जलविद्युत विकास कम्पनीको सेवा सुरु, जलविद्युत आयोजनालाई ऋण लगानी गर्ने

बिजमाण्डू
२०६९ साउन १५ गते ००:०० | Jul 30, 2012

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आज (सोमबार) बाट व्यवसायिक कारोबार सुरु गरेको छ । राजधानीको ववरमहलमा कार्यालय रहेको कम्पनीका अध्यक्ष ऊर्जा सचिव हरिराम कोइरालाले कम्पनीले सेवा सुरु गरेको जानकारी दिएका हुन् ।
ठूला तथा मझौला जलविद्युत आयोजनाका लागि आन्तरिक तथा वह्यि क्षेत्रबाट पुँजी संकलन गरी आयोजना निर्माण गर्न कम्पनी स्थापना गरिएको हो । कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ छ । अधिकृत पुँजी भने ५० अर्ब रुपैयाँ राखिएको छ , कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकबाट लगानी नीति अनुमोदन हुनुका साथै आन्तरिक तयारी पनि पुरा भएपछि कम्पनीले सोमबारबाट कारोबार थालेको हो । कम्पनीलाई राष्ट्र बैंकले नियमन गर्ने छ । कम्पनीले अहिलेलाई विद्युत आयोजानमा मात्र लगानी गर्ने छ ।
लगानी नीति अनुसार विद्युत आयोजनाहरुमा कम्पनी एक्लैले लगानी गर्न पाउँदैन । आर्थिक तथा प्राविधिक रुपमा संभाव्य जलविद्युत् उत्पादन, प्रसारण र वितरणका लागि आएको प्रस्तावको विश्लेषणपछि मात्र कम्पनीले लगानी गर्न पाउँछ । जलविद्युतमा लगानीको समस्या आएपछि सरकारले कम्पनी स्थापना गरेको हो । स्थापनाको एक वर्षपछि कम्पनीले लगानीको काम सुरु गर्न लागेको हो । देशलाई लोडसेडिङ मुक्त गर्ने जिम्मा कम्पनीलाई छ । कम्पनीले एउटा आयोजनालाई कम्तिमा २५ करोड रुपैयाँ लगानी गर्ने छ ।
कम्पनीमा एस्सेल क्लिन सोलु हाइड्रोपावरले ८० मेगावाटको तल्लोसोलु, आँखुखोला जलविद्युत कम्पनीले ४२ मेगावाटको आँखु र कावेली इनर्जीले ३७ मेगावाटको कावेलीलाई ऋण उपलब्ध गराउन कम्पनीमा प्रस्ताव गरिसकेका छन् । कम्पनीमा लगानी नीति नहुँदा आयोजनामा लगानी गर्न सकेको थिएन । कम्पनीमा सरकारले पाँच अर्ब, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र कर्मचारी सञ्चय कोषको एक÷एक अर्ब रुपैयाँ गरी आठ अर्ब रुपैयाँ चुक्ता पुँजीका रुपमा लगानी गरेका छन् ।

Tata
GBIME
Nepal Life