एप्पलको मुनाफा आठ अर्ब ८० करोड, लगानीकर्ता अझै पनि निरास

बिजमाण्डू
२०६९ साउन १० गते ००:०० | Jul 25, 2012
एप्पलको मुनाफा आठ अर्ब ८० करोड, लगानीकर्ता अझै पनि निरास

सान फ्रान्सिस्को । एप्पलले २०१२ को दोस्रो त्रैमासिक अवधिमा आठ अर्ब ८० करोड डलर खुद नाफा गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलना २१ प्रतिशतले बढको भए पनि यो नाफा बजारको अपेक्षा भन्दा न्यून हो ।
कम्पनीका अनुसार तीन महिनाको अवधिमा ३५ अर्ब डलर बराबरको वस्तु तथा सेवा विक्री भएको छ । एप्पलले पहिलो त्रैमासमा ३७ अर्ब ३० करोड डलरको वस्तु तथा सेवा बिक्रि गर्ने अनुमान गरेका थिए । २०११ को यही अवधिमा एप्पलले २८ अर्ब ६० करोड डलर बराबर बिक्री गरेको थियो ।
खुद बिक्री बढे पनि आइपडको बिक्री १० प्रतिसतले घटेको र म्याक कम्प्युटरको बिक्रि जम्मा दुई प्रतिसतले बढेको कम्पनीले जनाएको छ । विश्वको सबैभन्दा मूल्यबान प्रविधी कम्पनीले तीन महिनाको अवधिमा दुई करोड ६० लाख आईफोन बिक्री गरेको थियो ।
यो बिक्री गत वर्षको सोहि अवधिको तुलनामा २८ प्रतिशतले बढी भए पनि अपेक्षाकृत कमि हो । आईप्याडको बिक्रीमा भने उत्साहजनक बृद्धि भएको छ । तीन महिनामा एप्पलले एक करोड ७० लाख आईप्याड बिक्री गरेको छ । यो बिक्री अघिल्लो बर्षको तुलनामा ८४ प्रतिशतले बढी हो । आईप्याडको बिक्रीबाट आफुहरु चकित भएको प्रमुख कार्यकारी टिम कुकको भनाई छ ।
कम्पनीले सेयर धनीलाई प्रति सेयर २ डलर ६५ सेण्ट लाभांस दिने घोषणा गरिसकेको छ । लाभांशका बावजुद सेप्टेम्बरमा समाप्त हुने त्रैमासिकमा पनि अपेक्षाभन्दा कम मुनाफा हुने कम्पनीको प्रक्षेपणले लगानीकर्ता निराश बनेका छन् । कम्पनीले सो अवधिकमा ३४ अर्ब डलर बराबर बिक्री हुने प्रक्षेपण गरेको छ । वित्त विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयर मूल्य पाँच प्रतिसतले घटेको छ ।
आम्दानी र नाफा दुबैमा बृद्धि हासिल गर्न सफल भए पनि कम्पनीका लागि आगामी त्रैमास चुनौतीपूर्ण हुनेछ । अमेरिकी डलरको मजबुतीका कारण एप्पलका उत्पादनहरु महँगा हुँदै गएका छन भने अमेरिकी तथा युरोपेली अर्थतन्त्रमा देखिएको सुस्तता कम्पनीलाई लाभदायक होइन ।
यसैगरी स्मार्टफोन बजारमा थपिएको प्रतिस्पर्धासँग भिडनुपर्ने चुनौति त छँदै छ । आईफोन मात्रै लिएर स्मार्टफोन बजारमा भिडिरहेको एप्पललाई सामसङले ग्यालेक्सीका विभिन्न मोडलले आक्रमण गरिरहेको छ ।
यसैगरी एचटीसी, एलजी जस्ता कम्पनीको चुनौती यथावत नै छ । यता ट्यावलेट बजारमा पनि एप्पलको आईप्याडलाई सामसङ कै ग्यालेक्सी ट्याव, गुगलको नेक्सस लगायत अन्य कम्पनीका उत्पादनले पछ्याइरहेका छन् । अझै माइक्रोसफ्टले घोषणा गरेको सर्फेस ट्यावलेटको चुनौति थपिँदैछ ।

Tata
GBIME
Nepal Life