन अधिकारी/बिजमाण्डू
काठमाडौं । महिनादिनसम्म चटपटे र पानीपुरी बेचेर कति कमाइएला ?  दश हजार, बीस हजार वा त्यो भन्दा बढी ? चटपटे र पानीपुरी बेचेर महिनाको लाख भन्दा बढी कमाइ हुन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर सुरेन्द्र साह पानीपुरी बेचेरै महिनाको एक लाख रुपैयाँ भन्दा बढी कमाउँछन् । सुन्धाराको चाइना टाउन अगाडी चटपटे बनाउँदै उनी भन्छन्, 'चटपटे र पानीपुरी बेचेर राम्रो आम्दानी गरिहरेको छु ।'

१५ वर्षअघि गाउँका साथीभाईको लहैलहैमा लगेर काठमाडौं छिरेका थिए भारत, बिहार मोतिहारीका सुरेन्द्र । न हातमा काम गर्ने कुनै सीप, न त जागिर खान पढाइको कुनै मार्कसिट । काठमाडौंको चार भञ्ज्यांङ भित्र छिर्दा अरु केही थिएन उनीसँग, थियो त केवल बीस वर्षे युवाको जोश र घरबाट ल्याएको दुई सय रुपैयाँ ।
उनकै गाउँका दुई सय भन्दा बढी साथीभाइ चटपटे बेचेर काठमाडौंमा बस्थे । घर गएको बेला काठमाडौं जाऔं भनेर हुटहुटीमा लगाइरहन्थे उनलाई । '५५ सालतिर उनीहरुको उक्साहट्मा काठमाडौं जाने निधो गरे,' उनी विगत सम्झन्छन्, 'काठमाडौं जाने भनेसी बुबाले दुई सय रुपैयाँ दिनुभएको थियो । खल्तीमा त्यही हालेर आएँ।'
साथीभाइले भनेको भरमा काठमाडौंमा आउन त आए उनी, तर कहाँ के काम गर्ने ? साथीहरुले लामो समय पाल्दैनथे । बाच्नकोलागि भएपनि केही काम गर्नुपर्ने बाध्यता पर्न थाल्यो साहलाई । 'काम गर्न भनसुन गरुँ भन्दा कसैलाई चिनेको छैन । 'पढेलेखेको छु भनेर जागिर खोजूँ भन्दा सर्टिफिकेट छैन,' उनी अतित केलाउँछन्, 'काम गर्न केही जानेको छैन । कसरी काठमाडौंमा टिक्ने भन्ने चिन्ता लाग्न थाल्यो ।'

