यी हुन् विश्वका उत्कृष्ट रोजगारदाता, जहाँ कर्मचारीको मन रम्छ

बिजमाण्डू
२०७० फागुन १० गते ००:०० | Feb 22, 2014
यी हुन् विश्वका उत्कृष्ट रोजगारदाता, जहाँ कर्मचारीको मन रम्छ



फेसबुक र गुगलको चर्चा तिनीहरुको प्रतिस्पर्धाका कारण हुन्छ, तर संसारमा यस्ता पनि व्यवसाय छन्, जहाँ प्रतिस्पर्धा निकै कम छ । राम्रो तलब र आफ्नै व्यवसायिक चार्मका कारण मानिस ती कम्पनीमा काम गर्न लालायित हुन्छन् ।
‘ग्रेट प्लेस टु वर्क’ले सन् २०१३ का साना तर सफल व्यवसायको सुची तयार गरेको छ । फर्चुन पत्रिकासँगको सहकार्यमा तयार गरिएको सफल साना व्यवसाय मध्ये १० वटा व्यवसायको चर्चा यहाँ गरिएको छ । यो सुची तयार पार्न हजारौ कर्मचारी र व्यवस्थापकसँग छलफल गरिएको थियो ।
‘साना व्यवसायमा संस्कृतिको राम्रो प्रभाव छ । समावेसीकरण र समग्रताको सोच सबै कामदारमा पाइन्छ,’ ग्रेट प्लेस टु वर्ककी अनुसन्धानकर्ता लेस्ली काकामेसेले बताइन् । सबैभन्दा तल्लो तहका कर्मचारीसँग पनि प्रमुख कार्यकारीको चिनचान हुने भएकोले यस्ता कम्पनीमा सबैमा एकताको भावना हुन्छ । ‘सबै प्रकारका व्यवसायिक क्रियाकलापमा सबै तहका कर्मचारीको सहभागिता हुन्छ, यो नै साना व्यवसायको उन्नतिको आधार हो,’ उनले भनिन । ग्रेट प्लेस टु वर्क र फर्चुनको सुचीमा दुईसयभन्दा कम कर्मचारी भएको व्यवसायलाई मात्र साना व्यवसायको रुपमा लिइएको छ ।

Tata
GBIME
Nepal Life

पुटनी
जिन होफम्यानले नेतृत्व गरेको पुटनी कम्पनीले जनावरको उपचारमा प्रयोग हुने जेनेरिक औषधी बिक्री बितरण गर्छ । केवल ५७ जना कर्मचारी रहेको यो कम्पनीले मासिक १० हजार अमेरिकी डलरसम्मको रोजगारी दिइरहेको छ । कम्पनी सानो भए पनि यसले कर्मचारीको बालबच्चाको शुल्क तिरी दिने, ३० दिन सुत्केरी बिदा दिने गर्छ । कम्पनीको बार्षिक आम्दानी एक करोड ९२ लाख अमेरिकी डलर छ ।

डिक्सन स्चबेल
डिक्सन स्चबेल विज्ञापन, मार्केटिङ र पव्लिक रिलेसन कम्पनी हो । यसमा ७७ जना कर्मचारी काम गर्छन । लारेन डिक्सनले नेतृत्व गरेको यो कम्पनीले वार्षिक नाफाको २२ प्रतिशत कर्मचारीलाई बितरण गर्छ । यसको गत वर्षको नाफा दुई करोड ९३ लाख डलर थियो ।

न्यागअजब डट कम
पिटर ह्यारिसनले नेतृत्वमा न्यागअजब डट कममा एकसय ८५ जना कर्मचारी छन् । यो कम्पनीले कामदारलाई खाजा खुवाउने, जिम गराउने र विभिन्न स्थान घुमाउने गदर्छ । यहाँ सातामा एकपटक राम्रा रेस्टुराँको खाना खुवाउने व्यवस्था पनि छ ।

