मार्जिन लेण्डिङमा कडाई गर्ने राष्ट्र बैंकको संकेतले बजार घट्यो, एनबी बैंकको कारोबार सुचारु

बिजमाण्डू
२०७० फागुन १९ गते ००:०० | Mar 3, 2014
मार्जिन लेण्डिङमा कडाई गर्ने राष्ट्र बैंकको संकेतले बजार घट्यो, एनबी बैंकको कारोबार सुचारु


काठमाडौं। राष्ट्र बैंकले सोमवार भएको मौद्रिक नीति समिक्षामा मार्जिन लेण्डिङ कडाइ गर्ने भएपछि बजारमा यसको प्रभाव देखिएको छ । यस्तो संकेतले बिहान कारोबार खुलेदेखी बजार घट्ने क्रममा रह्यो । नेप्से १४.६६ अंकले घटेर ८११.०४ मा आइपुगेको छ । राष्ट्र बैंकले समय सापेक्ष रुपमा मार्जिन लेण्डिङ नीतिलाई पुनरावलोकन गर्दै लैजाने बताएको छ । 

Tata
GBIME
Nepal Life
 
गत आवको तुलनामा वाणिज्य बैंकहरुले छ महिनामा करिब २० प्रतिशतले यस्तो कर्जा वृद्धि गरेका थिए । त्यस्तै, कुल बैंक तथा वित्तीय संस्थाले यो अवधिमा १३ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा छ ।
सेयर बजारमा भने यो छ महिनाको अवधिमा (साउनदेखि पुषसम्म) मा सेयर बजारमा ८३ अर्ब ९० करोड ९० लाख रुपैयाँको कारोबार भएको नेप्सेले मासिक रुपमा जारी गर्ने रिपोर्टले देखाउँछ । यो आधारमा हेर्दा सेयर बजारमा भएको कुल लगानीमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको रकमको हिस्सा जम्मा १५.६६ प्रतिशत मात्र छ ।  
सोमवार बीमा, बैंकिङ, जलविद्युत्, बिकास बैंक समूहको परिसूचक दोहोरो अंकले घट्यो । जलविद्युत् समूहको परिसूचक ७२ अंक, बीमा समूह २० अंक , बैंकिङ समूह १५.६ अंक, बिकास बैंक समूह १०.१० ले घटेको छ । यो दिन २८ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूहका मेगा, जनता, एभरेष्ट, सानिमा, नेपाल एसबीआई, बैंक अफ काठमाण्डु, किष्ट लगायतका बैंकहरुको मूल्य घटेको छ । राष्ट्र बैंकले मौद्रिक नीति समिक्षाको क्रममा  स्प्रेड दर  (निक्षेप र कर्जाको व्याजदर बीचको अन्तर) पाँच प्रतिशतमा राख्ने बिषयमा पुनरावलोकन नहुने बताएका छन । बैंकरहरुले भने यसो भएमा बैंकहरुको नाफा प्रभावित हुने बताउदै आएका छन ।
बीमा समूहका गुराँस लाइफ, प्राइम लाइफ, सिछार्थ, सूर्या लाइफ, नेशनल लाइफ लगायतका कम्पनीहरुको मूल्य घटेको छ । नेशनल लाइफको यो दिन सबैभन्दा धेरै चार करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको पनि तीन करोड २९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । कारोबारमा आएका एक सय १५ मध्ये ९२ कम्पनीको सेयर मूल्य घट्यो । यो दिन पाँच लाख ९८ हजार कित्ता सेयर किनबेच भए । आठ खर्ब २६ अर्ब रुपैयाँको कुल बजार पूँजीकरण भएको छ ।

बंगलादेश बैंकको कारोबार सुचारु
नेपाल बंगलादेश बैंकको सोमवारबाट कारोबार सुचारु भएको छ । निर्मल प्रधान र लक्ष्मिबहादुर श्रेष्ठबीच भएको लेनदेनको कारण बैंकको केही सेयर नामसारीमा समस्या आएपछि रोक्का भएको थियो । बैंकको नै कारोबार रोकेका ब्रोकरहरुले गत बुधवारबाट कारोबार खोल्ने निर्णय गरेका थिए । तर बुधवार प्राविधिक कारणले बैंकको सेयर कारोबार हुन सकेको थिएन ।बैंकको सेयर सोमवार दुई रुपैयाँले बढेर छ सय १६ रुपैयाँ पुगेको छ ।