काठमाडौ । रात्री मनोरञ्जनका लागि तड्पिनु भएको छ भने अब धन्दा नमान्नुहोस् छिट्टै रात्रीकालिन व्यवसायको समय थपिने भएको छ । रेष्टुरेन्ट, दोहोरी, डान्स र डिस्कोथेक चाडै बन्द हुँदा राजधानीको शोभा नै नभएको भन्दै समय थप्न छलफल सुरु भएको छ ।
एक साता अघि रात्रीकालिन व्यवसायी, महानगरीय प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौबीच भएको छलफलमा रात्रीकालिन व्यवसायको समय थप्न सकिने निष्र्कषमा पुगिएको हो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौले रात्रीकालिन व्यवसाय थप्न रेष्टुरेन्ट, डान्स, दोहोरी र डिस्कोथेकमा सीसीटीभी क्यामरा, साउन्ड प्रुफ म्युजिक सिस्टम हुनुपर्ने शर्त राखेको छ ।
सुरक्षाका लागि चाहिने पूर्वाधार थप गर्ने हो भने रात्रीकालिन व्यवसायको समय थप्न सकिने निष्र्कषमा हामी पुगेका छौ, कार्यालयका एक उच्च अधिकारीले भने । अहिले यी व्यवसाय १० बजे अघि नै बन्द गर्नुपर्दछ । सुरक्षा व्यवस्था मिलाए राती ११ बजेसम्म रात्री व्यवसाय सञ्चालन अनुमति दिन सकिने सम्भावना छ, स्रोतले भन्यो ।
