सुन तोलामा तीन हजार घट्यो, मूल्य ४९ हजार पाँच सय, चाँदी नौ सय तल

बिजमाण्डू
२०७० बैशाख ३ गते ००:०० | Apr 16, 2013

काठमाडौं । सोमवार ३३ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलवार पनि तीन हजार रूपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलवारका लागि छापावाल सुन प्रतितोला ४९ हजार पाँच सय रूपैयाँ तोकेको छ । सोमवार ३३ सय घटेपछि महासंङले ५२ हजार पाँच सय रूपैयाँ मूल्य तोकेको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि डिलरहरुले सुन विक्री गरिरहेका छन्, यसले मूल्य थप घटाउन चाप परिरहेको छ ।  मंगलवार तोकिएको मूल्य १९ महिना यताकै न्युन हो, यसअघि २०६८ साउन अन्तिममा ४९ हजारको स्तरमा थियो । त्यसयता बढ्न थालेको सुन त्यसको एक वर्षपछि ६२ हजारको स्तरमा पुगेको थियो । 
सोमवार नेपाली बजारमा तोलाको ३३ सयले सुनको मूल्य घट्दा भारतको सुन बजारमा प्रतिदश ग्रामको साढे सात सय भारुले सुनको मूल्य घटेको थियो ।
मंगलवार चाँदीमा पनि ठूलो गिरावट आएको छ, प्रतितोला चाँदीमा ३७ रूपैयाँ गिरावट आएपछि मूल्य तोलामा नौ सय रूपैयाँ तल ८९८ मा झरेको छ ।
भारतमा सोमवार साढे सात सय रुपैयाँले सुनको मूल्य घट्दा प्रति दशग्राम २७ हजार छ सय भारुको स्तरमा आएको थियो । यो पछिल्लो १५ महिनाको सबैभन्दा न्युनस्तर भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा शनिवार प्रति दश ग्राम सुनमा साढे १२ सय रुपैयाँले कमि आइ कारोवार भएको थियो ।
सुन मात्र होइन सोमवार चाँदीको पनि चमक उड्यो । चाँदी प्रतिकिलोमा २१ सय रुपैयाँ कम ४८ हजारमा कारोवार बन्द भयो । शनिवार चाँदी किलोको २५ सय रुपैयाँले कम भएको थियो । साइप्रसपछि अन्य केही देशका केन्द्रीय बैंकले आफ्नो स्टकमा भएको सुन विक्री गर्ने भएपछि पहँलो धातूको मूल्य अन्तराष्ट्रिय बजारमा पनि घट्यो । लण्डनमा सुन प्रति औंस ९०.७० डलरको गिरावटसहित १३८६.३० डलरमा ओर्लियो । सिंगापुरमा भने १४२७ को स्टरसम्म झरेर बजार बन्द हुँदा १४४१ डलर प्रति औंसमा बजार बन्द भयो ।
सुनको अस्थिर मूल्यले बजारमा खरिददार र विक्रेता दुवै गायव भएका छन्, नेपालमा सुन विक्रीका लागि अधिकार प्राप्त वाणिज्य बैंकहरुले सोमवार महँगोमा खरिद गरेको सुन विक्री गरेनन्, उता अधिकांश व्यवसायीहरुले पनि सोमवार बजार खुला राखेनन् । उपभोक्ता पनि सुन अझै घट्ने आशमा खरिद गर्न बजार गएका छैनन् ।
यस्तै अवस्था भारतमा पनि छ, विश्वमा सबैभन्दा धेरै सुन खपत गर्ने भारतको माग अहिले ज्यादै न्युन छ । भारतमा केही महिनादेखि माग घटेको थियो तर केहि दिनयता कारोवार ठप्प प्राय छ । भारतमा जनवरीदेखि मार्चको तीन महिनामा सुनको आयात २४ प्रतिशतले घटेको छ । भारत सरकारले सुनको आयात क मगर्न जनवरीमा आयात शुल्क ५० प्रतिशतले बढाएको थियो । यो वर्ष जनवरी मार्चमा भारतमा दुई सय टन मात्रै सुन आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४ प्रतितले बढि भएको बम्बै बुलियन एशोसिएशनका अध्यक्ष मोहित कम्बोजले बताए । गतवर्ष अप्रिल महिनामा भारतमा ७१ टन सुन आयात भएको थियो । मूल्यको उतार चढाव देख्दा यो महिना आधाभन्दा कम मात्रै सुन आयात हुने उनले अनुमान लगाए ।

Tata
GBIME