अर्थमन्त्री महतले भेटे एडिबीका कार्यकारी निर्देशकको टोली, नेपाल नीति नरम बनाउन आग्रह

बिजमाण्डू
२०७० फागुन १९ गते ००:०० | Mar 3, 2014
अर्थमन्त्री महतले भेटे एडिबीका कार्यकारी निर्देशकको टोली, नेपाल नीति नरम बनाउन आग्रह


काठमाडौं । अर्थमन्त्री रामशरण महतले नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशकहरुको टोलीलाई नेपाल सम्बन्धि नरम नीति अख्तियार गर्न आग्रह गरेका छन् । सोमबार आफ्नै कार्यकक्षमा एडिबी टोलिसँग भेट गर्दै मन्त्री महतले नेपालको क्षमता बढेको भनी अनुदानको अंश कटौती गरि ऋण सहायतामात्र दिने नीति पुनरावलोकन गर्न माग गरेका हुन् ।
एडिबीले नेपाललाई प्रदान गर्ने सहायता कार्यसम्पादन नतिजामा आधारित हुने तथा राष्ट्रको संक्रमणकालिन अवस्थालाई ध्यान दिएर नरम नीति अख्तियार गर्न अर्थमन्त्रीले अनुरोध गरेका थिए । एडिबी टोलीले आगामी दिनहरुमा बैंकको सहयोग निरन्तर रहने विश्वास समेत दिलाएको थियो । साथै टोलिले सन् २०२२ सम्ममा नेपालले विकासोन्मुख मुलुक हुने लक्ष्य राखेको सन्दर्भमा निजी क्षेत्रको लगानी बढाउन सवल वातावरण निर्माणमा जोड दिएको अर्थमन्त्रालयले जनाएको छ ।
एडिबीको सात सदस्यिय प्रतिनिधी मन्डलका सदस्यमा मारियो सेन्डर (जर्मनी), मालियामी विन हमद (मलेसिया), रेन लेग्रन्ड (बेल्जियम), इम्बार मोहम्मद (बङ्गलादेश), रिचार्ड सिसन (अष्ट्रेलिया), क्रिष्टिना वेडेकुल (स्विडेन) र गुओक्वी उ (चाइना) रहेका छन् । टोलीले सोमबारै अर्थसचिव शान्तराज सुवेदीसँग पनि भेट गरेको थियो । टोलिले मेलम्ची खानेपानी आयोजनाको सुरुङ पनि हेर्ने कार्यक्रम छ । एडिबी मेलम्चीको मुख्य दाता हो ।

Tata
GBIME
Nepal Life