काठमाडौं । वाणिज्य सचिवको सरुवाका कारण सुनचाँदी व्यवसायीसँगको वार्ता हुन सकेको छैन । वाणिज्य सचिव लालमणी जोशीको सरुवापछि नयाँ वाणिज्य सचिवले जिम्मेवारी नलिएकोले वार्ता हुन नसकेको हो । पूर्वाञ्चल क्षेत्रिय प्रशासक जनार्दन नेपाललाई वाणिज्य सचिवमा सरुवा गरिएको छ ।
‘हामीसँग शुक्रवार वार्ता हुने भनिएको थियो । तर वाणिज्य सचिवकै सरुवा भएकोले वार्ता हुन सकेन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बिजमान्डूसँग भने, ‘नयाँ सचिव आएपछि वार्ता होला ।’ महासंघ र नेपाल हिरा जवाहरत आभूषण महासंघले निर्देशिका नबनाई अनुगमनको नाममा व्यवसायीलाई कारवाही गर्न नमिल्ने दावी गर्दै पाँच दिनदेखि लगातार देशभरका पसल बन्द गरेर हड्तालमा उत्रिएका छन् । शाक्यले सरकारले माग संबोधन नगरेसम्म हड्तालका कार्यक्रम निरन्तरता दिने जानकारी दिए ।
‘हामी माग संबोधन नभएसम्म आन्दोलन जारी रहनेछ,’ उनले भने, ‘हाम्रो चुल्हो बल्न छोडिसकेको छ । तर आन्दोलन रोकिने अवस्था छैन ।’ शाक्यले सुन व्यवसायीलाई ठूलो व्यापार गरेर मुनाफा कमाउने भन्नु गलत भएको बताउँदै केही व्यापारीलाई देखेर एउटै टोकरीमा हाल्न नमिल्ने दावी गरे ।
‘घरमा घन राखेर व्यवसाय गर्ने समूह धेरै छन् । उनीहरु यहीको कमाईबाट रोजीरोटी कमाएका छन्,’ उनले भने, ‘तर यहाँ भने बदनाम गर्ने काम गरिएको छ ।’ शाक्यले आफ्नो मागप्रति सरकारले वेवास्ता गरेको बताउँदै वाणिज्यमन्त्रीले समेत कुनै सुनुवाई नगरेको आरोप लगाए । महासंघले हड्ताल गर्नुअघि वाणिज्यमन्त्री शंकरप्रसाद कोइरालालाई भेटी सुन सम्वन्धी निर्देशिका नबनी अनुगमन गरेर दोषी देखिएका व्यवसायीलाई कारवाही नगर्न आग्रह गरेका थिए । देशभर १५ हजार सुन व्यवसायी छन् भने ५५ हजार कालिगढ काम गर्छन् ।
