
इस्लामाबाद । इदमा हुने सम्भावित आतंकवादी आक्रमण रोक्न पाकिस्तान सरकारले १४ घण्टा बन्द गरेको मोवाइल सेवा सुचारु भएको छ । गृहमन्त्रालयको आदेश पछि मोवाइल सेवा प्रदायकले आइतवार साँझ आठ बजेदेखि सेवा बन्द गरेका थिए । मोवाइल सेवा सामेवार अपरान्ह मात्र खुला गरिएको थियो ।
पाकिस्तानका गृहमन्त्री रहमान मलिकले मोवाइल फोन विष्फोटका लागि प्रयोग हुने भएकाले पूर्व सावधानी अपनाउन सेवा बन्द गरेको जानकारी दिए । आइतवार पाकिस्तानका सुरक्षा अधिकारीको एउटा उच्च बैठकले इदमा आतंकवादी हमला रोक्नका लागि मोवाइल सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
आतंकवादीहरुले हमला गर्नुपूर्व आदेश लिनका लागि मोवाइल सेवाको प्रयोग गर्ने गरेको जानकारी पनि बैठकमा गराइएको थियो । बिहिवार पाकिस्तानको कामरा हवाई बेसमा हमला गरेका आतंकवादीसँग पनि मोवाइल सेट फेला परेको थियो । यो हमलामा नौ जना आतंकवादीको मृत्यु भएको थियो भने एक जना सैनिक अधिकारीले पनि ज्यान गुमाउनु परेको थियो ।