
काठमाडौं । सहवित्तीयकरणमा लिएको ऋण नतिरेपछि एभरेस्ट फ्लोरिकल्चर लिलाम हुने भएको छ । हिमालयन बैंकको नेतृत्वमा लिएको ऋण नतिरेपछि साउन तेस्रो साता फ्लोरिकल्चर लिलाम हुने भएको हो । फ्लोरिकल्चरले पटक पटक गरेको आग्रह र राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइले केही समय पर्खनका लागि दिएको निर्देशनपछि लिलामी रोकिएको थियो । दिएको समय पुरा भइसकेकाले सम्पति लिलाम हुन लागेको हो । कम्पनीले ९ वर्षअघि दुई चरणमा गरेर ३१ करोड ऋण लिएको थियो । ऋण तिर्न नसकेपछि अहिले वढेर ३८ करोड रुपैयाँ पुगिसकेको छ ।
फूल उत्पादन गरी विदेश निर्यात गर्ने उद्देश्यले २००२ मा कम्पनी स्थापना भएको थियो । उत्पादनका लागि आवश्यक पुर्वाधार निर्माण गरेपछि कम्पनी ६ वर्षअघि सञ्चालनमा आएको थियो । हिमालय बैंकले १५ दिनपछि लिलामी प्रकृया सुरु गर्ने स्रोतले बतायो ।
हिमालयन बैंकले पटक पटक लिलामी टारे पनि अन्य बैंकले लिलामीमा दवाव दिएपछि यसपटक लीलामी पक्का हुने भएको हो । एभरेस्ट फ्लोरिकल्चरलाई ८ बैंकले लगानी गरेका छन् । काठमाडौंको सुन्दरीजलस्थित नयाँ पाटीमा १ सय ४५ रोपनी जग्गामा फ्लोरीकल्चरले गुलाफको फूल उत्पादन सुरु गरेको थियो ।
चालु पुँजी अभावमा व्यवसाय धान्न नसकेपछि कम्पनी बन्द अवस्थामा छ । लिएको ऋण र ब्याज गरेर कम्पनीले बैंकलाई ९ करोड रुपैयाँ वुझाइ सकेको छ । फ्लोरिकल्चरका सञ्चालक पर्यटन व्यवसायी मदुसुदन आचार्य हुन् । उनको कम्पनीमा ३० प्रतिशत इक्विटी छ । कम्पनीमा ६ करोड इजरायली कम्पनीको लगानी छ ।
अहिलेको मूल्य अनुसार फ्लोरिकल्चरले ओगटेको जग्गाको मूल्य ७० करोड रुपैयाँभन्दा माथि पर्छ । बैंकले लिलाम गरेमा सम्पति सजिलै उठ्छ । वार्षिक ६० लाख थुँगा गुलाफ उत्पादन गरी विदेश निर्यात गर्ने महत्वकांक्षी योजना लिएको फ्लोरिकल्चरले एक वर्ष ३० लाख थुँगा विदेशी पठाएको थियो ।
उत्पादनमा लाग्ने विउ विरुवा प्रविधि जनशक्ति सबै विदेशीको निर्भरमा रहेको कम्पनील्े ग्राहकको माग अनुसारको गुणस्तर कायम गर्न सकेन । चार वर्षदेखि सुरु भएको उर्जा संकटको असरले फ्लोरिकल्चरलाई पनि पिरलो पछि कम्पनीले गुणस्तर कायम गर्न सकेन ।
कम्पनीले ३० लाख थुँगा युरोप र जापानमा निर्यात गरेको थियो । यसबाट कम्पनीले ३ करोड ९० लाख जापानी येन र ३० हजार युरो आम्दानी गरेको थियो । फ्लोरिकल्चरले वार्षिक एक लाख डलर खर्च गरेर ३० लाख डलर आम्दानी भित्रिन्थियो ।