केही समय साथीभाइ जताजता चटपट बेच्न जान्थे, पछिपछि त्यतै लागे उनी। साथीभाइको पछि लाग्दा उनले धेरै कुरा सिके । भन्छन्, 'कसरी चटपट बनाउने र कसरी व्यापार गर्ने भन्ने सिकेँ ।'
साथीभाइको पछि कति लाग्ने ! एकहप्ता पछि उनलाई दिक्क लाग्यो। सोचे मैले पनि केही त गर्नै पर्छ । साथीहरुको भर कति पर्नु ! खल्तीमा बचेको पैसाले एउटा नाङ्लो, एउटा मुढा र चटपटको लागि चाहिने केही समाग्री किने र चटपट बेच्ने तयारी गरे ।
त्यतिबेला सुन्धाराको चाइना टाउन सपिङ कम्प्लेक्स बनिरहेको थियो । चाइना टाउन सञ्चालक समितिसँग कुरा गरे । त्यही जाने बाटोमा चटपट बेच्ने ठाउँ रोजे । मसलाको फेदमा मुढा माथि नाङ्लो राखेर चटपट बेच्न थाले । चटपट बेचेको पहिलो दिन उनी सम्झन्छन्, 'भर्खरै बीस वर्षको थिएँ । चटपट बेच्न लाज पनि लाग्यो। डर पनि लागेको थियो ।'
मसलाको रुखमुनि दिनभरी मुढामाथि नाङ्लो राखेर उनी चटपटे बनाउन थाले । सुरुसुरुमा कतिले उनलाई मिठो छ भनेर स्याव्बासी दिए त कतिले नमिठो भनेर पैसा नतिरी हिँडे । भन्छन्, 'कतिले गाली गर्थे, सित्तै खान्थे र जान्थे । तर मैले कहिल्यै केही भनिनँ ।'
सुरुमा उनले पसल गर्दा दुई रुपैयाँ किलो आलु, आठ रुपैयाँ लिटर मट्टितेल, १० रुपैयाँ किलो मैदा थियो। जे खाद्यन्न किन्यो त्यही सस्तो । त्यसैले उनले बेच्ने चटपटे पनि सस्तो थिएँ । उनले सुरुमा पाँच रुपैयाँ प्लेट चटपट बेचेका थिए । अहिले बीस रुपैयाँ भन्दा कमको चटपट बेच्दैनन् उनी ।
सुरुसुरुमा बाटो हिँड्नेले खासै चटपट खाँदैन थिए । उनी भन्छन्, 'पहिला पहिलाका मान्छे खानै आउँदैन थिए। फाट्टफुट्ट आउँथे ।'
व्यापार नभएपछि उनलाई अत्यास लागेको थियो । 'व्यापार छाडेर फेरि घर नै जाउँ जस्तो पनि लागेको थियो,' उनी भन्छन् ।
तर उनी व्यापार भएको दिन धेरै खुशी र नभएको दिन निराश कहिल्यै भएनन् । उनी कुनै दिन राम्रै व्यापार हुन्छ भनेर आशा गरेरै बसिरहे । 'कुनै न कुनै समयमा मेरो पालो आउँछ भन्ने लाग्थ्यो। म कहिले पनि आत्तिइनँ ।'
 चटपटबाट व्यापार सुरु गरेका साहले अहिले आफ्नो मेनुमा पानीपुरी, समोसाचाट, टिकियाचाट, भेलपुरी, आलुचाट, दहीपुरी  लगायत दर्जन भन्दा बढी खानेकुरा थपिसकेका छन् । पहिलेका ग्राहकहरु भन्दा अहिलेका ग्राहक भेराइटी खोज्न थालेका उनको अनुभव छ । 'पहिला चटपट मात्रै भन्थे ।अहिले चनाचटपट भन्न थालेका हुन्,' उनी सम्झन्छन्, 'अमिलो, पिरो, मूला, चना र केराउ मात्रै हालेर दिने चलन थियो । अहिलेजस्तो धेरै सामान हाल्ने चलन नै थिएन ।'
बिहान ४ बजे उठेर दिनभरीका लागि चाहिने सबै समाग्री  तयार गर्छन् उनी । समोसा, तरकारी, पानी, पुरी, मरमसला, आलु, प्याज, खुर्सानी लगायत सामान बनाउन श्रीमती सहयोगमा जुट्छिन् । कामलाई यो ठूलो र यो सानो भन्ने भन्दापनि काम गर्नेले नै सफलता पाउँछन् भन्ने मान्यता राख्छन् उनी ।
 
भन्छन्, 'व्यापारमा धैर्यता चाहिन्छ । अहिलका मान्छेहरुसँग धैर्यता नै छैन्। त्यसैले जोसुकैले व्यापार गरेर खान सक्दैनन् ।'
नेपालमा बसेर केही काम गर्न सकिँदैन भन्नेहरुको लागि सुरेन्द्र एउटा उदाहरण हुन् । मासिक दस पन्ध्र हजारका लागि विदेशिनेले देसभित्रै मेहनत गरे धेर थोर कमाउन सक्छन् । साहले चटपट र पानीपुरी बेचेरै काठमाडौंमा महिनामा एक लाख रुपैयाँ भन्दा बढी कमाउँछन् । उनले दिनको पाँच देखि १५ हजार आम्दानी हुने बताए ।
 सयबाट व्यापार सुरु गरेका उनी हजार हुँदै लखपति बनेका छन् । सिभिल ट्रेड सेन्टर(सिटिसि मल) मा ४० लाख रुपैयाँ तिरेर पसल कबल किने । सधैँ व्यापार गरेको ठाउँबाट ठ्याक्कै अगाडि रहेको नौं तले सिभिल ट्रेड सेन्टरको दोस्रो तलामा उनले कवल किनेका थिए ।
उनले भारतीय दूतावासबाट पत्र ल्याएर पसल कवल किनेका थिए । तर अहिले उनले त्यो बेचिसकेका छन् । भन्छन्, 'पाँख लाख रुपैयाँ फाइदा भएपछि मैले बेचिदिएँ । जन्मथलोमा एउटा राम्रो घर बनाउने योजनामा छुँ।'
पानीपुरी खान आउनेहरुले पसल चलेको देखेर उनलाई विदेश जान सल्लाह पनि नदिएका हैनन् । तर उनी यहिँ सन्तुष्ट छन् । भन्छन्, 'विदेश लगिदिन्छु महिनाको ६०/७० हजार तलब हुन्छ धेरैले भने । तर मलाई विदेश जानु भन्दा यही ठिक छ ।'
१५ वर्षको अवधिमा उनले चारचोटी आफ्नो पसललाई सुधारिसकेका छन् । अहिलेका मानिसहरु सफा चाहन्छन् । त्यही भएर एक वर्ष अघि दुई लाख रुपैयाँ लगानी गरेर उनले पसल राम्रो बनाएका छन् । उनी भन्छन्, 'सुरुमा नाङ्लोमा राखेर बेचे पनि मानिस सरसफाइप्रति सजग हुन थालेपछि अहिले सुधार गरेको छु ।'

