काठमाडौं । साना किसान विकास बैंक लिमिटेडले नेपाल धितोपत्र वोर्डबाट साधारण सेयर निस्कासन गर्ने अनुमति पाएको छ । क्रेडिट रेटिङ गरेर सेयर निस्कासन स्वीकृति पाउने साना किसान पहिलो बैंक हो ।
साना किसान विकास बैंकले ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । बैंकले दुई साताभित्र सेयर निस्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासनको लागि बैंकले बिक्री प्रवन्धक एलिट क्यापिटल नियुक्त गरेको छ ।
हाम्रो विकास बैंकले पनि सेयर निस्कासन अनुमति पाएको छ । बैंकले १ लाख ८० हजार तीन सय कित्ता सेयर निस्कासन गर्ने अनुमति पाएको हो । तीन करोडभन्दा कमको सेयर निकाल्नेले रेटिङ गराउनु पर्दैन ।
वोर्डले चालु आर्थिक वर्षको अन्तिम स्वीकृति रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) लाई दिँदै छ । आवेदन दिनेहरुमध्ये वाँकीले अर्को आर्थिक वर्षमा मात्र निस्कासन स्वीकृति पाउने छन् ।
आरएमडिसीले प्रिमियममा सेयर निस्कासन गर्ने अनुमति माग गरेको छ । एक सय रुपैयाँ अंकित दरका सेयरमा आरएमडिसीले ८० रुपैयाँ प्रिमियम माग गरेको छ । सर्वसाधारणले आरएमडिसीको सेयर १८० रुपैयाँ प्रति कित्ताका दरले किन्नु पर्ने हुन्छ । आरएमडिसीले २८ करोड ८ लाख रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने छ ।
साना किसानको प्रवद्र्धकहरु कृषि विकास बैंकले ४ करोड ४१ लाख, नेपाल बैंकले १ करोड २१ लाख, नविल बैंकले ६१ लाख र २ सय ३१ साना किसान सहकारी संस्थाले ७ करोड ७७ लाख गरी जम्मा १४ करोड बराबरको १४ लाख कित्ता सेयर खरिद गरिसकेका छन् । साधारण सेयर निष्कासनपछि बैंकको चुक्ता पुँजी २० करोड पुग्नेछ । बैंकले गत वर्ष ६ करोड ३४ लाख खुद नाफा गरेको थियो । बैंकले हिमालीमा ३, पहाडीमा २३ र तराईका २० गरी ४६ जिल्लाका ५ सय ५४ गाविसमा रहेका ३ सय १८ संस्थामार्फत २ लाख ५५ हजार घरपरिवार लाभान्वित भएका छन् ।
