हङकङमाथि चिनियाँ शासनको १५ वर्ष, कस्तो रह्यो त अर्थव्यवस्था ?

बिजमाण्डू
२०६९ असार १७ गते ००:०० | Jul 1, 2012

हङकङ । हङकङमाथि चीनको शासनको आइतवार १५ औं वर्ष पुरा भएको छ । सन् १९९७ जुलाई १ मा बेलायतले हङकङको शासन चीनलाई सुम्पेको हो । त्यसयता हङकङ चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहँदै आएको छ भने एक मुलुक दुई शासन प्रणालिको नीति अनुरुप हङकङमा चीनभन्दा फरक शासन प्रणाली छ ।  फरक शासन प्रणाली भएकैकारण बैदेशिक एवं सैन्य मामिला बाहेकका विषयहरु मुख्य भूमि चीनले नभई एक स्वायत्त निकायले हेर्दै आएको छ ।

हङकङमा हु: चिनीयाँ राष्ट्रपति हु जिन्ताओ हङकङ चीनलाई हस्तान्त्रण गरेको १५ औं वार्षिकोत्सव मनाउन हङकङमा ।

Tata
GBIME
Nepal Life

शासनको १५ औं वर्ष गाँठ मनाउनकालागि आयोजित समारोहमा भाग लिन चिनियाँ राष्ट्रपति हु जिन्ताओ शनिवारै हङकङ पुगेका थिए । सोही अवसरमा उनले शहरका एक प्रसिद्ध  व्यवसायी सि.वाई. लिउङलाई नयाँ मेयरको सपथ समेत दिलाएका छन् । जिन्ताओको भ्रमणलाई लिएर प्रदर्शनहरु भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सम्पतिमा उच्च वृद्धि
सन् २०१० को जनगणना अनुसार करिव ७१ लाख जनसंख्या रहेको हङकङका आम मानिस सरकारप्रति रुष्ट हुनुमा शहरमा बढदै गएको धनी र गरिववीचको असमानता, सम्पत्तिमा उच्चस्तरको मुल्यवृद्धि, प्रजातान्त्रिक मूल्यमान्यताको अभाव एवं राजनीतिक घटनाक्रम रहेका छन् ।
वित्तीय कारोवारको केन्द्र बन्न सफल भए पनि हङकङमा असमानता विश्वकै गरिव मुलुकहरु सेरालियोन, हाईटी, कोलम्बिया जस्ता देशको भन्दा बढी भएको बताइन्छ । पछिल्लो तथ्याङक अनुसार विगत पाँच वर्षमा यहाँका गरिवहरुको मासिक आम्दानी ८ प्रतिशतले घटेको छ भने धनीको मासिक आम्दानी २५ प्रतिशतले बढेको छ ।
चीन सरकारको स्वामित्वमा आएयता हङकङको आर्थीक संरचनामा नै परिवर्तन आएको विष्लेशकहरु बताउँछन् । हङकङमा मुख्यालय भएका धेरै ठुला कम्पनी  चीन सरिसकेका छन् जसले गर्दा बरोजगारी बढेको छ । यसैगरी रोजगारदाताहरु स्थायी भन्दा करार कर्मचारी राख्न रुचाउँछन् । हङकङ सरकारलाई बेईजिङप्रति बढी झुकाव राखेको भन्दै आलोचना हुन थालेको छ भने सरकारविरुद्ध प्रदर्शन समेत भएका छन् । सोही प्रदर्शनका क्रममा यस वर्षको सुरुमा लि वाङयाङ नामका एक युवाको मृत्यु समेत भएको थियो । अहिले आम जनतामा सरकारप्रतिको विश्वास अत्यन्तै न्युन विन्दुमा रहेको बताईन्छ ।  
एक हजार १ सय ४ वर्ग किलोमिटर क्षेत्रफल भएको हङकङ सन् १९९० को दशकदेखि विश्व व्यापारको प्रमुख केन्द्र मध्येको एकका रुपमा रहँदै आएको छ । प्रसिद्ध अर्थशास्त्री मिल्टन फ्रीडम्यानले त्यसताकाको हङकङलाई स्वतन्त्र अर्थव्यवस्थाको एउटा नमूनाको रुपमा व्याख्या गरेका थिए । ७१ लाख भन्दा बढी जनसंख्या भएको यो शहर जनघनत्वका हिसावले विश्वकै चौथो स्थानमा पर्छ भने विकासका हिसावले उच्च विकसित शहरमा पर्छ ।
सन् २०११ मा हङकङको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) २४३ अर्ब डलर बराबर  थियो भने प्रति व्यक्ति आय ३४ हजार डलरभन्दा बढी थियो । सन् १९६१ देखि १९९७ को अवधिमा यहाँको जिडिपि १८० गुणाले बृद्धि भएको थियो भने प्रति व्यक्ति जिडिपि ८७ गुणाले बढेको थियो ।
सन् २०१० मा यहाँको मुद्रा हङकङ डलर विश्वमा धेरै प्रचलनमा आउने मुद्राहरुमध्ये आठौं स्थानमा परेको थियो । यहाँ रहेको हङकङ स्टक एक्सचेञ्च विश्वका दश ठुला स्टक एक्सचेञ्ज भित्र पर्छ । सेवा तथ निर्यात व्यापारमुखी अर्थतन्त्र भएको हङकङमा कृषिले कुल जिडिपिको शुन्य दशमलव १ प्रतिशत मात्रै योगदान पु¥याउँछ । सन् २०११ मा जारी व्यवसाय गर्न सहज देशहरुको सूचीमा हङकङ सिंगापुर पछि दोश्रो नम्बरमा थियो ।