स्टुडर ग्रुप
वार्षिक ६ करोड अमेरिकी डलर आम्दानी गर्ने स्टुडर ग्रुपले जन्मदिनमा कर्मचारीलाई ७५ डलरको गिफ्ट र तिनका बालबच्चालाई २५ डलरको गिफ्ट दिने गरेको छ । यो कम्पनीका एकसय ९६ कर्मचारीको नेतृत्व बिजि पोर्टरले गर्दै आएका छन् । कम्पनीले प्रत्येक वर्ष एक महिनाको तलवी घुमफिर बिदा दिने गरेको छ ।

बेजर माईनिङ कर्पोरेसन
यो माईनिङ कम्पनी सानो भए पनि सुविधा प्रशस्त छ । सातामा ३० घन्टामात्र काम गरे पुग्ने यहाँ बिरामी भए उपचार पनि पाइन्छ । कम्पनीले वर्षमा चार साता बिदामा कर्मचारीलाई घुम्न पठाउने पनि गर्छ । कम्पनीले कर्मचारीका बालबालिकालाई उच्च शिक्षाका लागि एकहजार पाँच सय डलर छात्रवृति पनि दिने गरेको छ ।

इन्जियो
एकसय ३४ जना कर्मचारी रहेको इन्जियो जियोटेक्निकल, इन्भाइरोमेन्टल र हाइड्रोलिक इन्जिनियरिङ फर्म हो । यो कम्पनीले तल्लोतहबाट नेतृत्व विकास गर्ने सोच लिएको प्रमुख कार्यकारी युरी इलाहु बताउँछन् । सम्पुर्ण कर्मचारीको सल्लाहमा योजना र रणनीति तयार हुन्छ ।  कम्पनीले कर्मचारीलाई दजर्नभन्दा बढी सुविधा दिने गरेको छ ।  

ग्रेनाइट प्रोपर्टीज
माइकल डार्डिकले नेतृत्व गरेको ग्रेनाइट प्रोपर्टीजमा एकसय ४३ जना काम गर्छन । यो अमेरिकाको टेक्सासको उदयमान कम्पनी हो । यसले गत वर्ष १५ करोड ३३ लाख अमेरिकी डलर नाफा गरेको थियो ।

रुबि रिसेपनिस्ट
भर्चुअल रिसेपनिस्टको रोजगारी दिने यो कम्पनीका प्रमुख कार्यकारी जिल नेल्सन हुन । यो कम्पनीका जस्तो पोसाक पनि लगाउन पाइन्छ । पहिरनमा बदलाव ल्याउन प्रत्येक सोमबार कर्मचारीलाई एकसय अमेरिकी डलरको बोनस दिइन्छ । यहाँ काम गर्ने स्वयंसेवकले घन्टाको पाँच डलर पाउँछन् ।

ट्यालेन्ट प्लस
मानव संसाधन परामर्श फर्मले कामको खोजीमा रहेका मानिसलाई रोजगारी खोज्ने सहयोग गर्दै आएको छ । यहाँ कर्मचारीलाई विभिन्न प्रकारको काम दिएर अरु कम्पनीमा जान प्रोत्साहित गरिन्छ । यसका एकसय १६ कर्मचारीले भविष्य कर्मचारीको राम्रो छनौट गर्न सक्छन् ।

प्रोफेसनल प्लेसमेन्ट रिसोर्स
ड्विट कोपरले नेतृत्व गरेको कम्पनी अमेरिकाको फ्लोरिडामा छ । यो फर्मले आफ्ना कर्मचारीलाई अर्गानिक खानेकुरा खुवाउँछ । व्यायमको साधन दिन्छ र पोषण सम्वन्धि लेक्चर पनि दिने गर्दछ । कम्पनीले बार्षिक ४० दिन तलवी बिदा, सुत्केरी बिदा र मासिकरुपमा नाफाको बोनस वितरण गर्छ । यसमा ८० जना कर्मचारी छन् ।

प्रस्तुतीः यादवराज जोशी