सरसफाईलाई ध्यान दिएर नै उनी प्लाष्टिकको पञ्जा लगाएर खानेकुरा बनाउँछन् । पानी जारको मात्रै प्रयोग गर्छन् । अशुद्ध पानी प्रयोग गरेर उनी खानेकुरा नबनाउँने दाबी गर्छन् । त्यसैले उनको नियमित ग्राहक छन् । यहाँ आएर खाएपछि उसले फेरि पनि आएर खान्छन् । कार चढ्नेद्खि पैदलयात्रीसम्म उनका ग्राहक छन् । भन्छन्, 'सफा र स्वादिलो भएर नै लाखौँ पर्ने कार चढ्नेदेखि बाटोमा हिँड्नेहरु चटपट, पानीपुरी खाएर जान्छन् ।'
पसल सुरु गरेको केही महिना खाली ठाउँमा पाँच सय रुपैयाँ भाडा तिरेर पसल चलाएका थिए उनले । पसल चल्न थालेपछि चाइना टाउनले पनि वर्षेनी भाडा बढाउन थालेको छ । चाइनाटाउनलाई मासिक भाडा २५ सय रुपैयाँ तिर्नुपर्छ ।
घरमा आमा बुबालाई छाडेर आएका उनी अहिले काठमाडौंमा श्रीमती, दुई छोरी र एक छोरा सहित बस्दै आएका छन् । उनी भन्छन्, 'व्यापारबाटै मनले मागेको खानलाउन पुगेको छ ।'
सुरुमा पाँच रुपैयाँ प्रतिप्लेट बेचेको पानीपुरीको मूल्य बढ्ने अहिले ३० रुपैयाँ पुगेको छ । यसले मुल्यबृद्धिको दरलाई पनि देखाउँछ । उनी भन्छन्, 'सुरुमा पाँच रुपैयाँ प्लेट बेच्थें तर अहिले महँगी कहाँ पुगिसक्यो । त्यसको अनुपातमा त्यति धेरै बढाएको चाहिँ छैन ।'

पहिले व्यापार कम नाफा बढी हुन्थ्यो भने अहिले व्यापार बढी नाफा कम हुन थालेको उनको अनुभव छ । पहिला पहिला खाने सामान सस्तो थियो, अहिले महँगीले आकास छोएको छ । महंगोमा सामान बेच्दा व्यापार धेरै देखिन्छ तर नाफा भने थोरै हुन्छ ।
व्यापार गर्दै जाँदा उनले धेरै कुरा सिकिसकेका छन् । ती मध्ये व्यापार गर्दा महिलासँगको सम्बन्धचाहिँ ठिक्क दुरीमा राख्नुपर्ने र रिसाउन नहुने कुरालाई उनले मूल मन्त्र ठानेका छन् । भन्छन्, 'कति आइमाइ मान्छेहरु आएर मलाई फकाउँछन् । तर म वास्ता गर्दिनँ । उनीहरुको लहैलहैमा लाग्ने हो भने पैसा सबै सकिन्छ । मैले यति धेरै कमाएको सञ्चित गरेर राख्न सक्दिनँ थिएँ ।'

Tata
GBIME
NLIC