ग्यास उद्योगीको असहमतिपछि दुई रंगका सिलिण्डर कार्यान्वयन अनिश्चित

बिजमाण्डू
२०६९ भदौ १० गते ००:०० | Aug 26, 2012

काठमाडौ । उद्योगीको असहमतिका कारण ग्यासमा दुई थरी सिलिन्डर कार्यान्वयन अनिश्चित भएको छ । सरकारले भदौदेखि दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने जनाएपनि ग्यास उद्योगीको असहमतिले अनिश्चित भएको हो । सरकारले घरायसी र व्यवसायिक गरी दुई थरी सिलिन्डर कार्यान्वयनमा ल्याउने तयारी गरेको थियो । सरकार र ग्यास उद्योगीबीच दुई साता अघि भएको वार्तामा कार्यविधि बनाएर दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउने सहमति भएको थियो । तर कार्यविधि आएपनि दुई थरी सिलिन्डर कार्यान्वयनमा आउने सम्भावना कम छ ।
दुई थरी सिलिन्डर कार्यान्वयनमा ल्याउन कठिन छ । कार्यविधि ल्याएपनि नियमन निकायनै बलियो नभएको ठाउँमा यो कार्यान्वयनमा ल्याउँदा समस्या हुन्छ, निगमका एक अधिकारी भन्छन्, सस्तो लोकप्रियताको लागि ल्याउँदा भबिष्यमा यसले ठूलो विकृती ल्याउँछ ।’ सरकारले घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो रंगमा बिक्रीको योजना बनाएको थियो ।
 घरायसी प्रयोजनमा अनुदान र व्यवसायिक प्रयोजनमा परल मूल्यमा बिक्री गरेर ग्यासमा आयल निगमलाई हुने घाटा कम गर्ने सरकारको योजना थियो । भारतमा यही अवधारणा अनुसार दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याइएको छ । भारतमा घरायसी प्रयोजनको ग्यास सरकारको स्वामित्वको तेल कम्पनीले बिक्री गर्छ भने व्यवसायिक प्रयोजनको ग्यास निजी बोटलर्सले बिक्री गर्छन् । तर नेपालमा भने ग्यासको कारोबार निजी क्षेत्रको हातमा छ । ‘ग्यास कारोबार सबै निजी क्षेत्रको हातमा छ । सरकारको हातमा केही नभएकोले दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन कठिन छ,’ ती अधिकारीको दावी छ ।
तर निगमका कामु् कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले दुई थरी सिलिन्डर कार्यान्वयनमा केही कठिनाई रहेको स्विकार गरे । ‘दुई थरी सिलिन्डर कार्यान्वयनमा कठिनाई पक्कै छ । तर हामीले यसलाई कार्यान्वयन गर्नुपर्ने बाध्यता छ,’ उनले भने । उनका अनुसार ग्यासमा भएको घाटा कम गर्न पनि दुई थरी सिलिन्डर कार्यान्वयनमा ल्याउनुपर्छ । गतवर्ष ग्यासबाट मात्रै निगमलाई साढे पाँच अर्ब घाटा भएको थियो जवकी निगमको गतवर्षको घाटा दश अर्ब थियो ।

Tata
GBIME
NLIC