काठमाडौं । दुई वर्षपछि आज भएको नेपाल –बंगलादेश वार्तामा बंगलादेश नेपाली कृषी उपजलाइ शुन्य भन्सार दरको सुविधा दिन तयार भएको छ । नेपाल र बंगलादेशवीच भएको द्धिपक्षीय वाणिज्य वार्तामा यस्तो सहमति बनेको हो । वाणिज्य सचिवस्तरीय वार्तामा नेपाली वस्तुको भन्सार छुट र व्यापार विस्तारमा देखिएका कठिनाई बारे छलफल भएको थियो ।
वाणिज्य वार्तामा भाग लिन बंगलादेशका वाणिज्य सचिव मोहम्मद गुलाम हुसेनको नेतृत्वमा सात सदस्यीय टोली शनिबार नै काठमाडौ आएको छ । नेपालको तर्फबाट वाणिज्य सचिव लालमणी जोशीले नेतृत्व गरेका थिए । नेपालले बंगलादेशसँग नेपाली कृषि वस्तु अन्तर्गत मुसुरोको दाल र गोलभेंडालाइ शुन्य भन्सार दरमा प्रवेश दिन प्रस्ताव गरेको थियो । नेपालले कृषिवस्तुलाई विशेष सुविधा दिन बंगलादेशलाई आग्रह गरेको एक दशक भैसकेको थियो । तर बंगलादेशले पनि यस्तै विशेष सुविधा मागेपछि यो मुद्धा थाँती थियो ।
नेपाल – भारतबीचको वाणिज्य सम्झौताका कारणले नेपालले बंगलादेशलाई भारतको जस्तै सुविधा दिन सक्दैन । स्रोतका अनुसार नेपाल – भारतवीचको वाणिज्य सन्धीका कारण नेपालले विशेष सुविधा दिन नसक्ने बुझेका कारण बंगलादेशले एकतर्फी रुपमा नेपाली वस्तुलाई भन्साररहित सुविधा दिन सकारात्मक भएको हो ।
बंगलादेशमा मुसुरोको दाल र गोलभेंडाको माग उच्च छ । यो वाहेक दुई देशवीच व्यापार विस्तारमा देखिएका समस्या समाधानका बारेमा पनि बार्तामा छलफल भएको थियो । दुई देशको व्यापार विस्तारको लागि पूर्वाधार अभावले पनि समस्या पारेको छ । बैठकमा सन् २०१०को ढाकामा भएको वाणिज्य सचिवस्तरीय बैठकबाट अन्तर्राष्ट्रिय व्यापारका लागि नेपालले मोग्ला र चिटगाँउलाई ट्रान्जिट रुटका रूपमा प्रयोग गर्न पाउने व्यवस्था अझै कार्यान्वयनमा आउन नसकेको विषयलाइ पनि बैठकमा उठाएको थियो । यस्तै काँकडभिट्टा –फुलबारी – बंगलाबन्द मार्गमा देखिएका कठिनाई हटाउने बारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । नेपाल–बंगलादेशबीचको व्यापारमा नेपाल व्यापार नाफामा छ । नेपालबाट ३ अर्ब भन्दा बढी सामान बंगलादेश निकासी भएको छ भने बंगलादेशबाट एक अर्ब बराबरको सामान नेपाल आयात भएको छ ।
