काठमाडौ । वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीले पूर्व स्वीकृती लिंदा सक्कल भिसा र अनुवादको सक्कलै प्रति पेस गर्नुपर्ने प्रावधान लगाएको छ । केही निवदेनहरुका साथ पेस भएका अरबी भाषाका भिसालाई अनुवाद गराउँदा अनुवाद गरिएका कागजातमा तथ्यहरु फरक परेपछि विभागले सक्कलै पेस गर्नुपर्ने प्रावधान ल्याएको हो ।
धेरै म्यानपावर कम्पनीले सच्याएर पूर्व स्विकृतीमा पेस गदै आएका थिए । यसरी पेस गरिएका कागजातले विदेशमा गएर धेरै नेपालीले दुःख पाउने गरेका छन् । विभागले वैदेशिक रोजगारका मागपत्र ल्याउँदा सोझै रोजगारदाता कम्पनीबाटै ल्याउने व्यवस्थालाई प्रभावकारी बनाउने जनाएको छ । अहिले ९० प्रतिशत कम्पनीले विदेशमा रहेका एजेन्टबाट मागपत्र ल्याउने गरेका छन् । एजेन्टबाट कामदारको माग ल्याउँदा नेपाली कामदारले बढी रकम तिर्नुपरेको छ भने म्यानपावरवीच अस्वस्थ प्रतिस्पर्धा छ । म्यानपावर एजेन्सीले रोजगारदाताबाट सिधै कामदारको माग ल्याउन भने कठिन रहेको एक व्यवसायीले बताए ।
नेपालमा रहेका अधिकांश म्यानपावर कम्पनीले विदेशमा रहेका रोजगारदातासँग प्रत्यक्ष सम्वन्ध राख्न कठिन हुन्छ, ती व्यवसायीले भने । म्यानपावर व्यवसायीले रोजगारदातासँग प्रत्यक्ष सम्पर्क कायम गर्न सक्दैनन् र विदेशका एजेन्टले राख्न पनि दिँदैनन्, ती अधिकारीले भने, सोझै माग ल्याउन कोरियाको जस्तो सम्झौता गर्नुपर्छ र रोजगार अनुमति प्रणाली अनुसार कामदार लैजानुपर्छ । नेपाल सरकार र विदेशमा रहेको सरकारवीच सम्झौता गरे मात्रै रोजगारदाताबाट माग ल्याउनसक्ने उनको भनाई छ ।