नेप्से : चिलिमेले गोता खायो, स्ट्याण्डर्डको हावा फुस्कियो, एसबिआईलाई झट्का लाग्यो

बिजमाण्डू
२०६९ साउन ३१ गते ००:०० | Aug 15, 2012
नेप्से : चिलिमेले गोता खायो, स्ट्याण्डर्डको हावा फुस्कियो, एसबिआईलाई झट्का लाग्यो


काठमाडौं । आर्थिक वर्ष अन्त्य भएपछि जति जति चौथो त्रैमासको वित्तीय विवरणहरु प्रकासित हुँदै गएका छन्, नेपाल स्टक (नेप्से)को बोर्ड पनि त्यति नै रातो हुँदै गएको छ । बुधवार नेप्से सूचक ३९२ को स्तरमा झर्यो, सँगसँगै नेप्सेका सात समूह सूचकमध्ये होटल समूहको सूचक मात्र हरियो बल्यो अरु सबै सूचकहरुले रातो बत्ति बाले ।
जलविद्युत समूहमा राम्रो वित्तीय विवरणका बाबजुद पनि चिलिमे जलविद्युतको सेयर मूल्य ओरालो लाग्यो । अधिकांश बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य पनि बुधवार ओरालो लाग्यो । बुधवार चिलिमेले नाफा ९३ करोड रुपैयाँ नाघेको वित्तीय विवरण प्रकासित गरेको थियो तर चिलिमेको प्रतिसेयर मूल्य २५ रुपैयाँले तल झर्यो । अरुण भ्याली र बुटवल पावर कम्पनीको पनि सेयर मूल्य ओरालो लाग्यो ।
एभरेष्ट बैंकले पहिलोपटक आफ्नो नाफा एक अर्ब नघाउँदै ‘विलिनियर’ क्लवमा छिरेको वित्तीय विवरणलाई पनि सेयरधनीले स्वागत गर्न सकेनन् । एभरेष्ट बैंकको प्रतिसेयर मूल्य चार रुपैयाँले घट्यो । स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिसेयर मूल्य सबैभन्दा बढी ६८ रुपैयाँले घट्यो । मंगलवार प्रतिसेयर १० रुपैयाँले कम  एक हजार ८२० रुपैयाँमा कारोवार भएको स्ट्याण्डर्ड चार्टडको सेयर मूल्य बुधवार एक हजार ७५२ रुपैयाँमा आइपुगेको छ ।
नेपाल एसबीआई बैंकको लगातार दोस्रो दिन प्रतिसेयर मूल्यमा ठूलो गिरावट आयो । बुधवार एसबिआईको प्रतिसेयर मूल्य २६ रुपैयाँले घट्यो । मंगलवार एसबीआईको प्रतिसेयर २७ रुपैयाँले घटेको थियो । होटल समूहमा ओरियण्टल होटल समूहको प्रतिसेयर एक रुपैयाँले बढ्यो । होटलको एक रुपैयाँले सेयर मूल्य बढ्दा होटल समूहको सूचक शुन्य दशमलव शुन्य आठ प्रतिशतले बढ्यो । यसले समग्र नेप्सेमा हरियो रंगको मिश्रण गरायो ।
बुधवार बैंक समूह एक दशमलव ९२ अंक, विकास बैंक समूह शुन्य दशमलव ५१ अंक, जलविद्युत समूह दुई दशमलव ३४ अंक, फाइनान्स शुन्य दशमलव १५ अंक, इन्सुरेन्स शुन्य दशमलव ५९ अंक र अन्य समूह शुन्य दशमलव ५६ अंकले तल झरे ।

Tata
GBIME