
काठमाडौं । आखिर मोवाइल सेट उत्पादन गर्ने दुई ठूला कम्पनी आमनेसामने भएका छन् । विश्वको सबैभन्दा धेरै मोवाइल सेट उत्पादन गर्ने सामसङ र दोस्रो कम्पनी एप्पल कानूनी लडाइका लागि युद्ध मैदानमा आएका हुन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा यी दुई कम्पनीले प्रतिष्ठाका लागि कानूनी लडाई लडिरहेका छन् । एप्पलले आइफोन र आइप्याडको नक्कल गरेको भन्दै सामसङमाथि मुद्धा चलाइरहेको छ भने सामसङले एप्पलको आरोपलाई खारेज गर्दै उल्टो एप्पलले आफ्नो डिजाइनको चोरी गरेको आरोप लगाउँछ ।
सामसङ र एप्पलवीच क्यालिफोर्निया अदालतमा चलिरहेको यो मुद्धा नौलो भने होइन, यस अघि नै यी दुइ कम्पनी पटक पटक कानूनी युद्ध लडिसकेका छन् । क्यालिफोर्निया अदालतमा एप्पलका वकिलले सामसङको सन् २००६ र २०१० मा बनेका फोनका तुलना गरे, उनले भने सन् २००६ मा सामसङका फोन कस्ता थिए, २०१० मा एप्पलको फोन बजारमा आएपछि कस्ता बने ? उनले भने, नयाँ बनाउनु नक्कल गर्नुभन्दा कयौं कठिन काम हो । सामसङलाई कठिन काममा कुनै रुची छैन ।
एप्पलका वकिलले सामसङ कम्पनीको भित्री कुरा समेत बताएर सबैलाई हैरानीमा पारे, उनले भने दक्षिण कोरियाली कम्पनीले आइफोनको नक्कल गर्ने निर्णय गरेको थियो । एप्पलले सामसङसँग साढे दुई अर्ब डलर दुई खर्ब ३० अब नेपाली रुपैयाँको क्षतीपूर्ती पनि मागे ।
उता एप्पलले लगाएको सबै आरोपको सामसङले खारेज ग¥यो । क्यालिफोर्नियाको सैनजोस संघीय अदालतमा यी दुई कम्पनीवीच मुद्धा चलिरहेको छ । यो मुद्धाको सात जना पुरुष र दुई जना महिला भएको न्यायाधीशको एउटा प्यानलले हेरिरहेको छ । यो मुद्धाको छिनाफानो गर्न कम्तिमा चार हप्ता लाग्ने बताइएको छ ।
तिव्र रुपमा बढ्दै गएको मोवाइल बजार माथि पकड जमाउन यी दुई कम्पनीवीच अनेक दाउपेच चलिरहेको छ । यो मुद्धा सामसङको विपक्षमा आए अमेरिकामा कम्पनीको कारोवारमा ठूलो असर पर्ने छ भने एप्पलको विरुद्धमा आए स्मार्टफोनको मूल्य अझ घट्ने सम्भावना छ ।