काठमाडौं । लामो समयको अन्तरालपछि नेपाल आयल निगमले पहिलोपटक नाफा कमाउन थालेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ सस्तो भएपछि अहिले निगमलाई खाना पकाउने एलपिजी सिलिण्डरबाहेक सबैमा मुनाफा छ ।
मुनाफामा गए पनि पेट्रोलको मूल्य घटाउन पर्न सक्ने दवावका कारण निगमले घाटा भैरहेको वित्तिय विवरण दिएको छ । निगमले पेट्रोलबाट २० करोड १९ लाख मट्टितेलमा पाँच करोड ७ लाख हवाई इन्धन आन्तरिकमा ४ करोड ७५ लाख र अवाई इन्धन अन्तराष्ट्रिय उडानमा १९ करोड ६ लाख रुपैयाँ मुनाफा देखाएको छ ।
निगमले एलपिजी ग्याँसमा प्रतिसिलिण्डर ४५३ रुपैयाँका दरले १२ लाख सिलिण्डरबाट मासिक ५४ करोड ३७ लाख र डिजेलमा प्रतिलिटर १ रुपैयाँ २० पैसाका दरले ६५ हजार किलोलिटरमा ७ करोड ८० लाख रुपैयाँ घाटा हुने देखाएको छ ।
निगमले मासिक १२ लाख एलपिजि सिलिण्डर खपत हुने प्रक्षेपणसहित घाटा ५० करोड नघाए पनि वितेको एक दशकको ग्याँस खपत वृद्धिदरलाई हेर्दा यो वर्ष मासिक १२ लाख सिलिण्डर खपत हुने देिखंदैन । निगमले दिएको तथ्याक अनुसार । आर्थिक वर्ष २०६७/६८ मा ९ लाख ३४ हजार ७७६ सिलिण्डर खपत भएको थियो । त्यस अघि आर्थिक वर्ष २०६६/६७ मा ८ लाख २८ हजार सिलिण्डर र
आर्थिक वर्ष २०६५/६६ मा ६ लाख ७९ हजार ६५३ सिलिण्डर खपत भएको थियो । यही अनुपातमा वृद्धि हुँदा मासिक १० लाख २० हजार सिलिण्डर ग्याँस खपत हुन्छ । यसको अर्थ निगमले अहिले दावी गर्दै आएको ५४ करोड रुपैयाँ घाटा हुँदैन । निगमले दावी गरेभन्दा ८ देखि १० करोड रुपैयाँ घाटा ग्याँसबाट हुन्छ ।
यसबाहेक निगमले घाटा बढी देखाउन आवश्यकता भन्दा बढी प्रशासनिक खर्च देखाएको छ । निगमले मासिक ६ करोड रुपैयाँ प्रशासनिक खर्च देखाए पनि वास्तवमा त्यो एक करोड हाराहारीमा रहन्छ । अर्कोतर्फ निगमले सबै पेट्रोलियम पदार्थ काठमाडौं ढुवानी गरेको आधारमा खर्च देखाएको छ । वैरेनीबाट काठमाडौं पोखरा र धनगढीको ढुवानी बाहेक निगमले प्रतिलिटरमा दुई रुपैयाँ कम खर्च हुन्छ । यसबाट पनि निगमले मासिक पाँचदेखि १० करोड रुपैयाँसम्म बचत गर्न सक्छ ।
