काठमाडौं दक्षिण एशियाकै महंगो शहरमा पर्यो, मुम्बई सस्तो, सिंगापुर संसारकै सबभन्दा महंगो

बिजमाण्डू
२०७० फागुन २० गते ००:०० | Mar 4, 2014

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली र व्यवसायिक सहर मुम्बईभन्दा काठमाडौं महंगो सहर भएको विश्वव्यापी जीवनयापन खर्च प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा विश्वकै महंगो सहरमा सिंगापुर परेको छ ।
विश्वका एकसय ३१ सहरमा खाद्यान्न, यातायात, बिजुली, टेलिफोन र खानेपानी जस्ता सेवा साथै शिक्षा र स्वास्थ्यका लागि हुने खर्चको आधारमा महंगो र सस्तो सहर छानिएको हो । मदिरा, चुरोट जस्ता वस्तुमा लाग्ने करलाई पनि यसमा समावेश गरिएको छ ।
एकसय पुर्णांकमा गरिएको अध्ययनमा न्युयोर्क सहरलाई आधार मानिएको छ । सबैभन्दा महंगो सिंगापुरले एकसय ३० अंक प्राप्त गरेको छ भने सबैभन्दा सस्तो सहर मुम्बईले ३९ अंक मात्र प्राप्त गरेको छ ।
दक्षिण एशियाली सहरमा काठमाडौं सबैभन्दा महंगो छ । काठमाडौंमा जीवनयापन गर्न पाकिस्तानको कराँची र भारतको नयाँ दिल्ली र मुम्बईमा भन्दा बढी खर्च गर्नुपर्छ । प्रतिवेदनमा काठमाडौंले ४४ अंक पाएको छ भने नयाँ दिल्लीले ४३ अंक र कराँचीले ४० अंक पाएका छन् । मुम्बई ३९ अंक सहित सबैभन्दा तल्लो स्थानमा छ ।
युरोपेली सहरहरु महंगा सहरमा परेका छन् । सिंगापुरपछि पेरिस, ओस्लो, जुरिच, सिडनी, काराकस, जेनभा, मेलबर्न र टोकियो महंगा सहरमा दरिएका छन् । कोपनहेगन महंगा सहरको दशौं स्थानमा छ । चीनको राजधानी बेइजिङ मध्यमस्तरमा परेको छ । बेइजिङलाई साथ दिनेमा बैंकक र क्वालालम्पुर जस्ता एशियाली सहर छन् ।

Tata
GBIME
Nepal Life