
नयाँदिल्ली । सेयर मूल्यका आधारमा यसै साता विश्वको सबैभन्दा ठूलो कम्पनी एप्पल बन्यो । रिलायन्सको वर्चश्व तोड्दै भारतमा पनि टाटा देशकै ठूलो कम्पनी बनेको छ । शुक्रवारको सेयर बजार कारोवारपछि टाटा समूहको टाटा कन्सलटेन्सी सर्विसेज रिलायन्स इण्डष्ट्रिजभन्दा मूल्यवान कम्पनी बनेको हो । आइटी क्षेत्रको कम्पनीको शुक्रवार मात्रै २.२५ प्रतिशतले सेयर मूल्य बढेको थियो ।
त्यहीं शुक्रवार नै रिलायन्स इन्डष्ट्रिजको सेयरमूल्य १.६८ प्रतिशतले ओरालो लागेको थियो । रिलायन्सको सेयरमूलय ओरालो लागेर ७९४.४५ भारुमा आइपुग्यो भने टाटाको सेयर मूलय बढेर १३२५ भारु पुग्यो । सेयर मूल्यको घटबढसँगै टाटा कन्सलटेन्सीको बजार पुँजीकरण २५ खर्ब ८५ अर्ब ७८ करोड पुगेको छ भने रिलायन्सको बजार पुँजीकरण कम भएर २५ खर्ब ७१ अर्ब ११ करोडमा आइपुगेको छ । रिलायन्स इन्डष्ट्रिजमा मुकेश अम्बानीले नेतृत्व गरेको कम्पनी हो भने टाटा कन्सलटेन्सी रतन टाटाले नेतृत्व गरेको कम्पनी हो । यी दुई भारतका ठूला व्यवसायिक घराना हुन् ।