गत आर्थिक वर्षमा दुई खर्ब ४४ अर्ब राजस्व उठ्यो, लक्ष्यभन्दा साढे दुई अर्ब बढी

बिजमाण्डू
२०६९ साउन ९ गते ००:०० | Jul 24, 2012
गत आर्थिक वर्षमा दुई खर्ब ४४ अर्ब राजस्व उठ्यो, लक्ष्यभन्दा साढे दुई अर्ब बढी


काठमाडौं । सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा साढे दुई अर्ब बढी दुई खर्ब ४४ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।  बजेटमा सरकारले दुई खर्ब ४१ अर्ब ७७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएका थियो । यो त्यस अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो ।
सरकारले भ्याटबाट ७१ अर्ब ९७ करोड, आयकरबाट ५२ अर्ब ५५ करोड, भन्सारबाट ४३ अर्ब ४१ करोड, अन्तशुल्कबाट ३० अर्ब ३७ करोड असुली गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर ७२ अर्ब ७४ करोड असुली लक्ष्य राखेकोमा ७१ अर्ब ९७ करोड असुली गरेको छ ।  यो कूल राजस्व असुलीको २९ प्रतिशत हिस्सा हो ।
गत आर्थिक वर्षमा भ्याट असुलीको वृद्धिदर १६.७.% कायम भएको छ । मूल्य अभिवृद्धि कर असुली राम्रो हुनुमा  ५१८ वटा नक्कली कम्पनी विरुद्ध नक्कली भ्याट विलको छानविन गर्नु रहेको अर्थमन्त्रायले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । यसैगरी भ्याट दर्तामा भएको वृद्धि, करदाता सेवा कार्यालयको स्थापना र बक्यौता असुलीमा गरिएको प्रयासले पनि भ्याट असुलीमा प्रगति भएको हो ।
गत आर्थिक वर्षमा ५१ अर्ब ६ करोड आयकर असुली गर्ने लक्ष्य राखिएकोमा ५२ अर्ब ५५ करोड असुली भएको छ । यो कुल राजस्व असुलीको २२.७% हिस्सा हो । गत आर्थिक वर्षमा रु. ४१ अर्ब ५६ करोड भन्सार राजस्व असुली गर्ने लक्ष्य राखिएको ४३ अर्ब ४१ करोड रुपैयाँ असुली भएको छ । यो कुल राजस्व असुलीको १८% हिस्सा भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा ३० अर्ब २५ करोड अन्तःशुल्क असुली गर्ने लक्ष्य राखेकोमा ३० अर्ब ३७ करोड असुली भएको छ । अर्थसचिव कृष्णहरी वास्कोटाका अनुसार अन्तःशुल्कको दायरा विस्तार गरिएको, केही वस्तुमा अन्तःशुल्कको दरलाई परिमार्जन गरिएको, चुहावट नियन्त्रणमा विशेष प्रयास गरिएका कारण अन्तशुल्कमा वृद्धि भएको हो ।
सरकारले रजिष्ट्रेशन दस्तुर र सवारी साधन कर वापत सात अर्ब ९६ करोड रुपैयाँ असुली गरेको छ । घरजग्गाको कारोवारमा केही सुधार भएको तथा सवारी साधन करमा कडाई गरिएका कारण राजस्व असुलीमा सुधार आएको हो । यो वर्ष ३७ अर्ब ८८ करोड रुपैयाँ गैरकर राजस्व असुली भएको छ ।
जनआन्दोलन २ पछि आर्थिक वर्ष २०६७÷६८ मा वाहेक सबै आर्थिक वर्षमा राजस्वको तोकिएको लक्ष्यभन्दा बढी नै असुली भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
अर्थसचिव वास्कोटाले राजस्व असुली रकममा मात्रै वृद्धि नभइ कूल गार्हस्थ्य उत्पादनको अनुदानमा पनि राजस्व वृद्धिदर सन्तोषजनक रहेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जिडिपीको अनुपातमा राजस्व असुली साढे १५ प्रतिशत छ ।

Tata
GBIME
Nepal Life