नेप्से बढ्न सकेन, सात महिनामा नया नेपालका लगानीकर्तालाई छ सय ६५ प्रतिशत बढि नाफा

बिजमाण्डू
२०७१ बैशाख ४ गते ००:०० | Apr 17, 2014
नेप्से बढ्न सकेन, सात महिनामा नया नेपालका लगानीकर्तालाई छ सय ६५ प्रतिशत बढि नाफा
काठमाडौं। साताको अन्तिम दिन विहीवार नेप्से परिसूचक ०.३४ अंकले घटेको छ । कारोबार अवधिभर नेप्से एक पटक पनि अघिल्लो दिनको बन्द बिन्दुभन्दा माथी जान सकेन । नेप्से परिसूचक घटेर ८११ मा सिमित रहेपनि बीमा र होटेल समूहको परिसूचक भने उल्लेख्य बढेको छ । 

Tata
GBIME
Nepal Life
नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानको सेयर मूल्य उच्चले बढेपछि बीमा समूह ५५ अंकले बढ्यो ।कारोबार खुलेदेखि नै बढ्ने प्रयासमा रहेपनि नेप्सेलाई बीमा, होटेल लगायतको समूहमा भएको वृद्धिले उकाल्न सकेन । होटेल समूहको परिसूचक १८ अंकभन्दा धेरैले वृद्धि भयो । ओरियण्टल होटेलको सेयर मूल्य १० रुपैयाँले घटेपनि सोल्टि होटेल र तारागाँउ रिजेन्सी होटेलको मूल्य बढेको छ । नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक लगायतका बैंकिङ क्षेत्रको प्रभावशाली कम्पनीका सेयर मूल्य घटे । यो समूहको परिसूचक पनि करिब चार अंकले घटेको छ । नया नेपाल लघुवित्त बिकास बैंकको सेयर मूल्य करिब आठ प्रतिशतले बढेको छ । गत माघमा सूचीकृत बैंकले पहिलो कारोबारको लागि एक सय १८ देखि तीन सय ५४ रुपैयाँको व्याण्ड पाएको थियो ।  प्राथमिक निष्कासनमा बैंकको सेयरमा लगानी गरेकाले अहिले छ सय ६५ प्रतिशतभन्दा धेरै कमाइसकेका छन् भने पहिलो कारोबारको समयमा लगानी गरेकोले एक सय १६ प्रतिशत नाफा पाइसकेको देखिन्छ ।  
तेस्रो त्रैमाशमा करिब सात प्रतिशतले नाफा बढेको युनिक फाइनान्सको सेयर मूल्य चार रुपैयाँले बढेको छ । कम्पनीको यो अवधिको नाफा एक करोड ७५ लाख रुपैयाँ रहेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्यमा थोरै मात्र उतारचढाव देखिएको छ । 
यो दिन कारोबार रकम पनि करिब १८ प्रतिशतले २३ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ । यो दिन एक सय २६ कम्पनीको पाँच लाख ५८ हजार कित्ता सेयर कारोबार भएको छ ।